
काँकरभिट्टा । स्थानीय तहको निर्वाचनका लागि मेचीनगर नगरपालिकाका एमालेको तर्फबाट मेयर र उपमेयरका आकांक्षी उम्मेद्वारहरुको मतको नतिजा भोली आउने भएको छ ।
शुक्रबार काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एमाले मेचीनगरले मेयर र उपमेयर पदका आकांक्षी उम्मेद्वारहरुको आन्तरिक निर्वाचन गराएको छ ।
एमाले मेचीनगर कमिटि, नगर इन्चार्ज, वडा इन्चार्ज, १५ वटै वडा कमिटिका सदस्यहरुले पार्टीको आन्तरिक निर्वाचनमा भाग लिएका थिए ।
मेचीनगरका कुल ६५० मतदाता मध्ये ५७६ जना सदस्यहरुले मतदान गरेको निर्वाचन समितिका संयोजक पदम डाँगीले जानकारी दिए ।
एमाले पार्टीकोतर्फबाट मेयरमा ७ र उपमेयर पदमा ७ जना उम्मेद्वारको रुपमा आकांक्षी देखिएका छन् ।
मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटि सदस्य गोपालचन्द्र बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मिना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालिन काँकरभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटि सदस्य एवम् तत्कालिन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष निलकण्ठ तिवारी आकांक्षी देखिएका छन्।
त्यस्तै, उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी देखिएका छन् ।



