कृषि र किसान

एकिकृत माछा पालनः धान खेतमा माछा

सामान्यतया माछा सङ्गै अन्य कृषि जन्य बस्तुको पनि उत्पादन गर्नुलाई एकिकृत माछा पालन भनिन्छ । यस प्रविधिमा माछा र माछा संगै उत्पादन गर्न चाहेको बस्तुलाई एउटै समयमा उत्पादन गरिन्छ । धान खेतमा माछा पालन, केरा र माछा पालन, बंगुर संगै माछा पालन, हाँस संगै माछा पालन, कुखुरा संगै माछा पालन, पशु र माछा पालन आदि एकिकृत माछा पालनका प्रविधिहरु हुन । एकिकृत माछा पालन पद्धती अपनाएमा स्रोत र साधनको उचित उपयोग भई आर्थिक मुनाफा बढी हुने गर्दछ । बंगुर, हाँस र कुखुरा सँग माछापालन गर्दा बंगुरको दिसा अथवा हाँस र कुखराको विष्टा माछा पोखरीमा माछाको विरुवा जन्य खाद्यपदार्थ को बृद्धि विकासको (Phytoplanktons) लागि मलको काम गर्नुका साथै सिधै माछाको आहाराको रुपमा पनि प्रयोग हुन्छ जसले गर्दा माछाको कृतिम दानामा लाग्ने खर्चमा अधिकतम बचत हुन्छ । बंगुरको पाचन प्रक्रिया अपूर्ण हुने हुँदा करिब ३०% दाना पाचन प्रक्रियामा नगई दिसामा परिणत हुने गर्छ जुन माछाले सिधै आफ्नो खानाको रुपमा प्रयोग गर्दछ । त्यस्तै हाँसको विष्टाले पनि पोखरीमा मल र आहाराको काम गर्नुका साथै कुल लागतको ६०% हिस्सा ओगट्ने अनुसन्धानले बताउछ ।

धान खेतमा माछापालन :

धान खेतमा माछा पालन एकिकृत माछा पालन पद्धतीको एक प्रविधि हो । यसमा धान खेतमा माछाका भुराहरु छाडेर धान संगै माछा पनि उत्पादन गरिन्छ । यस पद्धतीमा धानलाई प्राथमिक बालीको रुपमा लगाईन्छ भने माछालाई द्वितीय बालीको रुपमा स्थापित गरिन्छ । प्राचिन कालदेखि एशियामा धान खेतमा माछा पालन गरिदै आएको भएता पनि नेपालमा भने सन् १९६४ मा मत्स्य विभागले यसको सुरुवात गरेको थियो । हाल नेपालका भक्तपुर, कास्की, चितवन, धादिङ, मकवानपुर, गोर्खा, तनहुँ, स्याङ्जा आदि जिल्लाहरुको करिब ४५ हेक्टर जमिनमा धान खेतमा माछा पालन गरिदै आएको छ ।

धान खेतमा माछापालन लाई एक नाफाजनक पद्धती मान्न सकिन्छ । यस प्रविधिमा कारणवस धान उत्पादनमा ह्रास आएपनि त्यसलाई माछाबाट सजिलै आपूर्ती गर्न सकिन्छ । अर्को पक्षबाट हेर्ने हो भने नमिनको अधिकतम उपयोग भई धान र माछा उत्पादनमा निकै बढावा ल्याउन सकिन्छ । यति मात्र नभई धान खेतमा माछा पौडदा र यताउता हिडडुल गर्दा अथवा माछाका अन्य क्रियाकलापले गर्दा धानको उत्पादकत्वमा समेत बृद्धी हुने गर्दछ । खेतमा प्रशस्त पानी हुने हुदा धानमा मुसाहरुले क्षेती पु¥याउन सक्दैनन् र माछाले धानमा लाग्ने विभिन्न रोग किरा नियन्त्रण गर्नुका साथै विभिन्न प्रजातीका झारहरुको वृद्धि विकास र शङ्खे किराहरुको क्रियाकलापमा पनि अवरोध खडा गर्दछ ।

धान खेतमा माछापालनका प्रविधिहरु :

१. स्थल छनोट :

माटोको बनोट, प्रकार र पानीको स्रोतको उपलब्धता स्थल छनोट गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा हरु हुन् । निर्माण लागत र धान खेतको उपयोग स्थल छनोटमा भर पर्र्दछ । स्थल छनोट गर्दा निरन्तर रुपमा पानी उपलब्ध भईरहने ठाउँको छनोट गर्नु पर्दछ । राम्रो पानी धारण सक्ने क्षमता भएको दोमट माटो धान खेतमा माछा पालनको लागी उपर्युक्त हुन्छ । माटोको पी।एच मान ७.० – ९.० सम्म हुनु पर्छ । छनोट गरिएको स्थल बाढी वा पहिरो जाने ठाउँ नजिक हुनुहुदैन र सुरक्षाका दृष्टिकोणले आफु बस्ने ठाउँ नजिक भएमा हेरचाह गर्न सजिलो हुन्छ ।

२. खेतको आली निर्माण :

धान खेतमा माछापालनको लागि करिब १५ से.मी. पानी धान्न सक्ने गरी खेतको आली निर्माण गर्नुपर्छ । आली निर्माण गर्दा आधारमा ५० से.मी. चौडाइ हुनुपर्छ । आलीको माथिल्लो भागको चौडाइ करिब ३० से.मी. र आलीको उचाइ ५० से.मी. हुनुपर्छ ।

३. ट्रेन्च निर्माण :

धान खेतमा पानीको सतह घटेमा, पानीको तापक्रम बढेमा र शत्रु जीवको आक्रमणको सम्भावना भएको खण्डमा माछाको सुरक्षाका लागि ट्रेन्चको निर्माण गरिन्छ । माछा हार्वेस्ट गर्दा माछा समात्ने खाल्डोको रुपमा पनि ट्रेन्चलाई प्रयोग गर्न सकिन्छ । पोखरीको आलीको बरिपरी अथवा अंग्रेजी अक्षर टी–आकारको गरी विभिन्न आकारको ट्रेन्च निर्माण गर्न सकिन्छ । यसरी ट्रेन्च निर्माण गर्दा ट्रेन्चको चौडाइ ५० से.मी. र गहिराइ पनि ५० से.मी. हुनुमर्दछ । यसरी निर्माण गरिएको ट्रेन्चको क्षेत्रफल कुल क्षेत्रफलको १०% भन्दा बढि हुनु हुदैन ।

सामान्यतया धान खेतमा माछा पालन गर्ने खेतको क्षेत्रफल २०० – २००० वर्ग मिटर हुनुपर्छ । व्यवस्थापनका हिसावले सानो क्षेत्रफल भएको खेत उपर्युक्त मानिन्छ ।

४. इन्लेट र आउटलेट :

खेतमा बढी भएको पानी निकास्न आउटलेट र पानी लगाउनको लगाउनको लागि इन्लेटको निर्माण आवश्यक पर्दछ । यि दुईवटा संरचाना एक अर्काको विपरित दिसा तिर पानीको धेरै बहाव तथा सञ्चार नहुने गरि निर्माण गर्नु पर्दछ । इन्लेट र आउटलेट बलाउदा अन्य जंगली प्रजातीका माछा र चेपागाँडाहरु नआउने गरी र राखिएका माछाका भुरा बाहिर जान नपाउने गरी बनाउनु पर्दछ ।

५. उपर्युक्त माछाका गुणहरु र प्रजाती :

सबै प्रजातीका माछा हरु धान खेतमा माछा पालनको लागी उपर्युक्त मानिदैनन् । धान खेतमा माछा पालनको लागी माछा भुरा छनोट गर्दा निम्न गुणहरु हुनु पर्छः

क. पातलो पानीको सतहमा पनि बाँच्न सक्ने,

ख. पानीको उच्च तापक्रम सहन गर्न सक्ने क्षमता भएको,

ग. न्युन घुलित अक्सिजनको मात्रामा पनि बाँच्न सक्ने,

घ. पानीको धमिलोपना सहन सक्ने,

ङ. माछाको बृद्धि दर बढि भएका,

च. एकचोटी राखिएको खेतबाट नभाग्ने

Cyprinidae, Channidae, Claridae, Heteropneustidae र Cichildae परिवार अन्तरगत पर्ने माछाका प्रजातीहरु धन खेतमा माछा पालनमो लागी उपर्युरक्त मानिन्छन् । नेपालमा भने कमन कार्प (Cyprinus carpio) र नाइल टिलापिया (Oreochromis niloticus) गरी दुई प्रजातीका माछा धान खेतको लागी प्रचलीत छन् । त्यसै गरि सिल्भर बार्ब (Puntius gonionotus) पनि एशियाका धेरै जसो देशहरुमा उत्तीकै प्रचलित छ ।

६. उपर्युक्त हुने धानका जातहरु :

धान खेतमा माछापालनको लागी ढिलो पाक्ने, नढल्ने र धेरै पानी जम्ने ठाउँमा पनि उत्पादन दिन सक्ने जातहरु उपर्युक्त हुन्छन् । नेपालमा भने मन्सुली, सावित्री, साधा–४, जानकी, हिमाली, कञ्चन, बर्षे–१, बर्षे–२ आदि जातहरु संग धान खेतमा माछा पालन गरिदै आएको छ ।

धान खेतमा माछा पालन गर्दा बेर्ना विचको दुरी २०–२५ से.मी. हुनुपर्छ जसले माछालाई खेल्न सहज गराउछ र खेतमा पानीको गहिराई १५–२५ से.मी. हुनुपर्छ ।

७. माछा भुरा राख्ने :

धान खेतमा माछा भुरा राख्ने समय माछा भुराको तौलमा भर पर्छ । ५ ग्राम भन्दा कम तौल भएको माछा भुरालाई धान रोप्ने वित्तीकै राखिन्छ भने १० ग्राम भन्दा बढी तौल भएको माछा भुरालाई भने रोपेको धान गाढा हरियो भएपछि अथवा रोपेको १०–१५ दिनपछि राख्न सकिन्छ । भुरा राख्दा ६००० गोटा प्रति हेक्टरका दरले कमन कार्प र ९००० गोटा प्रति हेक्टरका दरले नाइल टिलापिया अथवा दुईवटै प्रजातिको माछा भुरा मिसाएर पनि राख्न सकिन्छ ।

८. दाना खुवाउने :

धान खेत आफैमा माछाको आहाराका लागी चाहिचे विरुवा जन्य (Phytoplanktons) र जीव जन्य (Zooplanktons) पदार्थको धनी स्रोत हो । सप्लिमेन्टरी अथवा कृतिम दानाको प्रयोग गरेर अझैँ माछाको उत्पादन बढाउन सकिन्छ । राइस ब्रान र तोरीको पिना १ः१ को अनुपातमा मिसाई माछाको कुल तौलको २–४% प्रति दिन सप्लिमेन्टरि दानाको रुपमा प्रयोग गर्न सकिन्छ ।

सर्प र चराहरुले माछालाई अत्यधिक दुःख दिने हुँदा यिनिहरुको नियन्त्रण गर्न जरुरी छ । सर्पको लागी बाँसको चोयाको पासो प्रयोग गर्न सकिन्छ भने चरालाई थाल ठटाएर, घण्टी अथवा साइरन बजाएर वा पासोको रुपमा जाल विच्छ्याएर नियन्त्रणमा ल्याउल सकिन्छ । धान खेतमा कुनै पनि कीटनाशक विषाधि प्रयोग गर्नु हुदैन जसले गर्दा माछा मर्न सक्छन् र पानी चुहावटको समस्यालाई टार्न निकै जरुरी हुन्छ ।

९. हार्वेस्टिङ्ग र उत्पादन :

माछालाई धान काट्नु भन्दा १०–१५ दिन अगावै हार्वेस्ट गर्नुपर्छ । यसका लागी खेतको पानी निकाश गरी ट्रेन्चबाट माछा हार्वेस्ट गर्न सकिन्छ ।

माछा उत्पादन भने खेती गरिएको माछाको प्रजाती, समय, खेती गरिएको अवधि, माटोको मलिलोपना, पानीको गहिराई र प्रयोग गरिएको दानामा भर पर्दछ । नेपालमा सामान्यतया २०० देखि ५०० किलोग्राम प्रति हेक्टर उत्पादन भएको पाइन्छ ।

लेखक : गणेश नेपाली वि.एस.सी. एजी, चौथो सेमेस्टर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ,krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button