
सत्य यही हो, भोटका बेलामा जुम्ला हात गरेर दण्डवत्को नाटक गर्दै भोट माग्न आउने उम्मेद्वार चुनावपछि पनि फेरि हामीसँग आएकाछन् त ? यदि यो प्रश्न हामीले आफैले आफैलाई गर्ने हो भने सबैको उत्तर आउँछ— के को आउनु ,बाटामा भेट भयो भने पनि नदेखे झै गरेर मुण्टो फर्काएर हिड्छन् । जसलाई जनप्रतिनिधि बनाउन भनौँ या चुनावमा जिताउन आम नागरिक घण्टौँ सम्म लाइनमा बस्छन्, आफ्ना तमाम काम छोड्छन्, यसले जितो भने केही गर्ला कि भनेर भर परेका हुन्छन् तर सत्य भित्रको पनि सत्य यही हो जिते पछि होस या हारे पछि मतदाता संझने, उनीहरुसँग कबोल गरिएका कुुरा संझने, घोषणा पत्र संझने शायदै होलान ।
अहिले हामी स्थानीय तहको निर्वाचनमा होमिएका छौँ, पार्टीदेखि स्वतन्त्र उम्मेदवारहरु हामीलाई नमस्कार गर्दै मिठा र ताजा सपना सुनाउँदै बजार,बस्ती, टोल र घरघरमा पसेकाछन् । उनीहरुसँग एक थान विकासे घोषणा पत्र छ, समृद्धि त सबैको थेगो नै भएको छ। मानौँ कि उनीहरुले जिते भने सबै बदल्छन् नै जस्तो लाग्छ तर पटके अनुभवले यो पुष्टि गरिसकेको छ कि जिते पछि कोहीले कसैलाई चिन्ने त कुरो परै जावोस नमस्कार फर्काउन पनि असहज मान्छन् जो जनताको मतबाट जनप्रतिनिधि बनेका हुन्छन् । निर्वाचन लोकतन्त्रको महत्वपूर्ण र अपरिहार्य पाटो हो , चुन्ने र चुनिने प्रणाली आफैमा उत्तम पनि हो तर यहाँ जसले बनाउँछ उ हराउँछ अनि जो बनिएका हुन् उनीहरु पाँच वर्ष सम्म आफुलाई अर्कै लोकबाट आएको संझन्छन् । अपवाद बाहेक धेरै जनप्रतिनिधिहरुको विगतको यो अनुभव हो ।
चुनावका बेलामा ढुङ्गोको रुप पनि नौनीको जस्तो देखिन्छ ,सबै मुलायम र असल तर जब चुनाव जित्छन् सक्कल अनि देखिन्छ । अहिले हामी स्थानीय तहको निर्वाचनको माहौलमा छौँ । हाम्रो भाग्य र भविष्यलाई पाँच वर्ष सम्मका लागि जनभावनालाई बुझेर अघि बढ्न सक्ने नेतृत्व भनौँ या जनप्रतिनिधिको छनौट गर्ने समय हो यो यसर्थ सिङ्गो समाजको मनोविज्ञानलाई थोरै भए पनि बुझेको मान्छेलाई हामीले छान्न आवाश्यक छ । कुन पार्टीले कसलाई उठायो भन्ने भन्दा पनि कस्ता कस्ता मान्छेहरु यो निर्वाचनमा उम्मेदवार बनेकाछन् उनीहरु बीचबाट हाम्रो सामाजिक चरित्रलाई नियाल्न सक्ने व्यक्तिलाई हामीले हाम्रो जनप्रतिनिधि बनाउन सक्नु पर्छ । निर्वाचन भनेको कुनै अमुक पार्टीको वा कुनै उम्मेदवारको हार र जितको पाटो मात्र होईन मतदाताको पनि परिक्षाको समय हो । हामीले पाँच वर्ष सम्मका लागि समाज हाँक्ने नेतृत्वको छनौट गर्ने यो आफैमा हाम्रो आगामी दिनको यात्रा कस्तो बनाउने भन्ने हामी भित्रको पनि परिक्षाको समय हो ।
स्थानीय तह भन्नु नै हामी भित्रको समाज हो, हाम्रो समाजलाई उन्नत र समृद्ध बनाउनका लागि उन्नत र समाजको भावनालाई आत्मसात गरेर हिड्न सक्ने नेता बनाउने समय हो । निर्वाचनमा राजनीतिकदलहरुको उपस्थिति हुन्छनै , दलहरुका घोषणा पत्र र प्रतिबद्धताहरु आउँछन् प्रश्न यो पनि हो कि प्रतिबद्धताको पालना र घोषणा पत्रको कार्यान्वयन गर्न सक्ने व्यक्तिको छनौट भने हामीले गर्न सक्नु पर्छ ।
जनप्रतिनिधि भन्ने शब्द जति सहज जस्तो लाग्छ जनप्रतिनिधि बन्न त्यति सहज पक्कै छैन , निर्वाचनमा जितेर मात्र जनप्रतिनिधिको जिम्मेवारी पुरा हुदैन पहिलो कुरा त एउटा व्यक्ति जनप्रतिनिधि बन्नका लागि उसको न्यूनतम मापदण्ड के हुनु पर्छ र मात्रै उ साँच्चैको जनप्रतिनिधि बन्न सक्छ हामी आम मतदाताले एक पटक आफ्नै लागि सोच्ने बेला आएको छ । हामीले धेरै पटक मतदान गरेकाछौँ तर के हामीले मतदान गरेर जनप्रतिनिधि बनाएकाहरु मात्र जनप्रतिनिधि बने या साँच्चैका जनप्रतिनिधि बन्न सफल पनि भए हेक्का राख्ने बेला भएको छ । अहिले जसरी उम्मेदवारहरु हाम्रा घर आँगनमा आएकाछन् याद गर्नु पर्छ विगतमा विभिन्न निर्वाचनमा जिते पछि होस या हारे पछि उनीहरु फेरि कहिल्यै फर्केर हामीसँग आए त ? तपाईहरुलाई कस्तो छ ? हामीले गरेका काम कस्तो लाग्दैछ भनेर सोधे त ?एक पटक आफैले आफैलाई प्रश्न गर्ने पनि बेला हो यो यसर्थ हाम्रो होईन राम्रो खोजौँ अनि राम्रो भित्र पनि असल खोजौँ !
0 22 2 minutes read



