खेलकुद

सानदार जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो

मंसिर ६, २०७८
एजेन्सी – ग्रानडामाथि सानदार जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली ग्रानडालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै रियल शीर्षस्थानमा फर्किएको हो ।

रियलले सेभिया र रियल सोसिडाडलाई पछि पारेको हो । रियलको फराकिलो जितमा मार्काे एसेन्सियो, नाँचो फर्नान्डेस, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले समान एक गोल गरे । घरेलु टोलीका लुइस सुआरेजले एक गोल फर्काए ।

ग्रानडामा आइतबार राति भएको खेलको १९औं मिनेटमा मार्काे एसेन्सियाको गोलबाट रियलले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । २५औं मिनेटमा टोनी क्रुसकै पासमा नाँचो फर्नान्डेसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

३४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउँदै ग्रानडालाई खेलमा फर्काउने संकेत दिए । उनले म्याक्सिमी गोनालोन्सको पासलाई सदुपयोग गरेका थिए । ५६औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए । उनले लुका मोड्रिचको पासमा गोल गरेका थिए ।

घरेलु टोली ग्रानडा ६७औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । भिनिसियसमाथि फउल गरेपछि रेफ्रीले मोन्चुलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । त्यसमै असन्तुष्टि जनाएपछि रेफ्रीले प्रशिक्षक रोबर्ट मोरेनोलाई पनि रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाएपछि खेल केही बेर तनावग्रस्त बनेको थियो ।

ग्रानडा १० खेलाडीमा समेटिएपछि रियललाई जित निकाल्न थप सहज बनेको थियो । ७६औं मिनेटमा फर्लान्ड मेन्डीले गोल गर्दै रियल म्याड्रिडको फराकिलो जित पक्का गरे । उनले क्यासमिरोको पासलाई सदुपयोग गरेका थिए ।

जितपछि शीर्षस्थानमा उक्लिएको रियलको १३ खेलबाट ३० अंक पुगेको छ । दोस्रो र तेस्रो स्थानमा रहेको सेभिया र रियल सोसिडाडको समान २८ अंक छ । पराजित ग्रानडा ११ अंक जोडेर १८औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button