खबर

साउदीस्थित नेपालीद्वारा भारतीय साम्राज्यवादी हस्तक्षेपको घोर निन्दा

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा केन्द्रीय समिति साउदीले भारतीय साम्राज्यवादले आफ्नो नक्सामा नेपालका कालापानी, लिपुलेकलगायत भूमि पारेर हस्तक्षेप गरेको भन्दै निन्दा एवम् भत्र्सना गरेको छ । मोर्चाका अध्यक्ष युवराज कार्की ‘शेखर’ ले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमाथि हस्तक्षेप गरेकाले सम्पूर्ण देशभक्त नेपालीहरुले त्यसका विरुद्ध सशक्त आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।

शेखरले ‘भारतीय साम्रज्यवाद मुर्दावाद, नेपाली भूमी फिर्ता गर, नेपाली शासक मुख खोल’ भन्दै विज्ञप्तिमा भनेका छन्, ‘भारतले नेपालको झन्डै ३७२ वर्गकिलोमिटर भन्दा धेरै जमिन आफ्नो भएको दाबी गर्दै दार्चुला जिल्लाका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको १६ कात्तिक, २०७६ शनिबारका दिन सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा समेटेको छ । यसअघि पनि लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भन्दै भारतले दाबी गर्दै आएको थियो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काली नदीको बहाव, नेपाली जनताको पुराना हकभोगको निस्सा र ऐतिहासिक दस्ताबेजहरूका आधारमा हालको पश्चिमी सिमाना काली नदीको शिर रहेको लिम्पियाधुरा नै नेपाल–भारत र चीनको त्रिदेशीय सीमाबिन्दु हो । लिपुलेक भञ्ज्याङदेखि पश्चिम र लिम्पियाधुरादेखि पूर्व लाखौँ रोपनी व्यास कालापानी क्षेत्रलाई ५३ वर्षअघिदेखि भारतले नेपाली भूभाग अतिक्रमण गरी भारतीय सैनिक ब्यारेक बनाएर बसेको छ । यो भारतको साम्राज्यवादी, अतिक्रमणकारी रवैया र नेपालमाथिको हमला हो ।’

शेखरले विज्ञप्तिमा भनेका छन्, ‘यो नेपालको स्वाधीनता, स्वतन्त्रता, सार्वभौमिकताको ठाडो र नाङ्गो हस्तक्षेप हो । यो अन्तर्राष्ट्रिय पञ्चशीलको सिद्धान्तको अपहरण पनि हो । मोर्चा भारतीय साम्राज्यवादी अतिक्रमणको आपत्ति, विरोध र भत्र्सना गर्दछ । साथै सरकारले सुस्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता गर्न भारतसँग सार्थक कदम चालोस् । नक्कली राष्ट्रवाद अति भयो । कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रूपमा नक्सा सार्वजनिक गरेको छ ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा काली नदीको मुहान हो । काली नदी नै नेपाल–भारत सिमाना हो । त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानका रूपमा निर्विवाद थियो । विसं २०१८ मा लिम्पियाधुरा क्षेत्रका गुन्जी, गब्र्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । नेपाल सरकारका तत्कालीन जोनल अफिसर वरिष्ठ पत्रकार भैरव रिसालले त्यस क्षेत्रको जनगणना गराएका थिए । तसर्थ तुरुन्तै नेपाली भूमि छोडेर असल छिमेकीको कर्तव्यबोध गर्न भारतीय शासकलाई चुनौती दिँदै नेपाल सरकारले आफ्नो मुख खोलेर जमिन फिर्ताका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहलकदमी तुरुन्तै लिनका लागि साउदी मोर्चा हार्दिक अपिल गर्दछ ।’२०७६, २२ कार्तिक शुक्रबार ०८:०६ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button