आज पनि उनीहरुलाई कम्युनिष्ट भन्न पाएकोमा गर्व गर्छन् । आफुलाई कम्युनिष्ट भन्नुमा उनीहरुको छाती चौडा भएको उनीहरु संझन्छन् । आदर्श, विचार, आस्था र ब्यबहारलाई ताजगी राख्नु पर्छ भन्ने दृड मान्यता उनीहरुमाछ । मुक्ति, स्वतन्त्रता र विद्रोहको आबश्यकता उनीहरु आज पनि ठान्छन् । अर्थात धेरै मान्छेहरु आज पनि छन् वर्गप्रेमको अपार स्नेह मुटुमा साँचेर साच्चैका कम्युनिष्ट बनेर बसेकाहरु आज पनि हराएकाछन् । कम्युनिष्ट भनाउँदा पार्टीहरुमानै उनीहरु ओझेलमा रहेकाछन्, त्यतै कतै आफ्नो आस्था र आदर्शलाई जोगाएर उनीहरु बाँचेकाछन् तर थोरैछन् जो अहिले कठैबरा कम्युनिष्ट जस्ता भएर रहेकाछन् ।
शब्दजाल बाहेक लगभग सबैतिरबाट यो कम्युनिष्टपन विलिन बनेको तितो सत्यको वर्तमानमा ति कठैबरा कम्युनिष्टहरुमा आज र अहिले पनि कम्युनिष्ट बाँचेको छ, कम्युनिष्ट हाँसेको छ र कम्युनिष्ट कम्युनिष्टनै बनेर बसेको छ तर वाक्पटुक र चालबाजहरुको भीडमा उनीहरु थोरै जस्ता भएकाछन् । साँच्चै उनीहरु, कठैबरा कम्यनिष्ट ! भएर बाँचेकाछन् आफ्नो आदर्शको शिखरलाई उचालेर बसेकाछन् तर उनीहरु थोरै भएकाछन् ।
उनीहरु आज पनि आफ्नै गीत गाउँछन्, उनीहरु आफ्नै हाँसोमा मख्ख पर्छन् र मुखियाहरुको जुँगाको लडाईको रमिता देखेर वाक्क र दिक्क पनि मान्छन् तर उनीहरुलाई थाहा छ कि साँच्चैको बाँच्नु र मुर्दाको स्वरुपमा बाँचे जस्तो देखिनुको पृथकता उनीहरुलाई राम्रो थाहा छ त्यसैले यो रत्यौलीले उनीहरुलाई कुनै असर गर्दैन किनकी उनीहरु साँच्चै आफ्नो आस्थाको ओतमा रहेकाछन् । आफुहरु थोरै भएको उनीहरुलाई थाहा छ अनि थाहा छ कि सत्यको संख्या धेरै हुदैन र चाहिदैन भन्ने त्यसैले विचारको उचाईमा उनीहरु उन्नत र खास धातुले निमार्ण गरिएका मान्छेहरु हुन् त्यसैले पद, कुर्सी, कुटिलता , छलकपट र पतनबाट उनीहरु सधै टाढै बसेका हुन्छन् । संख्याको भीड भित्र उनीहरुको आवाज मधुरो होला तर सत्यको त्यो ध्वनी निरन्तर गुञ्जिरहने हुन्छ । चाकडवाजहरुको बजारमा उनीहरु नदेखिएता पनि मुक्ति र विद्रोहको झण्डा बोक्ने अग्रपंक्तिमा देखिने राता मान्छेको अधिकार उनीहरुमानै सुरक्षित रहन्छ किनकी उनीहरु आफ्नो विचारमा इस्पात हुन् अनि संग्रामको समरका जोधाहा पनि उनीहरुनै हुन् ।
आफ्नो आस्था र विचारलाई बन्दक बनाएर छलि जिब्रोको रटानले सधै समयलाई दौडाउन सक्तैन किनकी मुक्ति र विद्रोहको चेतनाको दौड त्यो भन्दा वेग र तुफानको हुन्छ । असमानता र शोषणका साङ्ला र जस्केलाहरु मुखले होइन त्यही विचारको यात्राले मात्र धुस्नो पार्न सक्छ लाग्छ आज उनीहरु कठैबरा जस्ता देखिएकाछन् तर उनीहरु भित्र बलिरहेको विद्रोहको ज्वाला विस्फोट भएका बेला आज कठैबरा कम्युनिष्टहरु लाभा बनेर बोल्नेछन् अनि कसरी सुन्ने हिम्मत गर्लान उनीहरुले जसले आफुबाट सबै थोक बन्दकी राखेर क्षणिक मूतको न्यानोमा गमक्क परेकाछन् । ति कठैबरा कम्युनिष्ट भनेका उनै मान्छेहरुहुन् जसले हिजो कम्युनिष्टलाई भरोसा गरे, कम्युनिष्टले देखाएका सपनाहरुलाई आफ्ना सपना बनाए, कम्युनिष्टका गीतलाई आफ्ना गीत भनेर गाए र आज पनि गाउँदैछन् । तर, आज कम्युनिष्ट भन्नेहरुको रमिताले ति मुक्तिकामी जनताको मन भत्केको छ, सपनाहरुमाथि ऐतिहासिक धोखा भएको छ । देश र जनताका लागि भन्ने कम्युनिष्टहरुको कुर्सी मोह र नाफा नोक्सानको हिसाब किताबले वाक्क बनेर निराश बनेका कम्युनिष्टलाई मायाँ गर्ने, कम्युनिष्टलाई विश्वास गर्ने अनि साँच्चैका कम्युनिष्ट बनेका र आज पनि बनिरहेका कठैबराको अवस्थामा पु¥याईएका जनताले विद्रोहको झण्डा उठाएको दिन आफुलाई कम्युनिष्ट भन्नेहरुको हविगत के होला ?
देशमा लोकतान्त्रिक गणतन्त्र छ भनिन्छ, कम्युनिष्ट पार्टीको सरकार छ भनिन्छ तर सामान्य एउटा कम्युनिष्टको आभाष कतै देखिदैन । ब्यवस्था परिवर्तन भएकै हो, तर जनताको ब्यथामा कुनै परिवर्तन आएन , सरकार परिवर्तन भएकै हो तर शैलीमा परिवर्तन आएन , संविधान नयाँ आएकै हो तर जनअधिकारको सम्मान भएन । के, जनताले कम्युनिष्ट पार्टीको सरकार यस्तै होस भनेर भारी मतले विजय गराएका थिए ? जनताको समस्या एउटा छ बहस हुन्छ अर्को विषयमा, गाँस,बास र कपासको समस्या जस्ताको तस्तै छ विवाद गरिन्छ गुट र उपगुटको भागबण्डामा के जनताले यही रमिता हेर्न कम्युनिष्टलाई जिताएका थिए ?नागरिकहरुको चेतना स्तरमा आएको बदलावलाई आफुलाई नेता हौँ भन्नेहरुले कसरी बुझेकाछन् त्यो उनीहरुलाईनै थाहा होला तर थाकेका मान्छेहरु उठे भने के होला त्यो पनि अब सोच्ने बेला भए जस्तो छ । जसरी पहिला धेरै गाउने गीत थियो ‘ एक जुगमा एक दिन एक चोटी आउँछ …..’
0 21 2 minutes read



