‘समाचार र विचारको
साझा चौतारी’






राज्यका चरित्र र नागरिकका अपेक्षा


दामोदर पौडेल

हरेक नागरिकलाई आफू सुखी र खुशीसाथ बाँच्न पाऊँ भन्ने हुन्छ। खुशी मानिस नै सुखी हो भन्न सकिन्छ। तर सुखको लागि भौतिक आधार चाहिने हुन्छ भन्ने पनि भुल्न हुँदैन। यद्यपि गरिबहरू पनि सुखी छन् र धनीहरू पनि खुसी छैनन्। सुख र खुशी मनको सोच पनि हो। तैपनि सुखका केही प्रमुख आधार छन्। समानता विकास र शान्ति सुखका प्रमुख आधार हुन्।

स्वाधीनता, विकास, रोजगारीसमेतको चाहना जनतामा हुन्छ। तर राज्यको शक्ति बढाउने र जनतालाई गरिब नै बनाएर बाँच्नको लागि समेत राज्यले दुःख नदिए ठूलै उपलब्धि भएको सम्झने अवस्थामा पुर्याइएका जनताको आशा भनेको उल्टो दिशामा गएको छ। विवाह गरेर रानीजस्तो पालेर राख्छु भनी वेश्यालयमा बेचिन पुगेकी अबोध नारीको भन्दा फरक देखिँदैन यतिखेर नेपालका जनताको अवस्था।

तपाईं सबैको समान हैसियतमा हुँदा अरूले जस्तै आफूले उपचार पाउनुभएन भने त्यति दुःखी हुनुहुन्न। जबकि समान हैसियतको अर्को मानिसले कुनै कारण वा निगाहले सुलभ उपचार पायो तर तपाईंले सामान्य उपचार पनि पाउनुभएन भने दुःखी हुनुहुन्छ। सुख र दुःखको अनुभव पनि समानता र तुलनामा आधारित हुन्छ।

सुखमा खान, बस्न, लगाउन, पढ्न, उपचार गर्न पाउनुजस्ता कुरा पर्दछन्। ती सबै कुरा भएर पनि कतिपय विषय भावनासँग सम्बन्धित हुन्छन्। जस्तै– मेरो छोराले मलाई बेवास्ता गर्दछ र मलाई पीडा हुन्छ। कहिले मेरो छोराले मलाई बेवास्ता गर्दछ त मेरा बाबु म सानै हुँदा नै मरेकाले उनलाई मैले वास्ता गर्न पाइन, मेरो छोराले मलाई बेवास्ता गरेकोमा के चित्त दुखाउनु ?

मैले पनि त मेरा बाबुलाई सबै कुरा पुर्याउन सकेको थिइनँ, मेरो छोराले पनि पुर्याएन भनेर चित्त बुझाइन्छ। एकै प्रकारको व्यवहारको पनि परिणाम मानसिक कारणले फरक भएको पाइन्छ। यसरी कतिपय सुख र दुःख मनले सुख मान्यो सुख, दुःख माने दुःख हुन्छन्। मनले मलाई चित्त बुझाउन सक्नु र खुसी राख्न सक्नु आध्यात्मिकता हो। तैपनि आधारभूत भौतिक दुःखलाई आधार मान्नुपर्दछ र मानसिक दुःख अर्को पाटो हो।

राज्यले नागरिकका स्वाभाविक आवश्यकतामा ध्यान दिनुपर्दछ। नागरिकको लागि सुख र सुरक्षा पहिलो चासो हो। अहिले दुःखको वा डरको कारण आतंकवाद पनि भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कि जसलाई अमेरिका मन पर्दैन र अमेरिकासँग डर लाग्छ, उनीहरू यहाँबाट गए हुन्छ। उनीहरू खुशीले आउन सक्छन् र नभए नआउन सक्छन्।

उनको भनाइमा अमेरिकीहरूको सुरक्षाको सवाल देखिन्छ। डर लागे नबस्न भने पनि उनले अमेरिकामा असुरक्षाको भावना फैलाउनेहरूले यो देश छोडे हुन्छ भनेका हुन्। उनले परम्परागत अमेरिकीहरूको डर र सुरक्षालाई सम्बोधन गर्न सकेका छन्। अर्थात् जो अमेरिकाका पुराना बासिन्दा हुन् उनीहरूले अरू नयाँ आउनेहरूसँग डराएर बस्नुपर्ने अवस्था आउनुहुँदैन भन्ने नै हो।

साथै अमेरिकामा जानेहरूले अमेरिकीहरूको भावना र परम्परा बुझ्नुपर्दछ भन्ने पनि हो। यस्तो हामी पनि सोच्छौं र अमेरिकीहरूले त्यही सोच राख्न हुने कि नहुने ? भन्ने सवाल मात्र हो।
कुनै पनि हालतमा सुरक्षित अमेरिका वा आफ्नो देश चाहिन्छ भन्ने भावना राम्रो हो। तर अमरिकाले विश्वमा भने जहिले पनि असुरक्षा फैलाएको जस्तो दखिन्छ।

अमेरिकी विदेश नीति लोकतन्त्रको पक्षमा छ तर स्थानीय लोकतन्त्रको मर्मलाई समाउन सकेको छैन। जहाँ अमेरिका अरू देशका जनता र लोकतन्त्रको नाममा सैनिक कार्वाही गर्दछ त्यहाँका जनता अमेरिकाका विरोधी भएका छन्। यो अमेरिकाको कूटनीतिक र राजनीतिक असफलता नै हो। यदि अमेरिका विश्वमा सबै किसिमले शक्तिशाली नै रहने हो भने यसलाई अमेरिकाले सच्याउनुपर्दछ।

तुल्सी गवार्ड अमेरिकी सेनामा काम गरेकी र अमेरिकी कांग्रेसकी सदस्य रहेकी डेमोक्रेटिक पार्टीकी नेता पनि हुन्। स्मरणीय छ कि उनी यस्ती अमेरिकी मूलकी हिन्दु नेता हुन् जसले पहिलोपटक गीता छोएर शपथ लिएकी थिइन्। उनी बाल्यकालमा नै आमा हिन्दु भएकोले हिन्दु बनेकी थिइन्। उनले बारम्बार आसय राखेकी छन् कि इराकका सद्दाम हुसेन, लिबियाका कर्णेल गद्दाफी, सिरियाका असद आदि राम्रा मानिस होइनन्।

उनीहरूकै कारणले ती देशमा लोकतन्त्रको लागि युद्ध भयो। त्यसमा अमेरिकाको साथ रह्यो। ती देशमा लोकतन्त्र त स्थापित हुन सकेन नै, जनताले नराम्रोसँग दुःख पाए। अर्थात् तानाशाहहरूको पालामा भन्दा पनि धेरै बढी। यद्यपि सिरियामा अहिले पनि असद नै राज्य प्रमुख छन्।

अमेरिकाले जनताको लागि काम गर्यो तर जनताले पहिलाभन्दा पनि दुःख पाए र लोकतन्त्र पनि आएजस्तो भएन। बरु त्यहाँका जनता पहिलाभन्दा अमेरिकाका विरोधी भने धेरै भए। त्यसैले कुनै पनि नाराम्रो कामको विरुद्धको कार्यको परिणाम राम्रो हुनुपर्दछ। नराम्रोलाई हटाएर त्यसको विकल्प अझै नराम्रो हुनुहुँदैन।

अमेरिकाले कुनै पनि व्यवस्थाविरुद्धमा बनाएका हिरोहरूलाई सुरक्षित अवतरणको लागि पनि तयार गर्न सक्दैन र उनीहरूको पतन दुःखद हुने गर्छ। चिलीका पिनोसे, इरानका साह रेजा पहल्वी, पेरुको साइनिग पाथलाई हराउने अल्बर्टा फुजिमोरो त्यसका ज्वलन्त उदाहरण हुन्।

विचरा शाहले त मर्ने बेलामा राम्रोसँग शरणको बन्दोबस्त पनि गर्न सकेनन्। पेरुका अल्बर्टो फुजिमोरो करिब ९० प्रतिशत भूभाग कब्जा गरेको साइनिग पाथलाई परास्त गर्न सफल भए तर पनि उनी विवादित बने र अमेरिकाले सुरक्षित अवतरण दिन सकेन। अमरिका कसैको लागि पनि भरोसामन्द मित्र बन्न सकेन। यो अमेरिकाको कमजोर पक्ष रहेको छ।

त्यसको विकल्पमा रुसलाई लिन सकिन्छ। रुसले भारतलाई साम्यवादी विचार बोकेदेखि नै साथ दियो र अहिले पनि साथमा छ। सिरियामा पनि रुस अर्सद बाबु छोराहरूको सत्ताको अविचलित मित्र रहेको छ। हो, बरु जापानलाई हिरोसिमा र नागासाकीमा अणुबम हानेर तहसनहस पारे पनि जापान अमेरिकाको साथमा लामो समयबाट छ।

जापानले चीनलाई खाँदै थियो। अमेरिकाको जापानमाथिको आक्रमणले गर्दा चीनलाई मुक्ति पाउन सजिलो भए पनि चीनले अमेरिकालाई त्यसको श्रेय कहिल्यै दिएन। इन्डोनेसियाको सुहार्तो र फिलिपिन्सका मार्कोसको पक्षमा अमेरिका थियो तर समयमा नै सुरक्षित अवतरणको लागि प्रयास भएन। उनीहरू तानाशाह नै रहिरहे।। ती देशमा लोकतन्त्रको लागि जनताले संघर्ष गर्नुपरेको थियो।

अर्को प्रसंग हेर्दा जे भने पनि साम्यवादी सोभियत रुसभन्दा लोकतान्त्रिक रुस हुनु अमेरिकाको लागि धेरै ठूलो चुनौतीको अन्त्य थियो। तर अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले त रुसका राष्ट्रपतिमा स्टालिनको तानाशाही स्वरूप देखिने नै भनिदिए। विशाल लोकतान्त्रिक शोभियत रुस लोकतन्त्रको संरक्षणको लागि अमेरिकाको सहयोगी बन्ने थियो।

तर अमेरिकाले रुसलाई टुक्रा पारेकोले रुस न विशाल रह्यो न अमेरिकाको समर्थक नै। बरु हाल आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग अनावश्यक जोरी नखोज्ने नीति लिएर धेरै हदसम्म राम्रो सन्देश दिएका छन्।अर्कोतर्फ गरिब देशहरूमा आन्तरिकरूपमा भएका गलत परिपाटीको विरुद्धमा वा राज्य व्यवस्थाका विरुद्धमा ठूला आन्दोलन भएका छन्।

तर परिणाममा जनताले अझै पीडा, गरिबी, भ्रष्टाचार, आशान्तिको वातावरणमा बाँच्नुपरेको छ। जातीय द्वन्द्व, सांस्कृतिक विभेदमा आधारित विवाद, राजनीतिक असहिस्णुता मात्र नभई देशमा शक्ति प्राप्त गर्नको लागि अनावश्यकरूपामा विदेशी चलखेल गराएका घटनाहरू बढेका छन्।

विकासले विश्व साँघुरो भएको छ तर राजनीतिकरूपमा अनावश्यक चलखेललाई राजनीतिक महत्वाकांक्षी नेताहरूले आफ्ना भूभागहरूमा पीडा थपिदिएका छन्। धर्म, जात तथा संस्कृतिभन्दा जनजीविकाका सवाल महत्वपूर्ण भएका र ती आवश्यकता पूरा भए जनताले आफ्नो धर्म–संस्कृति आफैं बुझ्न र संरक्षण गर्न सक्नेमा मतको लागि विकासभन्दा भावनात्मक कुरा गरेर जनतालाई मूर्ख बनाउने काम भएका छन्।

स्वाधीनता, विकास, रोजगारीसमेतको चाहना जनतामा हुन्छ। तर राज्यको शक्ति बढाउने र जनतालाई गरिब नै बनाएर बाँच्नको लागि समेत राज्यले दुःख नदिए ठूलै उपलब्धि भएको सम्झने अवस्थामा पुर्याइएका जनताको आशा भनेको उल्टो दिशामा गएको छ। विवाह गरेर रानीजस्तो पालेर राख्छु भनी वेश्यालयमा बेचिन पुगेकी अबोध नारीको भन्दा फरक देखिँदैन यतिखेर नेपालका जनताको अवस्था।

भूमण्डलीय रूपमा हेर्दा अमेरिकाले आन्तरिक रूपमा आफ्ना जनताको हितमा ध्यान केन्द्रित गरेको छ र ट्रम्प अझै सचेत देखिन्छन्। अमेरिकी विदेश नीति भने धेरैसम्म आत्मघाती र लक्षित देशको जनताले चाहेको परिणामभन्दा फरक रहेको छ। गरिब देशहरूले भने विदेश नीतिहरू असंलग्नता, पञ्चशील आदि भनिदिएर सभ्य औपचारिकता पुर्याइन्छ।

जनतामा भने हरेक अग्रगमन भनिएका आन्दोलनहरूको परिणाम पीडा थप्ने नै भएका छन्। करिब २ दशकदेखि नयाँ राजनीतिक प्रणालीमा प्रवेश गरेका दक्षिण एसियाई, मध्यपूर्व तथा उत्तरपूर्वी अफ्रिका र दक्षिण अमेरिकाको उत्तर–पश्चिमी भागका घटनाले त्यही देखाइरहेका छन्। तसर्थ विकसित देशहरूले अरू देशसँगको व्यवहारमा र गरिब देशहरूले आफ्ना जनताप्रतिको व्यवहारमा सुधार नल्याएसम्म स्थायी शान्ति कठिन छ।नेपाल समाचारपत्र अनलाइनबाट ।

प्रतिकृया दिनुहोस्