बेइजिङ । चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ ।
झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया गरी सकुशल स्वस्थ बच्चा जन्मिएको अस्पतालले जनाएको छ । ती महिलाका पतिको उमेर पनि ६८ वर्षको छ । दुबैले नवजात शिशु ईश्वरको वरदान रहेको भन्दै खुशी व्यक्त गरेका छन् ।
जिनान टाइम्सका अनुसार यस दम्पतीको यसअघि दुई सन्तान थिए । चीनमा एक सन्तान नीति घोषणा हुनुभन्दा दुई वर्षअघि सन् १९७७ मा पछिल्लो छोरा जन्मिएका थिए ।
सन् २०१६ मा चीनले एक सन्तान नीतिमा पुनरावलोकन गरेको छ, र अब दुई सन्तान जन्माउन पाउने व्यवस्था गरेको छ ।
चीनमा पछिल्ला केही वर्षदेखि महिलाहरुले ढिलो गरी बच्चा जन्माउने वा बच्चा नै नजन्माउने प्रवृत्ति बढ्दै गएको छ । परिवार नियोजनका कडा नियमहरुका कारण पनि सानो परिवारप्रति धेरै व्यक्ति आकर्षित भइरहेको अध्ययनहरुले देखाएका छन् ।



