वीरगन्जको मस्जिदमा बस्दै आएका तीन भारतीयलाई कोरोना, सँगै समूहमा बसेका २१ जना क्वारेन्टाइनबाहिरै
वीरगन्जको छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एक संक्रमित दिल्लीका र दुई उत्तर प्रदेशका हुन् । उनीहरू ३७, ४४ र ५५ वर्षका छन् । संक्रमितहरू फागुन पहिलो साता सप्तरीमा भएको एक धार्मिक सभामा सहभागी भएको मुस्लिम धर्मगुरुहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले संक्रमितसहित २४ जनाको समूह सप्तरी, बारा र पर्साका विभिन्न मस्जिदमा बस्दै १५ दिनअघि छपकैयाको जामे मस्जिद आइपुगेको खुलेको जनाएको छ ।
उनीहरूले ४ मार्चमा घर फर्किन ट्रेनको टिकट लिए पनि लकडाउनका कारण रोकिएका थिए । लकडाउन खुल्ने अपेक्षाअनुसार १५ अप्रिलका लागि पुनः टिकट काटेका थिए । घर फर्किनुअघि एकपटक नेपालमै स्वास्थ्य परीक्षा गराउने भन्दै बिहीबार सबैजना नारायणी अस्पताल पुगेका थिए ।
अस्पतालले यो समूहका २४ सहित ३३ जनाको नमुना संकलन गरी परीक्षणका लागि शुक्रबार हेटौँडा प्रयोगशाला पठाएको थियो । नमुना संकलनपछि उनीहरूलाई भने छाडिदिएको थियो । तर, शुक्रबार हेटौँडामा तीनजनाको रिपोर्ट शंकास्पद आएपछि प्रशासन झस्कियो । शुक्रबारै तीनजनालाई मस्जिदबाट अस्पताल लगेर आइसोलेसनमा राख्यो । तर, उनीहरूसँगै मस्जिदमा बसेकाहरू भने आइतबारसम्म पनि क्वारेन्टाइनमा छैनन् ।
शनिबार प्रहरीले वीरगन्जका दुई मस्जिदमा छापा मारेर अन्य २६ जनालाई भने क्वारेन्टाइनमा राखेको छ । मस्जिदमा लुकेर बसेका १९ जना भारतीय धर्म प्रचारकसहित २६ जनालाई छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । दिल्लीको मुस्लिम तबलगी भेलामा सहभागी भएका १९ सहित २३ भारतीय तथा तीनजना वीरगन्जका मुस्लिम धर्मगुरु रहेको वीरगन्ज– २ वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।
उनीहरूले दिल्लीको तबलगी जमातमा सहभागी भएर तीन महिना पहिलादेखि नै धर्म प्रचारका लागि नेपालमा रहेको बयान दिएको पनेरूले बताए । उनीहरूलाई छपकैया र घुसुकपुरका दुई मस्जिदबाट नियन्त्रणमा लिइएको र सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । आइतबार देशभर सात सय ९५ जनाको कोरोना परीक्षण भएको छ ।nayapatrikadinik/from




