कला

‘ग्रहण’मा विनय, नम्रता र सारुक

काठमाडौं
राजिव गुरुङको निर्माण तथा निर्देशनमा फिल्म ‘ग्रहण’ बन्ने भएको छ । आइतवार सिक्किमको राजधानी गान्तोकमा सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा फिल्मको निर्माण घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको ‘कास्ट एन्ड क्रियू’ पनि सार्वजनिक गरियो । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहने भएको छ ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने यो फिल्म भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने फिल्मको स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाले तयार पारेका हुन् । फिल्मको कथा निर्देशक गुरुङको हो । फिल्मका लागि अन्य कलाकारहरुको केही दिनमा टुंगो लाग्ने बताइएको छ ।

सिक्किममा छायांकन गरिने फिल्मले दुवै देशको पर्यटन प्रवद्र्धनमा सघाउने मन्त्री शर्माले विश्वास व्यक्त गरे । उनले भने, ‘हामी हाम्रो कलाकारलाई संसारमा चिनाउन लागिरहेका छौँ । त्यहिँ अनुरुप फिल्म बोर्ड, फिल्म नीति बनिसकेको छ । जसअनुरुप सिक्किममा छायांकन गर्ने फिल्मले भारु एक करोड पाउनेछ ।’ फिल्म सुटिङका लागि सिक्किम सधैं खुल्ला रहेको उनले बताए ।

फिल्मको घोषणा सभामा अभिनेता विनय श्रेष्ठले सिक्किम आफूलाई दोस्रो घर जस्तो लाग्ने गरेको र यसपटक सिक्किमको मनोरम दृश्यमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । फिल्मको कार्यकारी निर्माता समेत रहेका विनयले फिल्ममा सिक्किमका कलाकारहरुसँगै प्राविधिक समेतको सहभागिता रहने जानकारी दिए । उनले १४ वर्षपछि नम्रता श्रेष्ठसँग काम गर्न लागेका हुन् ।

त्यस्तै, अभिनेत्री नम्रताले होम प्रोडक्सनबाट बनेको पहिलो फिल्म ‘सोल सिस्टर्स’को छायांकन सिक्किममा गरेको स्मरण गर्दै ‘ग्रहण’मा आफ्नो क्यारेक्टर एरियल योगा इन्स्टक्टरको रहेको जानकारी दिइन् । सारुकले भने फिल्ममा आफ्नो भूमिका भिलेनको रहेको बताए। अहिले सारुक र नम्रता प्रेम सम्बन्धमा रहेको चर्चा छ । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्मको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पूजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । सिक्किमको गान्तोकमा रहेका ‘त्यान्द्रो’ निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा उपस्थित भएका थिए ।फिल्मीखबर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button