मूल खबर

‘बा’लाई ‘बाउ’ भन्दै प्रमले भन्नुभयो- बाउलाई पनि ‘तपाईं’ भन्दैनन् पत्रकार

यदुप्रसाद भट्ट, काठमाडौं।पत्रकारहरूमा शिष्टता नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको छ।मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा आफ्नो मन्तव्यका क्रममा उहाँले पत्रकारहरूप्रति सो असन्तुष्टि पोख्नुभएको हो। उहाँले आफ्नो भाषा र संस्कृतिलाई जोगाउन अरूको नक्कल नगर्न पनि आग्रह गर्नुभएको छ।

उहाँले अङ्ग्रेजी भाषाको ‘यु’ले तँ, तिमी, तपाईं सबै अर्थ लगाउने भएकाले अन्य भाषाको अनुकरण गरी पत्रकारहरूले ‘तिमी’ भनेको बताउनुभयो। अङ्ग्रेजीको ‘यु’ लोभ लागेर बालाई तपाईं भन्ने हराउँदै गएको उहाँको तर्क थियो।

‘अरूको नक्कल गर्ने बानीकै कारण पत्रकारले बाउलाई पनि तिमी भन्न थाले’, केही सञ्चारमाध्यमप्रति संकेत गर्दै प्रमले भन्नुभयो– ‘बाउलाई तपाईं भन्न पनि हिचकिचाउँछन्।’ ‘सानालाई ‘तिमी’ र ठूलालाई ‘तपाईं’ भन्ने हाम्रो संस्कार हो। तर यहाँत पत्रकारले सबैलाई तिमी भन्न थाले।’ –प्रमले थप्नुभयो।

अन्य देश र भाषाको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएकाले नयाँपुस्ताले भाषा र संस्कृति भुल्दै गएकोमा उहाँले गुनासो गर्नुभयो।हाम्रोजस्तो देशमा थिति नबस्दाको धङधङी अझै रहेकोमा उहाँको आक्रोश थियो। हामी आफैले आफ्ना गौरवपूर्ण कुराहरू बिर्सियौं भने अरूलाई के सिकाउँछौं भन्दै प्रम ओलीले नेपाली भाषामा रहेका नराम्रा पक्ष तथा कुरालाई छोडेर राम्रा कुरातिर लाग्नुपर्नेमा जोड दिनुभयो।

वेद, पुराण, एसियाली सभ्यता आदिको शुरुआतकर्ता पनि हामी आफै भएकोमा गौरव गर्नुपर्ने उहाँको भनाइ थियो। वेदहरूमा आकाश, पानी आदिको शान्तिको कामना गरिएकोलाई उहाँले व्यंग्यात्मकरूपमा आकाशमा गड्याङगुडुङ नहोस्, हावाहुरीले विपत्ति नल्याओस् भन्ने थियो भन्नुभयो।नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button