खबर

फर्किन थाले कालापहाडबाट कर्णालीवासी

वीरबहादुर बम
मुगु ।

रोजिरोटीका लागि लागि भारत पसेका कर्णालीवासी फर्कने थालेका छन् । नेपालगन्जको रुपैडिया नाका हुँदै धनगढीको गढ्ढा चौकी नाकाबाट नेपाल फर्कनेमा मुगु, हुम्ला, जुम्ला कालिकोट र जाजरकोटवासी बढी छन् । गाउँमा रोजगारी नमिलेपछि कामका लागि उनीहरू कालापहाड जाने गर्छन् ।

दशैंलगत्तै कालापहाड पसेका कर्णालीवासी फागुन लागेपछि घर फर्कन थालेका हुन् । ‘घरमै बसौं, रोजगारीका अवसर छैनन् । बेरोजगार भएर नांगो परिवारलाई टुलुटुलु हेरेर बस्न सकिन्न’, मुगुका धन काफ्लेले भन्नुभयो– ‘कालापहाड रहर होइन, कर्णालीवासीको बाध्यता हो ।’

हिउँदको सिजनमा खेतीपातीका लागि कुनै काम हुँदैन । बालीनाली लगाउन फागुनमा उनीहरू फर्कने गर्छन् । घर फर्कंदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको गुनासो उनीहरूको छ । कर्णालीमा नगरपालिका र गाउँपालिकासहित ७९ वटा स्थानीय निकाय छन् ।

‘कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने गर्दछन् । भारतका अधिकांश शहरमा कर्णालीवासी भेटिन्छन्’, मुगुको सोरू गाउँपालिका–९ का नैने नेपाली भन्नुहुन्छ । कर्णालीबाट बर्सेनि हजारौं युवा कालापहाड यात्रामा जाने गरेका छन् । ‘अर्काको देशमा काम गर्दाको पीडा त छँदै छ, सिमानाकामा पनि निकै सास्ती व्यहोर्नुपर्छ’, सोरू गाउँपालिका–९ का चक्रनाथ योगीले भन्नुभयो– ‘कालापहाडमा चार महिना लगाएर कमाएको रकम सीमानाकामा रहेका भारतीय सुरक्षाकर्मीले डरधम्की दिएर असुल्ने गरेका छन् ।’
प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सीमित भएको उहाँको कथन छ । ‘सरकारले आश्वासन मात्र दिन्छ, रोजगारी दिँदैन । बाटोमा आफ्ना नागरिक लुटिँदासमेत हेरेर बस्छ ।’ – योगी भन्नुहुन्छ ।

कालापहाडबाट फर्किनेलाई अटोरिक्सावालाले पनि दोब्बर भाडा असुल्ने गरेका छन् । कालापहाड गएर मजदुरी गरी उनीहरूले गजारा टार्दै आएका छन् । कालापहाड गएका कर्णालीवासी फर्किन थालेपछि कर्णाली राजमार्गमा चल्ने सवारीलाई पनि अहिले यात्रु बोक्न भ्याइनभ्याइ छ । सुनसान गाउँमा अहिले चमक देखिएको छ ।

कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ । कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन् । व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्था फेरिएको छैन । कालापहाडसँगै यहाँका नागरिक कतार, दुबई, मलेसियालगायत मुलुकमा समेत रोजगारीका लागि जाने गरेका छन् । यहाँका नागरिकको रोजगारीको प्रमुख गन्तव्य भारत हो । युवा जनशक्ति भारतमा जान थालेपछि गाउँमा बालबालिका, महिला र बूढाबूढीमात्र छन् ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button