
एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर लिड्स युनाइटेडले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक पूनरागमन जित निकालेको छ । लिड्सले १० खेलाडीमा समेटिएको घरेलु टोली वल्भ्सलाई ३–२ ले पराजित गरेको हो ।
मेलिनेक्स स्टेडियममा शुक्रबार राति भएको खेलमा लिड्सको जितमा ज्याक ह्यारिसन, रोड्रिगो र लुके एलिङले गोल गरे । घरेलु टोलीका जोनी र ट्रिन्काओले गोल गरे ।
खेलको २६औं मिनेटमा ट्रिन्काओको पासमा जोनीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ट्रिन्काओले गोल गर्दै वल्भ्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले ड्यानियल पोडेन्सको पासमा गोल गर्न सफलल भएका थिए।
तर, दोस्रो हाफमा घरेलु टोली १० खेलाडीमा समेटिन पुगेपछि खेल पनि गुमाउन पुग्यो । ५३औं मिनेटमा राहुल जिमिनेज दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्सको त्यसको फाइदा उठाउन सफल भयो ।
६३औं मिनेटमा ज्याक ह्यारीसनले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६६औं मिनेटमा रोड्रिगोले साम ग्रीनवुडको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लुके एलिङले गोल गर्दै लिड्सलाई रोमाञ्चक पूनरागमन जित दिलाए ।
यो जितसँगै लिड्स ३० खेलबाट २९ अंक जोडेर १६औं स्थानमा यथावत रहेको छ । पराजित वल्भ्सले छ्रैटौ स्थानमा उक्लने मौका गुमाउँदा आठौं स्थानमा रहेको छ । वल्भ्सको ३० खेलबाट ४६ अंक छ ।हाम्रो खेलकुदबाट ।



