खेलकुद

अमेरिका रहेको समूह ‘डी’ मा सबैको चासो

न्युयोर्क, जेठ ११ गते । विश्वकप फुटबल–२०२६ को समूह ‘डी’ मा आयोजक अमेरिकाले चिरपरिचित प्रतिद्वन्द्वी पाएका छन् । सो समूहमा अस्ट्रेलिया, पाराग्वे र टर्किए पनि छन् । अमेरिकाले यी तिनै टिमसँग गत वर्ष मैत्री खेल खेलेको थियो । जसमध्ये टर्किएसँग २–१ ले पराजित भएको अमेरिकाले अस्ट्रेलिया र पाराग्वेलाई समान २–१ ले हराएको थियो । फुटबल विश्लेषकले यसलाई खुला समूह मानेका छन् । ठुला टिम नहुँदा यस समूहमा रहेका चारै टिम खुसी छन् ।

अमेरिका

आयोजक अमेरिका उपस्थित हुँदा यस समूहमा सबैको चासो छ । यस समूहमा रहेका टिममध्ये अमेरिका (१६) को वरीयता उच्च पनि छ। फिफा वरीयतामा टर्किए २२, अस्ट्रेलिया २७ र पाराग्वे ४० औँ स्थानमा छन् । सन् १९३० मा भएको पहिलो विश्वकपपछि अमेरिकाले सेमिफाइनलमा स्थान बनाउन सकेको छैन । सन् २००२ पछि त अमेरिका क्वाटरफाइनलसम्म पनि पुग्न सकेको छैन तर यस पटक अमेरिकाले घरेलु मैदानमा समर्थकसामु लामो यात्रा गर्ने अपेक्षा गरिएको छ । यसका लागि २० वर्षीय खेलाडीद्वय लान्डन डोनोभान र डामार्कस बिस्लीबाट अमेरिकालाई ठुलो आशा छ । यद्यपि अमेरिकी टिममा केही चिन्ता लिनुपर्ने पक्ष पनि छन् । सन् १९८० पछि अमेरिकी टिमको रक्षापङ्क्ति सबभन्दा कमजोर मानिएको छ । अमेरिकी टिमका एक सेन्ट्रल डिफेन्डर क्रिस रिचर्ड्स मात्र युरोपेली लिगमा खेल्नुहुन्छ । अमेरिकाका सुपरस्टार खेलाडी क्रिस्टियन पुलिसिचले पनि सन् २०२४ पछि अन्तर्राष्ट्रिय गोल गर्नुभएको छैन । मिडफिल्डर टेलर एडम्स र राइट ब्याक सर्जिनो डेस्ट पनि फिटनेसको समस्यामा हुनुहुन्छ ।

टर्किए

टर्किए सन् २००२ मा विश्वकप र सन् २००८ मा युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको राष्ट्र हो । एसियामा भएको विश्वकपमा टर्किएले तेस्रो स्थान हासिल गरेको थियो । यद्यपि टर्किएले लगातार पाँच विश्वकप गुमाएको थियो । यस पटक पनि प्लेअफमा कोसोभोलाई हराएपछि टर्किए विश्वकपमा पुनरागमन गर्न सफल भएको हो । सन् १९५४ मा नै पहिलो पटक विश्वकप खेलेको टर्किएको यो मात्र तेस्रो विश्वकप हो । कप्तान हाकन चालहानोग्लु र करिम अक्टुकोग्लु टर्किएका स्टार खेलाडी हुनुहुन्छ । हाकनले २२ र करिमले १५ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ । टर्किएका लागि अस्ट्रेलिया र पाराग्वे नौलो प्रतिद्वन्द्वी भने पनि हुन्छ । टर्किएले अस्ट्रेलियाविरुद्ध सन् २००४ पछि खेलेको छैन । यसै गरी पाराग्वेसँग पनि टर्किएले ३१ वर्षअघि एक पटक मात्र खेलेको थियो । टर्किएलाई यस विश्वकपमा अन्डरडग टिमका रूपमा लिइएको छ ।

पाराग्वे

दक्षिण अमेरिकी समूहमा स्वतः छनोट हुने अन्तिम छैटौँ स्थान हासिल गरी पाराग्वे विश्वकप फुटबल २०२६ मा पुगेको हो । पछिल्लो पटक सन् २०१० मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिता खेलेको पाराग्वेले यसपालि सानदार पुनरागमन गर्ने आशा गरेको छ । पाराग्वेले कुल नवौँ पटक विश्वकप खेल्न लागेको हो । विश्वकपमा पाराग्वेको सर्वश्रेष्ठ प्रदर्शन सन् २०१० मा क्वाटरफाइनलसम्मको यात्रा हो । सो समय अन्तिम समयमा गोल बेहोरेपछि स्पेनसँग पराजित भएर पाराग्वे सेमिफाइलमा पुग्नबाट वञ्चित भएको थियो । पाराग्वेको आक्रमणको जिम्मेवारी दुई भेटरान फरवार्ड ३२ वर्षीय मिगुयल आल्मिरन र ३० वर्षीय एन्टोनियो सानाब्रियामा रहने छ । यसै गरी पाराग्वेले राम्रो गर्ने हो भने २२ वर्षीय जुलियो इन्सिस्को र २३ वर्षीय डिएगो गोमेजको मिडफिल्डमा उचित योगदान दिनुपर्ने छ ।

अस्ट्रेलिया

चार संस्करणमा समूह चरणबाटै बिदा भएपछि पछिल्लो संस्करणमा अस्ट्रेलियाले ट्युनिसिया र डेनमार्कलाई हराएर नकआउट चरणमा पुगेको थियो । सो समय च्याम्पियन बनेका अर्जेन्टिनासँग २–१ ले पराजित भएपछि अस्ट्रेलियाको यात्रा टुङ्गियो । विगतमा सधैँ कठिन समूहमा पर्ने अस्ट्रेलियाले यस पटक नकआउट चरणमा पुग्ने यथार्थपरक अवसर देखेको छ । अस्ट्रेलियाका गोलरक्षक तथा कप्तान म्याथ्यु रायन चौथो पटक विश्वकपमा सहभागिता जनाउँदै हुनुहुन्छ । अस्ट्रेलियाको बलियो पक्ष भने एकजुट टिम हो । एकजुट भएर खेल्नुका साथै सेट पिसमा पनि अस्ट्रेलिया खतरनाक छ । अस्ट्रेलियाका प्रमुख खेलाडी मिडफिल्डर रिली म्याकग्री हुनुहुन्छ । उहाँ मिडफिल्डमा बल जित्नुका साथै तेज आक्रमण बुन्नमा माहिर हुनुहुन्छ । एपी

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button