
एजेन्सी – सर्वाधिक सफल इजिप्टलाई हराउँदै सेनेगल पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन बनेको छ । सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै पहिलोपटक च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित समयमा कुनै गोल निस्नक नसकेपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा सेनेगलका कालिडोउ काउलीवेली, एब्डोउ डियालो, एहमाडोउ बाम्वा डिइङ साडियो मानेले गोल गरे । तेस्रो पेनाल्टीमा बोउना सार चुकेका थिए । इजिप्टका जिजो र मारवान हान्डीले गोल गर्न सफल हुदा दोस्रो पेनाल्टीमा मोहम्मेद एब्डेलमोनेम र चौथो पेनाल्टीमा मोहनाद लासिन चुकेका थिए ।
त्यसअघि ओम्निस्पोर्ट्स पउल याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा नै साडियो माने पेनाल्टीमा चुक्दा सेनेगलले अग्रता लिने अवसर खेर फालेको थियो ।
सालिओउ सिसलाई पेनाल्टी बक्समा मोहम्मेद एब्डेलमोनेमले फउल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी प्रदान गरेको थियो । तर मानेको पेनाल्टीलाई इजिप्टका गोलरक्षक मोहमेद एवाउगवालले बचाएका थिए । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल टाइ ब्रेकरमा लम्बिएको थियो ।
सेनेगलले तेस्रोपटक फाइनल खेल्दै पहिलोपटक च्याम्पियन बनेको हो । सन् २००२ मा क्यामरुनसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको सेनेगल सन् २०१९ मा अल्जेरियासँग १–० ले पराजित हुँदै उपाधिबाट वञ्चित बन्नुपरेको थियो । तर यसपटक सेनेगल च्याम्पियन बन्न सफल भयो ।
यता, सेनेगलसँगको हारसँगै इजिप्टको आठौंपटक च्याम्पियन बन्ने सपना अधुरै रह्यो । इजिप्टले १० पटक फाइनल खेल्दा ७ पटक उपाधि जितेको छ । सन् १९५७, १९५९, १९८६, १९९८, २००६, २००८ र २०१० मा च्याम्पियन बन्न सफल भएको इजिप्ट १९६२, २०१७ र यसपटक उपाधिबाट वञ्चित बन्यो ।
९ जनवरीदेखि क्यामरुनमा सुरु भएको अफ्रिका कप अफ नेसन्समा २४ टोलीको सहभागिता रहेको थियो । हरेक टोलीका शीर्ष दुई टोलीसँगै उत्कृष्ट तेस्रो हुने चार टोलीले नकआउट चरणमा स्थान बनाएको थियो ।
सेनेगलको च्याम्पियन यात्रा
समूह चरण
सेनेगलविरुद्ध जिम्वावे (१–०) को जित
सेनेगलविरुद्ध गिनिया (०–०) को बराबरी
सेनेगलविरुद्ध मालावी (०–०) को बराबरी
प्रि–क्वाटरफाइनल
सेनेगलविरुद्ध केप भार्डे (२–०) को जित
क्वाटरफाइनल
सेनेगलविरुद्ध इक्वेटोरियल गिनिया (३–१) को जित
सेमिफाइनल
सेनेगलविरुद्ध बुर्किना फासो (३–१) को जित
फाइनल
इजिप्टमाथि टाइब्रेकरमा ४–२ को जित,hamrokhelkud/from



