‘समाचार र विचारको
साझा चौतारी’






सिन्धुलीका एक गाई किसानका कारण सिंगो गाउँ नै बदलियो (सफलताको कथा)


मनोज श्रेष्ठ

काठमाडौँ । यादव प्रसाद न्यौपाने, वर्ष ५०। सिन्धुली जिल्ला राजपानीका सफल दुग्ध व्यवसायी। कुनै बेला उनको परिचय अर्के थियो। घरमा दुई–तीनवटा भैसी भएका कारण उनको कुनै सोच थिएन, गाई पाल्ने।

तर, २०६१ सालमा भारतको उत्तर प्रदेशस्थित अयोध्यापुरी धामको भ्रमण गर्ने क्रममा उनको सोच बदलियो। न्यौपानेले अयोध्यामा पहिलो पल्ट गाईपालन पनि व्यवस्थित रुपमा हुन्छ भन्ने पत्तो पाए। त्यहाँ गाईको दुध मात्र होइन, मुत्र पनि पञ्चाम्रितमा प्रयोग भएको र गोबर घरघरमा लेपिएको देखेपछि उनको सोचमा परिवर्तन आयो। उनले अयोध्यामै गाईको दुधको विविध विशेषता बारे थाहा पाए।

केही समयको अयोध्या बसाईपछि उनी घर फर्किए। गाउँमा सँधै दुधको अभाव। पैसा धेरै तिर्छुभन्दा पनि नपाईने। फेरि भैसी छिट्टै थाक्ने समस्याले उनलाई लामो समय सतायो। यसबाट आजित भएका न्यौपानेलाई अयोध्या जस्तै नभए पनि सानै रुपमा किन आफ्नै घरबाट गाईपालन सुरु नगर्ने सोच पलायो।

उनले गाउँका कसैसँग सर–सल्लाह नगरि भैसी हटाएर तुरुन्तै ५ वटा गाई किनेर ल्याए। घरमा पाँच वटा गाई पाल्दा उनलाई निकै समस्या भयो। गाईको दाना, चोकर, भूस र पराल किन्दा–किन्दै हत्तु।

यसपछि उनलाई लाग्यो– पाँचवटा पाले पनि उत्तिकै मिहिनेत गर्नुपर्ने, ३० वटा पाल्दा पनि उस्तै त होला नि? उनले घर नजिकैको जग्गामा ३० वटा गाई अट्ने गरि २ वटा टहरा बनाए। पहिले त उनलाई गाउँलेहरूले पागल भने। के गरेको भनेर खप्नु गरे। उनी हरेक पटक दुधभात खान यस्तो गरेको भन्थे। पन्छिन्थे।

तर, अहिले राजपानी गाउँ मात्र होइन, वरपरका छिमेकहरूले पनि गाई पालन गरेका छन्। यहाँ घरैपिच्छे गाई छ। ९५ प्रतिशत घरमा गाई छ। ‘राजापानी र गयाटारमा गरेर १५–१६ वटा गाई फार्म छन्। मेरै घर वरिपरि ५ वटा गाईको फार्म हाउस खुलिसकेको छ,’ न्यौपानेले हास्दै हलोखबरलाई भने, ‘पहिले मलाई पागल भन्थे। अहिले सबै पागल भएका छन्।’

गाई पाल्ने उनको अभियानपछि वरिपरिका गाउँले पनि उत्साहित भएका छन्। उनीसँग सरसल्लाह लिनेको भिड लाग्ने गरेको छ।

न्यौपानेले यसबीचमा दुःख निकै बेहोरे। सुरुवाती दिनमा राती दोहेर गएको गाई बिहान लडिरहेको देख्दा उनको मुटु चुडिन्थ्यो। ‘सुरुमा पाँच वटा घरमा मरे। निकै गाह्रो भयो,’ तर पनि हिम्मत नहारेका न्यौपाने भन्छन्, ‘२०७२ सालमा न्यौपाने गाईपालन केन्द्रको सुरुवात गर्दा २० लाख खर्चेको थिए।’

अहिले उनको फार्म हाउसमा १८–२० वटा गाई छन्। उनी सबै खर्च कटाएर महिनामा एकदेखि डेढ लाखसम्म बच्ने बताउँछन्। उनले गाई पालन गर्ने क्रममा गाउँको सबैको दुध किनेर बेच्ने दुध संकलन केन्द्र नै थालेका थिए। पहिले १२ लिटर दुध बेच्ने उनी अहिले जिल्लाभरी १५ सय लिटर दुध बेच्ने गर्छन।

‘राजपानी, ढकाल गाउँ, दमार, आले, मिलन चौक, गयाटार, बोजे, खटारबाट दुध संकल्न गर्ने गरेका छौं। यहाँको दुध कोशेली बेरीसम्म पुग्छ,’ उनी गर्वसाथ भन्छन्।
गाई पाल्ने उनको अभियानपछि वरिपरिका गाउँले पनि उत्साहित भएका छन्। उनीसँग सरसल्लाह लिनेको भिड लाग्ने गरेको छ।

कोरोना महामारीका कारण हाल उनको व्यवसायमा केही चुनौती थपिएको छ। गाईलाई आवश्यक पर्ने आहार बेलामा नपाउँदा दुध उत्पादनमा केही समस्या देखिएको छ। ‘पैसा हातमा छ तर सामान पाइदैन,’ उनी दुःखेसो पोख्छन्। न्यौपानेको परिवारमा ३ छोरी र एक छोरा छन्। उनले आफ्नो छोरालाई पशु विज्ञ बनाउन भेटनरी पढाएका छन्। अहिले उनको छोरा ३ वर्षे भेटनरी कोर्स गरेर रिजल्टको पखाईमा छन्।

उनी आफूलाई गाईपालकको रुपमा सफल बनाउन विभिन्न निकायको योगदान भएको बताउँछन्। यसमा बागमति प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्र्तगतको कार्यलय भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिन्धुलीको विशेष सहयोग रहेको उनको भनाई छ। पशु विज्ञ केन्द्रमा रहेका डाक्टर अर्जुन थापा र नवराज थापाले ठूलो सहयोग गरेको उनी बताउँछन्। ‘गाईलाई औषधी उपचार गराउने, बीमा लगायत अन्य आर्थिक सहयोग पशु सेवा विज्ञ केन्द्रले गरेको छ,’ उनी भन्छन्।

उनी आफ्नो केन्द्रलाई देशकै नमुना बनाउने योजनामा छन्। यसका लागि उनले अरु योजना पनि बनाएका छन्।halokhabar/from

प्रतिकृया दिनुहोस्