
राजु पोख्रेल
गौरादह / झापाको गौरादह नगरपालिकाले शुक्रबार नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ ।
गौरादह वडा नं १ को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गत असारमा सम्पन्न भएको नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को नीति, बजेट तथा कार्यक्रम विवरण उल्लेखित पुस्तिका सार्वजनिक गर्दै नगरपालिकामा व्याप्त समस्याहरुका बिषयमा समेत जानकारी गराईएको छ ।
चालू आर्थिक बर्षको झण्डै ४ महिनापछि सार्वजनिक भएको बजेट पुस्तीकामा चौथो नगर सभामा प्रस्तुत भएको बार्षिक नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, नगर सभाबाट पारित विभिन्न ६ वटा ऐन, गत आर्थिक बर्षको आय व्यय, आगामी तीन बर्षको आय प्रक्षेपण, चालू आवमा सञ्चालन हुने नगरस्तरीय योजना तथा कार्यक्रमहरु, वडास्तरीय योजना तथा कार्यक्रम, बिषयगत शाखाहरुको योजना, संघ र प्रदेश सरकारसंग माग गरिने योजना तथा कार्यक्रमहरु, न्यायिक समितिको कार्य प्रगति विवरण, नगर सभाबाट स्वीकृत गरेको थप दरबन्दी विवरण आदि बिषयहरु समेटिएको छ ।
त्यस्तै नगर गौरवका योजनाहरु, वडागत वजेट सिलिङ, पूँजीगत , चालू र प्रशासनिक खर्चको विवरण आदि समेत समावेश गरिएको छ । नगरपालिकाका प्रमुख रोहित कुमार साहले चौथो नगर सभाबाट करीब ८५ करोड ५२ लाख रुपैयाँ आय व्ययसहितको बजेट कार्यान्वयनको चरणमा रहेको बताए । नगर सभाका निर्णयहरु यस अघिनै सार्वजनिक भएपनि प्राविधिक कारणले पुस्तकका रुपमा सार्वजनिक गर्न भने ढिलाई भएको नगर उपप्रमुख गीता भेट्वालले बताईन । नगरपालिकाका कार्यालयबाट भईरहेका कामहरुको बिषयमा नगरबासीहरुबाट आईरहेको गुनासो सम्बोधन गर्न नगरपालिका लागिपरेको समेत भेट्वालको भनाइ छ। नगरका प्रवक्ता तथा १ नम्बर का वडाध्यक्ष नगेन्द्र भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा बडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र घिमिरेको पनि उपस्थिति रहेको थियो।janasamsadonline



