
स्याङ्जा, असार १७ गते । मौरीपालनको हबका रूपमा विकास हुँदै गएको फेदीखोलमा गाउँपालिकामा मौरीको नेटवर्कमार्फत अनुगमन गर्ने गरिएको छ । भूमिसेवा नेटवर्क बी डट भूमि डट अर्थमार्फत पालिकाबाटै मौरीको अनुगमन गर्ने गरिएको हो । आँधीखोलाका मदन पौडेलले निर्माण गरेको अनलाइन पद्धतिलाई पालिकाले कार्यान्वयनमा ल्याएको हो ।
यहाँ पालिकाले कृषकलाई अनुदानमा दिएको मौरीको घारमा क्युआर जोडेर अनलाइन प्रणालीबाट मौरीबारे जानकारी लिने गरिएको हो। कृषकले खिचेर पठाएको फोटो र पालिकाको अनुगमनका क्रममा क्युआरबाट मौरीको घार कहाँ छ ? अवस्था कस्तो छ ? रोग लागेको छ कि छैन ? भन्ने पत्ता लाग्ने छ ।
यस्तै उत्पादन कस्तो छ ? गोला फुटाउने वा नफुटाउने भन्ने बारेमा समेत भूमि नेटवर्कबाट पत्ता लागाउन सकिने पालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । उहाँका अनुसार कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले ७० प्रतिशत अनुदानमा मौरी दिएर पालिकालाई मौरी पालिकाका रूपमा विकास गरेको छ ।
यहाँ पालिकाले एक हजार मौरीका घार कृषकलाई अनुदानमा दिएको छ भने कृषकले आफैँ खरिद गरेर दुई हजारभन्दा घारमा कृषकले मौरी पालेका छन् ।
यहाँ एक वर्षपहिला प्रतिकिसान २५ घार मौरी दिएर २४ जनाको फेदीखोला सेरेना मौरी समूह बनाएर सामूहिक मौरीपालन थालिएको थियो । अहिले चार वडा समूहमार्फत १२० जना कृषकले व्यावसायिक मौरीपालन गरेका छन् । अनुकूल हावापानी, प्रशस्त वनस्पति र चरण क्षेत्र रहेको सेरेना समूहमा ७८५ घरमा मौरीपालन गरिएको छ ।
मौरीपालन व्यवसायलाई प्रविधिमैत्री र नवप्रवर्तनात्मक बनाउँदै ग्रामीण आयआर्जन, स्वरोजगार र उद्यमशीलताको आधार बनाउन खोजेको पालिका अध्यक्ष सुवेदीले बताउनुभयो । सुवेदीले एक किसानले कम्तीमा एक घार मौरीपालन गर्ने नीति ल्याउन थालेको बताउनुभयो ।
यहाँ पालिकाले कृषकलाई अनुदानमा मौरी, नौ विद्यालयमा एक विद्याय एक उद्यम कार्यक्रम अन्तर्गत पठनपाठनमा समेत जोडेको छ ।
यस्तै पालिकाले सहकारीमार्फत मौरीसहितको घार उद्योग स्थापना गरेको छ भने मौरीजन्य उत्पादनको बजारीकरण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा मौरीपालन कृषकको उत्पादन वृद्धि गर्ने लक्ष्यसहित कोसेली घर र चरन विकासको कार्य गरेको छ ।
यहाँ मौरीपालक किसान तथा होमस्टे सञ्चालन खरीकुमारी गुरुङले ४० घार मौरीपालन गरेर एकैवर्षमा ४० घार मौरी बिक्री गर्नुका साथै दुई सय केजी मह र महको चाका बेचेर आठ लाख कमाएको बताउनुभयो ।
मौरीपालन कृषक समूहका अध्यक्ष उजिरबहादुर केसीले दुःख गरेका कृषक खाली कोही नभएको र पालिकाभित्रको आयआर्जनको मुख्य स्रोत मौरीपालन भएको बताउनुभयो ।गोरखापत्र अनलाइन



