खबर

मृत्युसँग जुध्दै सेवामा समर्पित हामी नर्सहरू

म नर्सिङ पढ्न कलेज भर्ना भएको समयमा ‘छोरी बिग्रिए नर्स, छोरा बिग्रिए कमर्स’ भन्ने चलन थियो हाम्रो समाजमा। एसएलसी सकिने बित्तिकै फस्ट डिभिजन आउने हरेकको चाहना अमृत साइन्स पढ्ने हुन्थ्यो। ममा पनि त्यही चाहना जरुर थियो। तर कथाले फरक बाटो लियो।

मेरी आमा बिरामी भएर अस्पताल जाँदा कलिलो उमेरकी एक नर्स नम्र वचन अनि विनम्रतापूर्वक प्रस्तुत भइछिन्। त्यो व्यवहारले मेरी आमाको मन छोएछ र आमाले मेरो दाइलाई तुरुन्त भन्नु भएछ, ‘हाम्रो छोरीलाई पनि यस्तै बनाउन मिल्दैन?’ दाइले मुस्कुराउँदै ‘ल बहिनीलाई नर्सिङ पढाउने’ भनेर मलाई नर्सिङ कलेजमा फाराम भरिदिनुभो। ती नर्सको नम्र व्यवहारले अर्को नर्स (मलाई) उत्पादन गर्न ठूलो ऊर्जा मिल्यो। त्यसैले ‘नर्सिङ इज एन आर्ट एन्ड साइन्स’ (नर्सिङ एउटा कला र विज्ञान पनि) हो।

आजको अवस्थामा हिमालझैँ अडिग भएर नर्सहरु मृत्युसँग जुध्दै युद्ध मैदानमा छन्। जीवन त उनको पनि हो, तर समान, स्वच्छ, इमान्दारिताको भावले मानव सेवा गर्नेछु भन्ने सपथ लिएपछि राजा होस् कि रैती, अरबपति होस् कि गरिब, नर्सहरुको भाव र व्यवहारमा कुनै भिन्नता हुँदैन। भलै नेताहरु सपथ एउटा लिन्छन् अनि व्यवहार उल्टा गर्छन्।

नर्स हेड र हार्ट दुवैले काम गर्छन्। हरेक बिहानी, हरेक पलमा नर्सका मनमा अस्पतालका शय्याहरुमा सानो जीवनको भिख खातिर, जीवन नर्स र डाक्टरको हातमा सुम्पिएका बिमार शरीरको याद बिना केही हुँदैन भन्दा कुनै दुईमत छैन। मुँसुक्क हासेर जब नर्स उत्रिन्छन्, सारा अस्तित्व नतमस्तक हुँदै यो परिस्थितिमा, यो युद्धमा लड्ने शक्ति दिन बाध्य छन्।

जब नर्स बिरामी नजिक पुग्छन्, मस्तिष्कले मात्र काम गरेका हुँदैनन्, मनले बिरामीको स्वास्थ्य लाभको कामना र हृदयले प्रार्थना पनि गरिरहेका हुन्छन्। आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्दै पेसागत धर्म खातिर बचाउका आवश्यक सामग्री बिना नै सेवामा खटिएका छन्। उनको ध्यान केवल बिरामीको ज्यान कसरी बचाउने भन्ने मात्र हुन्छ। नर्सलाई थाहा पनि हुन्न कि कतै उनको परिवार छ, उनले समयमा खाना खानुपर्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ। ख्याल केवल यो बिमारी छिटो निको हुन्छ कि हुँदैन भन्ने मात्रै हुन्छ।

कोमल हृदय, कठोर मन, शालीन व्यवहार, सुन्दर मुस्कान, पवित्र वाणी देख्दा एउटा प्रश्न मनमा सधैं उठ्छ, ऊ नर्स बन्नका लागि ती गुणहरु लिएर जन्मिएका हुन् अर्थात् नर्स बनेपछि यी गुणहरु आर्जित गरेकी हुन्। त्यसैले यो मन्त्र नै भएको छ- नर्सिङ इज एन आर्ट एन्ड साइन्स।

नर्सिङ- एन आर्ट एन्ड साइन्स
दिनभरि फेस मास्क लगाउँदा लाग्छ, नाकको आकृति नै फरक पो हुन्छ कि। अनि मास्कले छाडेका डोब, चोट, मृत्युको साक्षी बन्दाको पीडा, बिमारीको आफन्तसँगको मिलन डिजिटलमा सीमित गराउनुपर्दा चोट नै चोटले क्षत-विक्षत हुँदै घर फर्कंदा नि:शब्द अनि जीवनविहीन हुन्छन्। यी भोगाइबाहेक परिवार, आफन्त, साथीभाइ, समाजको जिम्मेवारी उत्तिकै सम्हाल्नु परेको छ। आफ्नो ख्याल राखेको छ/छैन, तर अरुको ख्याल राख्नु है भन्दै अरूका लागि उर्जा स्रोत बन्दैछन् नर्सहरु।

लाग्थ्यो, ठूला स्वरले भाषण गर्ने ठूला र साहसी हुन्छन्। त्यो त माइक र स्टेज पाउँदा मात्र रहेछ। यो महामारी नर्सबाट सर्छ कि जस्तो गर्ने पनि भेटिए, बोल्दा नै बोली कँपाएको पनि देखियो। तर नर्स आफ्नो स्वास्थ्य जोखिममा राख्दै बिरामीको स्वास्थ्यमा तन, मन, शरीर दाउमा लगाउँदै छन्। सलाम छ यी योद्धाहरुलाई।

यो हप्ता नर्सिङ हप्ता भनेर मनाउने गरिएको छ। आज म यी अक्षरहरुमार्फत विश्वभरि सेवामा खटिएका सम्पूर्ण नर्सहरुलाई शुभकामना दिन चाहन्छु र सेवारत हुँदा आफ्नो यो युद्धभूमिमा मृत्युवरण गर्नुभएका सम्पूर्ण नर्सहरुको चिरशान्तिको कामना गर्न चाहन्छु। साथै उहाँहरुको परिवारलाई ईश्वरले यो विषम परिस्थितिमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछु।

नमिठा वाक्यहरु सुनिन्थ्यो यदाकदा, जो अद्वितीय बुद्धि भएकाहरु र कोहीकोही भन्ने गर्थे- नर्स भनेको डाक्टरसँग रमाउनेहरु हुन् (शब्दलाई परिमार्जित गरिएको)। आज थाहा भयो होला कि नर्स को हुन्, नर्सिङ पेसाको मर्म र धर्म के रहेछ, एवं नर्स कति शक्तिशाली, दयावान, करुणामयी, प्रेमिल, ऊर्जावान रहेछन् भन्ने।

म पूर्ण विश्वस्त छु, हाम्रा महावाणी परिवर्तन भई ‘छोरी सप्रिए नर्स’ भइसकेको छ। नर्सिङ पेसामा अझै परिवर्तन आउने छ। यो समय परिवर्तनको हो। पेसागत हकहित र नर्सहरुको ऐक्यबद्धता अझै मजबुत हुनेछ। अन्तर्मनदेखि मेरो शुभकामना ।

(बेलायतको स्टकम्यान्डभिल अस्पतालमा वरिष्ठ नर्सको रुपमा कार्यरत सिम्खडा कोरोनाका लक्षण देखिएपछि स्वएकान्तबासमा बसेर अहिले काममा फर्किसकेकी छिन्। उनी नेप्लिज नर्सेस एसोसिएसन युकेकी संस्थापक अध्यक्ष पनि हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button