
१८ पुस २०७८
चौतारी पोष्ट अनलाइन
मागुरमाडी । प्रेस क्लब मेचीनगरको सातौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर ९ स्थित मागुरमाडी सामुदायिक वन बिट नं १ को सिमसार क्षेत्रमा भब्य कार्यक्रमका बीच साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं १ अध्यक्ष लिलाबल्लव घिमिरेले उद्घाटन गरेका थिए । सभामा बोल्दै प्रमुख अतिथि घिमिरेले पत्रकारहरुले अब प्रविधिमैत्री बन्दै समयानुकुल बन्न सक्नु पर्ने धारणा राखे ।
पत्रकार बनेर दाम र नाम दुबै प्राप्त नहुने भन्दै घिमिरेले नाम, प्रतिष्ठा र सामाजिक उत्तरदायित्व प्राप्त गर्ने किसिमको पत्रकारितामा लाग्न सुझाव दिए । पछिल्लो समय पत्रकारले समाचार भन्दापनि समाचारले पत्रकार खोज्दै आउन थालेको उनको टिप्पणी थियो ।
पछिल्लो समय पत्रकारहरुको सक्रियता घट्दै गइरहेको छ उनले भने, –‘प्रहरीले जिमेलमा पठाएको समाचार अपडेट गरेर मात्र नबसौं, सामाचारका विषयवस्तु र जनजीवनसँग जोडिएको विषयमा कलम चलाउँ ।’
प्रमुख अतिथि घिमिरेले प्रेस क्लब मेचीनगरलाई पत्रकार महासंघ प्रदेश समितिको तर्फबाट सहयोग प्राप्त हुने प्रतिवद्धतासमेत ब्यक्त गरे ।
सभामा विशिष्ठ अतिथि महासंघ झापा अध्यक्ष एकराज गिरीले पत्रकारिताको मूल्य, मान्यता र संस्कृती बमोजिम चल्नु पर्ने धारणा राखे ।
विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले स्थानीय सरकारले पत्रकारहरुको उत्थानमा सदैव सहयोग पुर्याउने बताइन् ।
कार्यक्रममा प्रेस सेन्टर झापा संयोजक झुलन रेग्मीले पत्रकारिता क्षेत्रमा निषेधको राजनीति हावी हुने क्रम अझै नरोकिएकोे बताउँदै त्यस्ता चुनौतीहरुलाई सामना गर्दै क्लबलाई आगामी दिनमा समेत सबैको साझा र सबैले अपनत्व हुने किसिमको निर्माण गर्दै लानु पर्ने सुझाव दिए ।
अतिथि मेचीनगर ९ का अध्यक्ष गोपाल खड्काले प्रेस क्लबको साधारण सभामार्फत आम पत्रकारहरुलाई मागुरमाडी सामुदायिक बनको सिमसार क्षेत्रमा स्वागत गर्न पाएकोमा खुःशी ब्यक्त गर्दै उनले स्थानीय क्षेत्रको प्रवद्र्धन तथा स्थानीयका समस्याका विषयमा कलम चलाईदिन पत्रकारहरुमा आग्रह गरे ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पर्वत पोर्तेलले बनभोजसहितको साधारण सभा आयोजना गरेमा क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा पत्रकारहरुको लेखन सिप विकास गराउन तालिम तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गर्न आग्रह गरे ।
सो अवसरमा सभाका प्रमुख अतिथि, विशिष्ट अतिथिलगायतका क्लबका पदाधिकारीहरुलाई मागुरमाडी सामुदायिक बन कार्यसमितिको तर्फबाट सम्मानसमेत गरिएको थियो । आफ्नो स्थानीय क्षेत्रमा कार्यक्रम आयोजना गरेकोमा सामुदायिक बन अध्यक्ष अमरबहादुर लिम्बूले आभार प्रकट गर्दै पर्यटकीय संभावना बोकेका स्थानीय क्षेत्रको प्रचारप्रसार गरी दिन पत्रकारहरुलाई आग्रह गरे ।
सभामा कार्यसमितिको तर्फबाट तीन वटा बेग्लाबेग्लै प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष लक्ष्मी उप्रेतीले कार्यसमितितर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै क्लबका विगतका गतिविधि तथा आगामी दिनका योजनाहरु प्रस्तुत गरे । उनले क्लबको भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्न समितिको प्रस्ताव गरे । साथै दिवंगत सञ्चारकर्मी र उनीहरुका परिवारका नाममा ‘सञ्चारकर्मी तथा परिवार स्मृति स्तम्भ’ मेचीनगर भित्रै निर्माण गर्नसमेत प्रस्ताव गरेका थिए ।
सभामा क्लबका सचिव जीआर धितालले सांगठनिक तथा क्लबकी कोषाध्यक्ष रीता दाहालले आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरका थिए ।
सदस्य उमेश खतिवडाले स्वागत गरेको उद्घाटन सत्रको सभापतित्व अध्यक्ष उप्रेतीले गरेका थिए ।
सभाको बन्द शत्रले भवन निर्माण गर्नका लागि जग्गा व्यवस्थापन गर्न समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिको संयोजकमा पत्रकार पर्वत पोर्तेल, सदस्यहरुमा पत्रकार झुलन रेग्मी तथा प्रबिन अधिकारीलाई चयन गरेको छ । समितिलाई पूर्णता दिन क्लबको कार्यसमितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
त्यस्तै बन्दशत्रमा मेचीनगरमा रहेका पत्रकारहरुको पेशागत क्षमता विकासका लागि ‘समाचार लेखन तथा रिर्पोटिङ्ग’ विषयक तालिम तथा अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गर्ने निर्णयसमेत भएको छ । बन्दशत्रको माइन्युट लेखन समितिमा पत्रकार किशोर उपरकोटी तथा प्रबिन अधिकारी रहेका थिए । बन्दशत्रको सभापतित्व क्लबका अध्यक्ष उप्रेतीले गरेका थिए । बन्दशत्रमा क्लबका पदाधिकारीसहित साधारण सदस्यहरु सहभागी थिए ।
साधारण सभाको अवसरमा आयोजित वनभोज कार्यक्रममा आयोजना गरिएको खेल प्रतियोगितामा क्लबकी सदस्य विनिशा शर्माले विजयी बन्दै उपहार प्राप्त गरिन् । पुरस्कारको सौजन्य क्लबकी कोषाध्यक्ष रीता दाहालले गरेकी थिइन् ।
साधारण सभामा मेचीनगरका ५० बढी सञ्चारकर्मीको सहभागीता रहेको थियो । सभाको सञ्चालन सचिव धितालले गरेका थिए ।



