खबर

थारू बस्तीमा माघीको रौनक

राँझा ।

बाँके र बर्दियाका थारू बस्तीमा माघीको रौनक सुरु भएको छ । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीको तयारीका लागि समुदायका सबै जुटेका छन् । थारू समुदायका युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटीलगायत सामग्री तयार पार्न व्यस्त रहेका छन् भने पुरुष माघीका लागि मासुको जोहो गर्न जुटेको थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारूले बताउनुभयो ।

उहाँका अनुसार, थारू समुदायले माघीलाई विशेष पर्वका रूपमा लिने गर्दछन् । माघीकै अवसरमा अर्थात् माघे सङ्क्रान्तिका दिन थारू समुदायमा महत्वपूर्ण निर्णय गर्ने गरिन्छ । अधिकांश थारू बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारू युवतीलाई भ्याइ–नभ्याई छ ।

करिब एक हप्तासम्म मनाइने माघी पर्वअन्तर्गत थारू समुदायले विभिन्न क्रियाकलाप गरी मनाउँछन् । माघीकै लागि खानपिनको जोहो केही दिनअघि नै गर्नुपर्ने भएकाले धान कुटाउने, ढिक्री खान पीठो पिसाउने, मासुको व्यवस्था गर्ने, नयाँ कपडा किन्ने, घरआँगन सरसफाइ तथा लिपपोत गर्ने, नाचगानका लागि बाजागाजा तयारी गर्ने काम भइरहेको थारूको भनाइ छ ।

नयाँ वर्षका रूपमा मनाउने यो पर्वमा थारू समुदायले एकापसमा सद्भाव प्रकट गर्ने गरेको थारू अगुवा एवम् राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले बताउनुभयो । उहाँले हरेक समुदायको जस्तै थारू समुदायको पनि कला, संस्कृति संरक्षण हुन जरुरी रहेको बताउँदै राप्तीसोनारी गाउँपालिकाले थारूलगायत सबै समुदायलाई समान रुपले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button