
शुक्रबार, अशोज २३, २०७७
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा रसियाले स्वीडेनसँग हार बेहोरेको छ । स्वीडेनले रसियामाथि उसकै मैदानमा २–१ को जित निकालेको हो ।
स्वीडेनको जितमा एलेक्सान्डर इसाक र म्याथियस जोहान्ससनले गोल गर्दा घरेलु टोलीका एलेक्सान्डर सोवेलेभले सान्त्वना गोल फर्काएका थिए। भिइबी एरिना रसियन फेडेरेसनमा बिहीबार राति भएको खेलमा स्वीडेनले खेलको २१औं मिनेटमा एलेक्सान्डर इसाकको गोलबाट अग्रता लिएको थियो ।
उनले सेवास्टियन लार्सनलको कर्नरलाई गोलमा परिणत गरेका थिए । एक गोलले पछि परेको घरेलु टोली रसियाले स्वीडेनलाई दवावमा राखेपनि गोल गर्न सकेन । अघिल्ला खेलहरुमा उच्च प्रदर्शन गरिरहेका कप्तान अर्टिन ज्युभाको प्रदर्शन फितलो बनेपछि उनलाई दोस्रो हाफमा सब्सिच्युट गरिएको थियो ।
दोस्रो हाफमा पनि स्वीडेनलाई दवावमा राखेपनि रसियाले ७३औं मिनेटमा दोस्रो गोल खान पुग्यो । क्रिस्टोफोर ओल्सनको पासमा म्याथियस जोहान्ससनले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारेका थिए ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट एलेक्सान्डर सोवेलेभले डेनिस चेरेसेभको पासमा गोल गर्दै गोल अन्तर घटाएपनि रसियालाई खेलमा फर्कन निकै ढिला भइसक्दा घरेलु मैदानमा २–१ ले पराजित हुन पुग्यो ।
मैत्रीपुर्ण खेलपछि लिग ‘बी’ ३ मा रहेको रसियाले टर्कीसँग १२ अक्टोवरमा तथा हंगेरीसँग १५ अक्टोवरमा खेल्नेछ । लिग ‘ए’ ३ मा रहेको स्वीडेनले ११ अक्टोवरमा क्रोएसियाको तथा १५ अक्टोवरमा पोर्चुगलको सामना गर्नेछ ।hamrokhelkud/from



