कृषि र किसान

बढ्यो तरकारीमा विषादीको मात्रा

सिता धमला 

ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रने आयातित तरकारीमा विषादीको मात्रा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पत्रकार भेट्घाट कार्यक्रममा उक्त जानकारी गराएको हो।

समितिले २०७१ असारबाट कालीमाटीमा आयात हुने तरकारीमा विषादीको मात्रा परीक्षण सुरु गरेको थियो । बजार विषादी र्यापिड बायोएसे अफ पेस्टिसाइड रेसिड्युअल परीक्षण (विषादी अवशेष विश्लेषण) शाखाले दैनिक पाँच भन्दा बढी तरकारीको परीक्षण गर्दै आएको छ ।

समितिले विषादी परीक्षणको नमुनामा ३ वटा लेबल लगाउने गरेको छ । तरकारीको विषादी परीक्षण क्वारेन्टाइन तथा जीवनाशक विषादी परीक्षणका लेबलअनुसार विषादीको मात्रा ०–३५ पीपीएम (पार्टस् पर मिलियन अर्थात् प्रति १० लाखमा हिस्सा) भएको नमुनालाई हरियो लेबल लगाइन्छ । यस्तो तरकारीलाई खानयोग्य मानिएको छ ।

त्यसैगरी, विषादी मात्रा ३५–४५ पीपीएम भएको नमुनालाई पहेंलो लेबल लगाइन्छ । यस्तोलाई केही दिन स्टक गरी पुनः विषादीको मात्रा परीक्षणपछि मात्र प्रयोग गर्न सकिन्छ । तर, ४५ भन्दा बढी पीपीएम विषादी भएको तरकारी खान अयोग्य मानिन्छ । उच्च विषादी हुने यस्तो तरकारी नष्ट गरिने समितिले जनाएको छ ।

चालु आवको माघ २० गतेसम्म गरिएको एक हजार ४ सय २ नमुनामध्ये एक हजार ३ सय ८७ नमुना खानयोग्य, ३ वटा नमुना केही दिन स्टक गरी प्रयोग गर्न मिल्ने भेटिएको थियो । १२ वटा नमुना नष्ट गर्नुपर्ने परीक्षणमा देखिएको हो ।

समितिले दिएको जानकारीअनुसार २०७१ असार ५ देखि ३२ गतेसम्म शाखाले विषादी परीक्षणको कुल १८७ मध्ये १५५ नमुना खानयोग्य, ६ नमुना केही दिन स्टक गरी प्रयोग गर्न सकिने र २६ नमुना नष्ट गरेको बताएको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button