खेलकुद

मनाङ ‘निर्माणाधीन’ पोखरा रंगशालामा दोस्रो खेल खेल्दै

पुस १७, २०७८
विजय नेपाली, पोखरा

मनाङ मर्स्याङ्दी क्लबले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण अन्तर्गत आज (शनिबार) पोखरामा खेल्दैछ । घरेलु टोली मनाङले पोखरामा बिग्रेड ब्वाइज क्लब (बिबिसी) लाई स्वागत गर्दैछ ।

एएफसी कप छनोटको सम्भावना जीवित राख्नका लागि मनाङलाई खेल जित्नै पर्ने अवस्थामा छ । छैटौं चरणको खेलमा मछिन्द्र फुटबल क्लबसँग १–० ले पराजित भएपछि मनाङका लागि एएफसी कप छनोटको यात्रा कठिन बनेको थियो ।

मनाङ १३ अंकसहित दोस्रो स्थानमा छ । मछिन्द्रले आइतबार दशरथ रंगशालामा नेपाल पुलिस क्लबको सामना गर्दैछ । मनाङले शनिबारको खेल जितेको खण्डमा आइतबार मात्र एएफसी कप छनोट खेल्ने टोलीको टुंगो लाग्नेछ । मनाङ र मछिन्द्र मात्र छनोटको दौडमा छन् । एएफसी क्लब लाइसेन्स प्राप्त ४ क्लब प्राप्त क्लबले मात्र खेल्न पाउने एएफसी कपको छनोटबाट त्रिभुवन आर्मी क्लब र एपिएफ फुटबल क्लब यसअघि नै बाहिरिसकेका छन् ।

मनाङलाई जस्तै बिबिसीलाई पनि शनिबारको खेल महत्वपूर्ण छ । टोली ५ अंकका साथ १२ औं स्थानमा छ । रेलिगेसन दबाब कम गराउनका लागि पनि बिबिसीका लागि मनाङविरुद्धको खेल महत्त्वपूर्ण हुनेछ । केहि प्रतियोगिता बिर्सनलायक रहेपनि मनाङका लागि पोखरा भाग्यमानी रहँदै आएको छ । पाँचौं चरणमा पुलिसविरुद्धको खेल पनि मनाङले पोखरामा ३–१ ले जित हासिल गरेको थियो ।

मनाङका मुख्य प्रशिक्षक फुजा तोपेले घरेलु मैदानको फाइदा लिने बताए । उनले शुक्रबार पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको प्रि म्याच कन्फिरेन्समा बोल्दै घरको फाइदा भरपुर लिने बताए । ‘यो हाम्रो घर हो । लिगको इतिहासमा पहिलो पटक पोखरामा भएको लिगको खेलमा पनि हामीले जित्यौँ । अब पनि जित्ने छौं’ उनले भने,‘ खेल हेरेर हामीले रणनीति बनाउने छौं ।’

बिबिसीका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले पोखरामा खेल जितका लागि खेल्ने बताए । उनले आफूहरु पनि रेलिगेनसबाट जोगिन चाहेकाले अबका खेलमा सोहि अनुसारको रणनीति बनाएर खेल्ने बताए । ‘हामी जितका लागि खेल्नेछौ । मनाङसंग खेल्दा पक्कैपनि गाह्रो हुनेनै छ । तरपनि हामी खेल्ने छौं । जित हातपारेनौं भनेपनि बराबरी खेल्ने छौं ।’

पोखराको मैदान सोचेजस्तो राम्रो छैन- मनाङका कप्तान अञ्जन विष्ट

मनाङका कप्तान अञ्जन विष्टले पोखराको मैदान सोचेजस्तो नभएको बताए । उनले प्रतियोगिता खेल्दा निकै कठिन भएको बताए । ‘पोखराको मैदान सोचेजस्तो छैन । मलाई मात्र होइन सबै खेलाडीलाई यहि अनुभव भएको ठान्छु’ उनले भने,‘ अब मैदानमा काम हुँदै रहेछ आशा छ भोलिको खेलमा केहि सहज हुनेछ ।’

अन्जनले पोखरामा जितका लागि टिम तयारी अवस्थामा रहेको समेत बताए । उनले पोखरामा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लदै एएफसी कप छनोट खेल्ने योजना रहेको सुनाए, ‘मछिन्द्रसंग हार व्यहोरेको भन्दैमा निराशा भएका छैनौँ । हाम्रो एएफसीको सम्भावना अझैं पनि छ । अबका खेलमा नतिजा निकालेर अघि बढ्नेछौँ ।’

पोखरा रंगशालामा निमार्णाधीन अवस्थाकै फुटबल एरिनामा ए डिभिजन लिगका खेल हुँदैछ । पोखरामा लिगका ३ खेल हुने भएको हो । मनाङले पोखरामा ३ मध्ये १ खेल खेलिसकेको छ । पहिलो खेलमा पुलिसलाई ३-१ ले हराएको मनाङले बिबिसी सहित अर्को साता च्यासल युथ क्लबसंग खेल्दैछ । मनाङले लिगको आठौं चरणको खेलमा च्यासलसँग पोखरामै खेल्नेछ । लिगका खेल हुने भनिएपछि बाहिरी सजावटका काम गरिएको थियो । तरपनि खेलाडी तथा रेफ्रीका लागि चेन्जिङ रुम, शौचालय केहि पनि छैन । निमार्णाधीन अवस्थाकै मैदानमा लिग चलिरहेको छ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा समेत महिला फुटबल खेलाउँदा वरीपरी बारेर खेलाइएको थियो । उक्त समय तिव्र गतिमा काम भएपनि अहिले भने काम कछुवा गतिमा अघि बढेको छ । जसका कारण कास्की जिल्ला फुटबल संघलाई निकै सकस परिरहेको छ । पोखरामा ठूला खेलको आयोजना हुने समय हुँदा समेत पूर्णरुपमा काम नसकिदाँ पोखराले अवसरहरु गुमाइराखेको छ । पोखरामा १७ हजार ५ सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्ण हुँदै छ ।

दशरथ रंगशालामा २ खेल

सातौं चरणकै दुई खेल दशरथ रंगशलामा हुँदैछन् । दिउँसो १ बजे सुरु हुने खेलमा दुई ललितपुरका टोली जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४:४५ बजे सुरु हुने खेलमा अपराजित संकटा क्लबले रेलिगेसन क्षेत्रमा रहेको च्यासल युथ क्लबको सामना गर्नेछ ।

जावलाखेल पछिल्लो ३ खेलमा अपराजित रहेको छ । टोलीले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोडेको छ । यद्दपी टोलीको सुरुवात भने कमजोर रहेको थियो । जावलाखेले सुरुका ३ खेल लगातार गुमाएको थियो । थ्री स्टार पछि पछिल्लो ४ खेलमा अपराजित रहेको छ । तर टोलीले लिगका ६ खेलमा १ खेलमा मात्र जित, १ हार र ४ खेलमा बराबरीमा चित्त बुझाउनुपरेको छ । थ्री स्टार ७ अंकसहित आठौं र समान अंकका साथ जावलाखेल नवौं स्थानमा छ ।

संकटाले १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । अघिल्ला ६ मध्ये ३ खेलमा जित निकालेको संकटाले त्यति नै खेलमा बराबरी गरेको छ । शीर्षस्थानको मछिन्द्र, संकटा र त्रिभुवन आर्मी फुटबल क्लब मात्र जारी लिगमा अपराजित टोली हुन् । च्यासलले भने पछिल्ला ४ खेलमा जित निकाल्न सकेको छैन । ४ अंकसहित १३ औं स्थानमा रहेको च्यासलले पछिल्ला ४ खेलमा १ बराबरी र लगातार ३ खेलमा हार बेहोरकेो छ । रेलिगेसन क्षेत्रबाट माथि उक्लनका लागि पनि च्यासलका लागि संकटासँगको खेल महत्त्वपूर्ण रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button