काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आज भारत प्रस्थान गरेका छन् । कतार विश्वकप अन्तरगत दुई अवे खेलपछि नेपाली टोलीसँगै बिहीबार स्वदेश फर्किएको किरण आज त्यसतर्फ प्रस्थान गरेको हो ।
किरण यसै सिजन गत साउनमा भारतीय आइ लिग क्लब मिर्नेभा पन्जावमा आबद्ध भएका थिए । किरणको टोलीले प्रि–सिजन टुरमा आज एफसी हैदरावादसँग खेल्दैछ । ‘क्लबले खेल्नुपर्ने भन्दैछ । रिजर्भ टिम चन्डिगढमा रहेको छ । होममा शनिबार पन्जावसँगको खेलका लागि दोस्रो रोजाईको खेलाडी राखेका छन् । हैदरावादमा पहिलो रोजाईको टोली रहेको छ ।’ किरणले भने, ‘धेरै लामो यात्रा र थकानका कारण खेल्न नसक्ने बताएपनि क्लबले कुनै विकल्प नरहेको र खेल्नै पर्ने बताएको छ । आजै खेल्ने नखेल्ने त्यही गएर थाहा हुने छ।’
आइ लिगको नयाँ सिजन शुरु नभएपनि टोली विगत एक महिनादेखि प्रि–सिजन इन्डियन टुर गरिहेको छ । प्रि सिजनकै लागि किरण अष्ट्रेलिया र जोर्डनको भ्रमण गर्नुअघि पनि भारत पुगेका थिए । किरणको टोलीले बैग्लुरु र एफसी गोवासँग खेलिसकेको छ ।
नेपाली टोलीका अर्काे सदस्य रोहित चन्द भने जोर्डनबाटै इन्डोनेसिया प्रस्थान गरेको छ । रोहित पछिल्लो तीन वर्षयता इन्डोनेसियन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।अष्ट्रेलिया र जोर्डनविरुद्धको खेलमा कप्तान किरणले उच्च प्रदर्शन गरेका थिए ।
(हाम्रो खेलकुद)



