मूल खबर

नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव

राष्ट्रिय जनमोर्चाको सम्मेलन शुरू
२५ चैत्र २०७७
यमलाल भुसाल, बुटवल ।

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन मंगलवारदेखि बुटवलमा शुरू भएको छ ।सम्मेलनको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले पुनःस्थापित संसद् फेरि विघटन गर्ने षड्यन्त्र शुरु भएको बताउनुभएको छ । अध्यक्ष केसीले संसद्लाई बिजनेस नदिएर कामविहीन बनाउन खोजेको आरोप पनि लगाउनुभयो ।

उहाँले आफैंले विघटन गरेको संसद्लाई बिजनेस दिन अप्ठ्यारो भएमा नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।अदालतको फैसला आउँदा साथ राजीनामा दिनुपर्नेमा प्रधानमन्त्रीले उल्टै मुद्दा जिते जस्तो गरी हिँड्नु लज्जास्पद भएको टिप्पणी अध्यक्ष केसीले गर्नुभयोे । मुलुकमा प्राप्त उपलब्धि अझै पनि गुम्न सक्ने खतरा भएको दाबी गर्दै उहाँले अब बन्ने सरकारको नेतृत्व पनि विदेशी शक्ति केन्द्रहरुको चाहनामा बन्ने संकेत गर्नुभयो । ‘कम्फर्ट सरकारको कुरा बाहिर आइरहेको छ । यो भनेको भारत अमेरिका तथा चीनको समर्थनमा बन्ने सरकार हो ।’ –केसीले दाबी गर्नुभयो ।

‘नेपाली जनताले चाहेको सरकार होइन, विदेशी दलालहरुले चाहेको सरकार बनाउने प्रयास भइरहेको छ । आफूलाई राष्ट्रवादी भन्नेहरुले समेत कम्फर्ट सरकारको नाममा विदेशी दलालहरुकोे पक्षमा अवकालत भइरहेको उहाँको आरोप रहेको छ।असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गर्ने ओलीले राजीनामा दिएर वामपन्थीहरुको संयुक्त सरकार बनाउनुको विकल्प नरहेको भन्दैै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले संघीयता देशको भौगोलिक, राजनीतिक तथा आर्थिक हिसाबले पनि असफल भइसकेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको अध्यक्षतामा सम्मेलनको खुला सत्रमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोन्नुपरेको बताउनुभयो । अनियमितता, भ्रष्टाचार, महँगीले सीमा नाघेको उल्लेख गर्दै हत्याहिंसाका घटनामा संलग्नहरुलाई सरकारले कारबाही गर्न नसकेको उहाँले बताउनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनले नयां नेतृत्व चयन गर्नेछ । सम्मेलनमा ७१ जिल्लाबाट ३ बढीको प्रतिनिधिन्व रहेको सो पार्टीले जनाएको छ ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button