खबर

कांग्रेस नेता भन्छन् : निर्वाचनको एक महिनाअघि नै उम्मेदवार छनौट गरौं

रामकृष्ण चापागाईं
काठमाडौं ।

सरकारले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेसँगै कांग्रेस नेताहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रताका साथ अघि बढाउन पूरै पार्टीपंक्ति तत्काल सक्रिय हुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्ने भन्दै उनीहरूले अघिल्लो निर्वाचनको पाठ सिकेर निर्वाचन तयारी थाल्नुपर्ने बताएका छन् ।

निर्वाचन मिति घोषणा भइसेककाले तत्काल पार्टीको सबै संरचना चलायमान बनाउनुपर्ने भन्दै कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला भन्नुहुन्छ– ‘कांग्रेसले सबैभन्दा पहिले सबै वडामा टोल समिति बनाइहाल्नुपर्छ ।’ टोल समितिले मतदाता नामावली हेरी कांग्रेस समर्थक, ढुलमुले र तटस्थ मतदाताको हिसाब निकाल्नुपर्ने भन्दै उहाँ भन्नुहुन्छ– ‘फागुनसम्ममा यो काम गरेर चैतदेखि नेता कार्यकर्ता जनताको घरदैलोमा जागरण अभियान लिएर पुग्नुपर्छ ।’

अघिल्लो निर्वाचनमा उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म पनि उम्मेदवार टुंगो लगाउन नसकेको तीतो यथार्थ रहेको सुनाउँदै केन्द्रीय सदस्य संग्रौलाले यसपटक वैशाखको पहिलो साताभित्रै उम्मेदवार घोषणा गरी नेपाली कांग्रेस निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो । ‘उम्मेदवार छनौट गर्दा जनप्रिय, सक्षम र जनतासँग भिजेको नेता छान्नुपर्छ’, संग्रौला भन्नुहुन्छ– ‘उम्मेदवारलाई पनि म उम्मेदवार हुँ भनेर जनताको घरदैलोमा जान प्रशस्त समय दिनुपर्छ ।’

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य पनि स्थानीय निर्वाचन घोषणा भएसँगै पार्टीका सबै संरचना चलायमान बनाउनुपर्ने धारणा राख्दै उम्मेदवार छनौटमा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘उम्मेदवार छनौट गर्दा वडा समितिको सिफारिसलाई प्राथमिकतामा राख्नुपर्छ, केन्द्रबाट लाद्न हँुदैन ।’ सामाजिक छवि भएको, जनप्रियता कमाएको, पार्टी संगठन निर्माणमा अहोरात्र खटेको नेतालाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आचार्यले एजेन्डा केन्द्रित अभियान लिएर जनताको घरदैलो गर्नुपर्ने बताउनुभयो । पार्टीको सबै भ्रातृ एवं शुभेच्छुक संघसंस्थाको विस्तार वडा तहसम्म नै चलायमान बनाउन ढिला भइसकेको भन्दै उहाँले सबै नेता कार्यकर्ताहरूलाई निर्वाचन केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

अघिल्लो निर्वाचनमा लज्जाजनक हार व्यहोरेको कांग्रेसले यो निर्वाचनमा पहिलो ठूलो दल मात्र हैन बहुमत प्राप्त दल बन्न अहिलेदेखि सबै संरचना क्रियाशील बनाउनुपर्ने कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा पनि बताउनुहुन्छ । कम्युनिस्टहरूले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्दै यसपटक जनताको घरदैलोमा जानुपर्ने भन्दै उहाँ कम्युनिस्ट जस्तो एकथोक भन्ने अर्थोक गर्ने हैन कांग्रेस जे भन्छ त्यही गर्छ भन्ने प्रमाण लिएर जनतासँग भोट माग्ने बताउनुभयो ।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button