
काठमाडौं – अर्को महिना स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अर्को मैत्रीपूर्ण खेल तय हुन सके त्यसले टोलीको जोश अझै बढ्ने नेपाली यू २३ फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ बताएका छन् ।
म्यानमारको यू २२ विरुद्धको शुक्रबार कतारको दोहामा मैत्रीपूर्ण खेल खेलेर आइतबार स्वदेश फर्केपछि सुजलले भने, ‘युवा टोली पुरै जोशमा छ । यो टोलीबाट राम्रो प्रदर्शनको आशा गर्न सकिन्छ । साग अघि अझै मैत्रीपूर्ण खेल हुन सके त्यसले टोलीको जोश थपिनेछ । एक्सपोजरका लागि मैत्रीपूर्ण खेल जरुरी छ ।’

नेपाल साग फुटबलको साविक विजेता टोली हो । सन् २०१६ मा भारतमा आयोजना भएको १२ औं सागमा आयोजक टोलीलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखराका लागि तय भएको सागको तयारीका सिलसिलामा यू २३ टोली तयारीमा रहेको छ । सोही सिलसिलामा टोलीले म्यानमारको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
खेल २–२ को बराबरीमा टुंगिएको थियो । दुई पटक अग्रता लिएर पनि नेपाली टोली बराबरीमा रोकिएको थियो । दक्षिण एसियाली टोली भन्दा बलिया टोलीसँग मैत्रीपूर्ण खेल खेल्दा त्यसले सागमा फाइदा पुग्ने सुजलको अनुमान छ । सुजलले म्यानमारविरुद्ध दोस्रो हाफको प्रदर्शन उत्कृष्ट रहेको बताए । ‘हामीले पहिलो हाफ अलिक डिपमा बसेर खेल्यौं । त्यसले दबाब बढी भयो,’ उनले स्मरण गरे, ‘दोस्रो हाफमा हामीले अलिक चडेर खेल्यौं । त्यसले सहज भयो । दबाब पनि कम पर्यो ।’
टोलीको कप्तानी गर्न पाउनुलाई अवसरका रुपमा लिएका सुजलले भने, ‘गर्व महसुस हुन्छ । पहिला भन्दा पनि बढी जिम्मेवारी थपिएको महसुस हुन्छ । उमेर समूह वा राष्ट्रिय टोलीबाट खेल्नु र त्यसमा पनि कप्तानी गर्न पाउनुको अर्को आनन्द हुन्छ ।’
सागका लागि सिनियर राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ र रोहित चन्द थपिएपछि अझै बलियो हुने सुजलको विश्वास छ । साग यू २३ टोलीले खेल्ने भएपनि टोलीमा सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान छ । जसमा सुजल, किरण, रोहितसहित विक्रम लामा र नवयुग श्रेष्ठ रहेका छन् । अन्तिम छनोटमा यी ५ मध्येबाट ३ पर्ने सम्भावना छ ।hamrokhelkud



