
मेचीनगर, तत्कालिन ने क पा (माओवादी) ले २०५२ फागुन १ गतेबाट शुरु गरेको जनयुद्ध दिवस पछिल्लो समयमा आएर ने क पा ( एमाले ) र माओवादी केन्द्रको एकता पछि पहिलो पटक देशभरिनै जनयुद्ध दिवस मनाउने क्रममा बिहिबार साँझ झापाको काँकरभिट्टा स्थित बसपार्क क्षेत्रमा रहेको वाटर फाउण्टेन पार्कमा एक कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) मेचीनगरले पनि दिपावली सहित जनयुद्ध दिवस मनाएको छ ।


कम्युनिष्ट पार्टी ( ने क पा) का केन्द्रीय सदस्य राम कार्कीको प्रमुख उपस्थितिमा सम्पन्न सो दिपावली सहितको जनयुद्ध दिवस कार्यक्रममा स्थानिय पार्टीका कार्यकर्ता र शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो । जनयुद्ध दिवसलाई दिपावली सहित मनाईएको भएपनि कार्यक्रममा कम्युनिष्ट पार्टीको झण्डा भने देखिएको थिएन ।

सो कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) मेचीनगरका अध्यक्ष माधव अर्यालले गरेका थिए भने जनयुद्ध दिवसको महत्वका बारेमा केन्द्रीय सदस्य राम कार्कीले संक्षिप्त मन्तब्य राखेका थिए । जनयुद्ध दिपावली साँझ मनाईएको भए पनि जनयुद्धका शहिदहरुप्रति श्रदाञ्जलि ब्यक्त नगरि एकैचोटी मन्तब्यको कार्यक्रम राख्नु र हसिया हथौडा झण्डा बिना जनयुद्ध दिवस मनाउँदा मानिसहरु अलमलमा समेत परेका थिए ।





