विचार

दिग्भ्रमित छोराछोरी

गीता श्रेष्ठ

आज समाज विचलित छ, धार्मिक–सांस्कृतिक अतिक्रमणले आफ्ना मूल्य–मान्यता र संस्कार बिर्संदै गएको छ आधुनिक पुस्ताले । यो पुस्ता अर्थात् भोलि देशको जिम्मा लिने खम्बा तर यो खम्बा सुरुदेखि नै मक्किएको अनुभूति हुन थालेको छ– उनीहरूको व्यवहार, संस्कार र चालढाल हेर्दा ।
अहिले पुराना कुरा बिर्सने र नयाँ मात्र अँगाल्ने प्रवृत्तिका कारणले समाज भाँडिएको छ, मानिस समूहबाट व्यक्तिमा परिणत भएको छ । यसको पहिलो सुरुवात वृद्ध आमाबुबाप्रतिको जिम्मेवारी वहन नगर्ने प्रवृत्तिबाट भएको छ । आमाबाबु शब्द उच्चारण गर्दा नै आफैँमा एउटा भरोसा बोकेर खडा हुुनुपर्नेमा आमाबाबुको कुरा आजभोलिकालाई विष लाग्न थालेको छ । सुखमा–दुःखमा–आपत्मा–विपत्मा बोलिने पहिलो शब्द– आमा, बा ! तर आजभोलि आमा वा बाबु बोझ बन्न थालेको छ ।
पूर्वीय समाजले आमाबुबालाई देवतुल्य मानी उनीहरूको मार्गदर्शनलाई आशीर्वाद ठानेर अनुसरण गथ्र्यो । आज त्यो विलुप्त भइसकेको छ । आजका छोराछोरी बाबुआमाले भनेका कुरालाई बोझ र कचकच गरेको ठान्छन् । उनीहरू आफू सर्वज्ञाता ठानेर बाबुआमाका सुझावलाई बोझ मान्छन् अनि आफ्नो मानोमानी गर्न पाइएन भने बाबुआमाप्रति घृणा गर्छन् । अन्ततः सडकको पेटीमा वा वृद्धाश्रममा लगेर मिल्काइदिन्छन् ।
हामी भोलि आफू पनि बूढो हुनुपर्छ भन्ने सोच्दैनौँ । आजको कर्मले नै भोलिको मार्ग तय गर्छ भन्ने बिर्सेर तत्कालको सुखका लागि बाबुआमालाई अपमानित गर्ने छोराछोरीले भोलि आफूलाई आफ्ना छोराछोरीले पनि यस्तै गर्नसक्छन् भन्ने हेक्का राख्दैनन् । अहिलेको समस्या यही हो । संयुक्त परिवारमा अभ्यस्त नेपाली समाज विस्तारै एकल जीवनशैलीमा ढल्कँदैछ र यसैको परिणाम हो आमाबुबाप्रति छोराछोरीको बेवास्ता ।
आज मुलुक धार्मिक–सांस्कृतिक अतिक्रमणको शिकार भएको छ । धर्म परिवर्तनको प्रवृत्ति बढेको छ । सयमा सीमित चर्चा दशौँ हजारमा पुगेका छन् । यसको एउटै कारण छ समाज विकासका क्रममा कायम गरिएको विभेद र त्यही विभेदलाई टेकेर हिन्दु धर्म–संस्कृतिप्रति पश्चिमाहरूबाट भएको प्रहार । यही पश्चिमा संस्कृतिको प्रहारको परिणाम हो समाज एक्लो बन्दै जानु, समूहमा बस्नुभन्दा एक्लै बस्न रुचाउने अनि आमाबाबुलाई बोझ सम्झनु ।
यसै सन्दर्भमा सरकारले आमाबुबालाई हेला गर्ने अथवा हेरचाह नगर्ने छोराछोरीलाई दण्डित गर्ने कानुन बनाएको छ ।
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद–४ आमा, बाबु तथा छोरा, छोरीको सम्बन्ध सम्बन्धी व्यवस्थाको धारा १२२ मा “आमा–बाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने” भन्दै दफा (१) मा “प्रत्येक छोराछोरीले आफ्ना आमा बाबुलाई आदर तथा सम्मानका साथ व्यवहार गर्नुपर्नेछ ।” (२) “प्रत्येक छोराछोरीले आमाबाबुलाई एकासगोलमा बसेको वा कानुन बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्नेछ ।” भनेर किटानी गरिएको छ ।
हुन त आमाबाबुलाई हेरचाह गर्नुपर्ने कुरा यो नियम–कानुनले बाँध्नुपर्ने विषय हैन तर अहिले यस्तो अवस्था आएको छ । आमाबाबुप्रति छोराछोरीको दायित्वलाई कानुनमा बाँध्नुपर्ने बाध्यता पश्चिमा संस्कृतिको अन्धानुकरणले गर्दा भएको हो । यसमा शिक्षा पद्धतिको सबभन्दा ठूलो प्रभाव छ । हामीले पूर्वीय संस्कारयुक्त नैतिक शिक्षा पढाउन छाड्यौँ । यसैको परिणाम हो घरका आमाबुबा संस्कारवान् हुँदाहुँदै पनि उनीहरूका छोराछोरी संस्कारहीन निस्कनु । आमाबुबालाई सम्मान गर्न नसक्नेले अरूको सम्मान गर्छ भनेर कसरी पत्याउने ?
हो आजको समय अनुसार आमाबुबा छोराछोरीका लागि उनीहरूको सोच अनुसारको व्यवहार गर्न नसक्लान् तर यसको अर्थ यो हैन कि उनीहरूलाई सडकमा लगेर मिल्काउने । आमाबुबालाई समय अनुसार सिकाउने कि
मिल्काउने ? प्रश्न यही हो । जतिसुकै जान्ने ठाने पनि, जतिसुकै बुझेको छु भने पनि छोराछोरी बाबुआमाको बराबर पुग्नै सक्दैनन् । मोबाइल र ल्यापटपमा देखेका र त्यसैबाट सिकेका कुरा नै आधुनिक, सभ्य र संस्कारी हुन् भन्ने भ्रममा परेर आमाबुबालाई अपहेलना गर्ने प्रवृत्तिले कोही पनि सुखी बन्न सक्दैनन् । नजानेकै होस्, आमाबाबुले कहिल्यै छोराछोरीको कुभलो चाहँदैनन् भन्ने यो पुस्तालाई बुझाइदिन आवश्यक छ ।

(लेखक उर्सा मेजर चिल्ड्रेन्स एकेडेमीका सञ्चालक सदस्य हुनुहुन्छ ।)गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button