मूल खबर

आलमलाई सहयोग गरेको आरोपमा सशस्त्रका एसपी लामालाई पक्रिन इन्टरपोलमा पत्राचार गर्ने तयारी

काठमाडौं– करिब दुई दर्जन व्यक्तिलाई इँटाभट्टामा पोलेर हत्या गरेको आरोप लागेका पूर्वमन्त्री तथा बहालवाला सांसद मोहमद अफताब आलमलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका एसपी रामृकष्ण लामा पनि अनुसन्धानमा तानिने भएका छन्।

लामालाई झिकाउन भन्दै रौतहट प्रहरीले प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखालाई पत्रकार गरेको छ। रौतहट प्रहरीले पत्राचार गरेको पुष्टि गर्दै इन्टरपोल स्रोतले नेपाल लाइभलाई भन्यो, ‘उहाँलाई उपस्थित गराउन भनेर पत्र आएको हो। तर, रेड नोटिस तथा डिफ्युजन नोटिस जारी गरिदिने भन्ने आग्रह चाहिँ छैन।’

२०६४ चैत २७ गते रौतहटमा बम बिस्फोट भएर घाइते भएका व्यक्तिलाई आलमको समूहले जलाएर हत्या गरेको आरोप लागेको छ। रौतहटमा कार्यरत रहँदा लामाले उक्त घटनामा सहयोगी भूमिका निभाएको प्रतक्ष्यदर्शी तथा घाइतेहरुले बयान दिएका थिए।

लामा हाल उपचारका लागि हङकङमा छन्। देशबाहिर भएकोले पनि उनलाई पक्राउ गर्न इन्टरपोलमा पत्राचार गर्न लागिएको हो।

आलम हाल रौतहट प्रहरीको नियन्त्रणमा छन्। उनी विरुद्ध अहिले रौतहट जिल्ला अदालतमा ३ वटा मुद्दा दायर भएका छन्। सो सम्बन्धमा हाल उनीविरुद्ध थुनछेक बहस चलिरहेको छ।
नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button