
एजेन्सी– इंग्लिस क्लब आर्सनल झन्डै डेढ महिनापछि प्रशिक्षणमा फर्किएको छ । यससँगै आर्सनल कोरोना संक्रमणपछि प्रशिक्षण थाल्ने प्रिमियर लिगको पहिलो टोली बनेको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिव डेढ महिनाअघि देखि खेलाडीहरु मैदान बाहिर रहेका थिए । महामारीका रुपमा रहेको कोरोनाको संक्रमणको उच्च जोखिम भएपछि प्रिमियर लिगसहित विश्वको खेलकुद गतिविधि नै ठप्प भएको थियो । तर, आर्सनलले सोमबारबाट प्रशिक्षण थालेको हो ।
यसका लागि क्लबले कोरोना भाइरस फैलिन नदिन बेलायती सरकारले लागू गरेको सबै खाले नियम भने पालना गर्नेछ । इंग्लिस प्रिमियर लिग क्लबले शनिबार जनाए अनुसार प्रशिक्षणका क्रममा मैदानमा खेलाडीले सामाजिक दूरीको नियम पूर्णतय पालन गर्नु पर्नेछ र पूर्ण अभ्यास मैदान अर्को सातादेखि उपलब्ध हुनेछ ।
खेलाडीले अभ्यास मैदानसम्म एक्लै जानु पर्नेछ र कोही साथी खेलाडीसँग मिलेर अभ्यास पनि गर्न पाउने छैनन् । आर्सनलले लण्डनस्थित कोल्न प्रशिक्षण मैदानमा खेलाडीले सात हप्तापछि बल खेल्न पाउने भएका छन । आर्सनलका प्रशिक्षक मिकेल आर्टेटालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनी अहिले पुर्ण रुपमा स्वस्थ भइसकेका छन् ।
प्रशिक्षणका बेला क्लबले एक पटकमा पाँच जना खेलाडीमात्र प्रशिक्षण गराउनेछ । उनीहरुलाई एक साताको प्रशिक्षण तालिका प्रशिक्षकले दिनेछन । कोल्नमा १० वटा प्रशिक्षण गर्न मिल्ने मैदान छन् । त्यसैले खेलाडीले फरक फरक मैदानमा प्रशिक्षण गर्नेछन् । जहाँ एक खेलाडीले एक बल मात्रै प्रयोग गर्नेछन् ।hamrokhelkud/from



