एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ ।
एक समय रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकियो । यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ ।
रियलका लागि करीम बेन्जेमाले नै दुवै गोल गरेका थिए । उनले खेलको १७ अौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । इस्कोको सुरुवाती प्रहार पोस्टमा लागेर फर्किएपछि बेन्जेमाले रिबाउन्डमा राम्रो फिनिसिङ गरे ।

बेन्जेमाले नै रियलको अग्रता दोब्बर पारे । उनले मार्सेलोको क्रसलाई ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै जित तर्फ अग्रसर गराएका थिए । तर, रियलको डिफेन्समा कमजोरी हुँदा पीएसजीले खेलमा फर्कने अवसर पायो ।
थोमस मिउनिएरको क्रसमा रियलका गोलरक्षक थिबाउट कोर्टूवा र डिफेन्डर राफेल भारानबीच तालमेल नमिल्दा किलिएन एमबाप्पेले सहज गोल गरे । त्यसको एक मिनेटपछि नै पाब्लो सराबियाले उत्कृष्ट फिनिस गरे । जुलियन ड्राक्सलरको प्रहार डिफेन्सले ब्लक गरेपनि रिबाउन्डमा सराबियाको प्रहारलाई कोर्टूवाले रोक्ने अवसर नै पाएनन् ।
यस नतिजासँगै दुवै टोली अर्को चरणमा प्रवेश गरेका छन् । ५ खेलमा ४ जित र १ बराबरी खेलेको पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ । रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।hamrokhelkud



