
बिर्तामोड / पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप–२०७६ को तयारी पूरा भएको छ ।
कात्तिक १६ गतेदेखि सुरु हुने गोल्डकपको तयारी पूरा भएको आयोजक जायोन स्पोर्टस् क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
असोज दोस्रो सातादेखि प्रतियोगिता सुरु गर्ने तयारी गरिएपनि मौसमको प्रतिकूलताका कारण स्थगित गर्नुपरेको आयोजकले जनाएको छ । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कात्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो ।
एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएकाले समय उपलब्ध गराउन नसकेपछि कात्तिक १६ गते सुरु गर्ने गरी मिति टुङ्गो लागेको हो । एन्फासँग भएको सहमतिसँगै कात्तिक २५ गते फाइनल सम्पन्न हुने गरी प्रतियोगिता सुरु गर्न लागिएको बताइएको छ ।
असोजमा ८ टिम सहभागि गराउने गरी तय भएको प्रतियोगिता स्थगित भएपछि अहिले १० टिम खेलाइने भएको छ । पछिल्लोपटक आयोजकले आफ्नो टिम पनि गोल्डकपमा समावेश गरेको छ । यसअघि तय गरिएको मिति र खेल तालिकामा आयोजक सहभागी थिएन । गोल्डकपको उद्घाटनमा खेलमा आयोजक र सिक्किम आक्रामक आमने–सामने हुने भएका छन् ।
प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्याराफिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनास राईले जानकारी दिए । उनले १० हजार दर्शकले खेल अवलोकन गर्नसक्ने गरी व्यवस्थापन गरिएको बताए । ‘आकर्षक मैदान डोमालाल राजवंशी रंगशालाको मुख्य विषेशता हो’ राइले भने–‘यसको गरिमालाई उच्च बनाउँदै मैदान मर्मतमा विशेष ध्यान दिएका छौं ।’ राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहने भएको छ ।
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बासडर बनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदीयमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउने छन् । प्रतियोगिता भरीकै मष्ट भ्यालुएबल खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।
janasamsadonline



