खबर

सांसदमाथि अनुचित रुपमा हमला गर्नु प्रचण्डको प्रतिगामी कार्य हो : मन्त्री साह

२५ चैत्र २०७७
न्युज अफ नेपाल, काठमाडौं ।

सहरी विकास मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रले आफूलाई सांसद पदबाट हटाउनु लोकतन्त्रको उपहास भएको बताएका छन् ।साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्णय निरंकुशताको पराकाष्ठा भएको बताएका छन् ।

सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूतिएसँगै माओवादी केन्द्रबाट सांसद रहेका साहसहित गृहमन्त्री रामबहादुर थापा, उर्जा मन्त्री टोपबहादुर रायमाझी लगायतका नेता एमालेमा प्रवेश गरेका थिए । आफ्ना सांसदले पार्टी परित्याग गरेपछि माओवादी केन्द्रले मंगलबार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारवाही गर्दै सांसद पदबाटै हटाउन सचिवालयमा पत्रचार गरेको थियो।

यसैप्रति टिप्पणी गर्दै साहले लेखेका छन् ,‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो । आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन । निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद् पुन:स्थापना पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन् । अर्थात् रूपमा अहिलेकै संसद् सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानुनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैमा प्रतिगामी कार्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button