राजनीतिमा सम्मान र सम्मानको राजनीति


गोरखापत्र अनलाइन
बहुदलीय व्यवस्था पुनस्र्थापनापछि २०५० तिर सर्वोच्च नेता गणेशमान सिंह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्बन्ध धेरै नै बिग्रँदै गएका समाचार आइरहेका थिए। पत्रपत्रिका हेर्दा उहाँहरूबीचको गम्भीर कटुता स्पष्ट हुन्थ्यो, यस्तो कि उहाँहरूबीच सामान्य बोलचाल पनि हुँदैन। सम्भवतः २०५० को चियापान गणेशमानकै आयोजनामा उहाँकै निवास चाक्सीबारीमा भएको थियो। कार्यक्रममा प्रधानमन्त्री कोइराला आउनुहुन्छ कि हुन्न भनेर निकै चाख लागेको थियो। आँगनतिरको साइटबाट जेरी, निमकिन ल्याई बिस्तारै खाँदै अगाडि मूल गेटतिर नेत्री मङ्गलादेवी र सर्वोच्च नेता सिंह पाहुनाको स्वागतार्थ रहनुभएको स्थानमा कुरेर बस्यौँ, गिरिजाबाबु आउने हो कि होइन।

गणेशमान धेरै बेर उभिन वा कुर्चीमा बस्न सक्नुहुन्नथ्यो। पाहुना हेरी कसैलाई कुर्चीमै बसेर वा कसैलाई उठेर स्वागत गरिरहनुभएको थियो। यसैबीच प्रधानमन्त्री कोइरालाको गाडी चाक्सीबारीको गेटबाहिर रोकियो । प्रधानमन्त्रीको गाडी देख्नेबित्तिकै सिंह दम्पती उठेर मूल गेटतिरै रहेका कोइरालालाई दुई हात जोडेर हार्दिकतापूर्वक स्वागत गर्नुभयो। कोइराला पनि सरासर सिंह दम्पतीतिर गएर धेरै बेर नमस्कार गरेर उभिनुभयो। गणेशमानले सङ्केत गरेपछि कोइराला चियापानस्थल आँगनतिर जानुभयो।

बीपीले आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ, उहाँलाई निकै शिष्ट लाग्ने मानिस भारतका जवाहरलाल नेहरू पनि हुनुहुन्छ। नेहरूभन्दा पनि चु एन लाई अति शिष्ट भन्नुभएको छ। एक पटक राजासँगको भेटमा बीपीले सुरुमै माफी माग्नुभएको छ, “सरकार म जनताको छोरा दरबारको औपचारिक भाषा र शैली जान्दिनँ अन्यथा नमानी बक्सनुहओस्।” राजासँग प्रजातन्त्रका सवालमा मतभेद भए पनि बीपीले राजालाई अपमानित हुने गरेर सार्वजनिक टिप्पणी गर्नुभएको पाइँदैन।

राजनीति प्रक्रिया मात्र होइन। संस्कृति पनि हो। जनतालाई कस्तो संस्कृति सिकाउने भन्नेमा नेताका बोलीवचन, व्यवहार, आदत, खानपिन अर्थपूर्ण हुन्छन्। बीपीमा डिल्लीरमण रेग्मीप्रति ठूलो नफरत थियो कि, रेग्मी बीपीबाहेक गणेशमानलाई पनि ‘तपाईं’ भन्नुहुन्न। धेरैलाई ‘तँ’ भन्नुहुन्छ। समकालीन नेताहरूमा एकले अर्कोलाई निम्न स्तरको टिप्पणी गरिराखेको सुनिन्छ। खासगरी यस्तो वामपन्थी राजनीतिमा हुने गर्छ। उनीहरूको पार्टी दस्तावेजमा आफ्नो प्रमुख दुश्मन÷शत्रु किटानी गर्नुपर्छ। गद्दार पुष्पलाल भनियो। मनमोहन अधिकारी र केशरजङ्गलाई यस्तै आरोप लगाइयो। आफ्नै पार्टीका कुनै नेतालाई भ्रष्टाचार शिरोमणि भनियो। कांग्रेसमा उल्लेख गर्न सकिने यस्ता उदाहरण छैनन्। अफ द रेकर्डमा किशुनजीले गिरिजाबाबुको विरोध गरे पनि सार्वजनिक रूपमा भने सम्मान गर्नुभएका धेरै अनुभव र उदाहरण छन्। नेताहरू एकले अर्कोलाई सम्मान भाव देखाउने संस्कार नेपाली कांग्रेसमा थियो र केही मात्रामा अहिले पनि छ।

बीपी कुनै मठमन्दिरमा आशक्त हुनुभएन न त देवीदेवतामा नै विश्वस्त तर विश्वस्तहरूको विश्वासलाई सम्मान गर्नुभयो। कसैका जनै चुँडाएर, कसैलाई अभक्ष खुवाएर केही नेता तथा तिनका पार्टीले गरेको उछित्तो नेपाली राजनीतिको एउटा पाटो बनेकै छ। बीपीले सिकाउनुभएको सम्मानको संस्कृति वर्तमान राजनीतिमा ओझेलमा परेको छ। बीपी कार्यकर्ता वा आम मानिसका सन्दर्भमा भन्नुहुन्थ्यो, “अरूका कुरा सुन्नुहोस्, कि आफू उसँग सहमत हुनुहोस्, कि आफूसँग उसलाई सहमत गराउनुहोस्।” यो भनेको संवाद हो। संवादको संस्कृति र सम्मान।

संवादमा गइसकेपछि हत्या–हिंसा अथवा बल प्रयोग हुँदैन। विचारको कुरा आउँछ। विचारमा जित्नु, हार्नु अथवा सहमत हुनु वा सहमत बनाउनु प्रजातन्त्रको सौन्दर्य हो। यो सम्मानको राजनीति हो र राजनीतिमा सम्मान हो । जसले कार्यकर्तासँग संवाद गर्न सक्दैन, कार्यकर्ताको कुरा सुन्न सक्दैन, उसले कसरी कार्यकर्ताको भावना बुझेर पार्टी चलाउन सक्छ भन्ने प्रश्न बीपीमा सधँै रहिरह्यो। उहाँले पटकपटक भन्नुभएको छ, “पार्टी चलाउनु पनि घर चलाउनुजस्तै हो।”

राष्ट्रिय राजनीति हेर्दा आजको नेतृत्व खासगरी कांग्रेस, एमाले र अन्य वामपन्थी पृष्ठभूमिको पनि, पञ्चायतको कठोर यातनामा हुर्किएको व्यक्तित्व हो। उहाँहरूले राजनीतिक सङ्घर्ष सुरु गर्दा शासन व्यवस्था र समाजको अवस्था परिवर्तन गर्छु भनेर, यस्तै नारा तथा कार्यक्रममा प्रतिबद्ध भएर, यातना सहेर, पञ्चायतका लोभलालच, डरधम्कीमा नपरी प्रजातान्त्रिक आन्दोलनमा उभिनुभएको हो। अहिलेजस्तो चुनाव, पद, प्राप्ति र शक्तिको ग्ल्यामर देखेर उतिखेर यी नेताले राजनीति गर्नुभएको थिएन। यसै परिप्रेक्ष्यमा मात्र उहाँहरूको आलोचना गर्नुहुँदैन। अहिलेको खुला वातावरण यिनै नेताको योगदान र समर्पणले आएको हो भन्ने बिर्सन हुँदैन। अहिले हामीबीचबाट अङ्ग्रेज, राणा र पञ्चायतसँग लडेको नेतृत्व अस्ताइसकेको छ तर पञ्चायतको कठोरताले माझिएको नेतृत्व हामीबीच छ।

केही नेता र उनीहरूको नेतृत्वमा भएका गलत हर्कत वा जघन्य गल्तीको स्वस्थ विरोध गर्नुपर्छ तर यसैका आधारमा सम्पूर्ण नेतालाई सम्पूर्ण रूपमा बदनाम गरेर सभ्य जनता हुन सकिँदैन। नेताको कार्यशैली ठीक नहोला तर योगदान त सम्मानयोग्यछ नि! कार्यशैलीको आलोचना गर्दा योगदानलाई सम्मान गर्न बिर्सनु हुँदैन।

समस्या जनताभन्दा नेतातिर छ। एक नेताले आफ्नै पार्टीभित्र वा बाहिरका व्यक्तिलाई असंस्कृत शब्द तथा शैलीमा गरेका टीकाटिप्पणीले जनतामा प्रभाव पार्छ। तसर्थ नेताले आफ्ना प्रतिस्पर्धी, आफूसँग असहमत हुनेहरूका सन्दर्भमा बोल्दा कस्ता शब्द प्रयोग गर्ने भनेर सन्तुलित हुनपर्छ। सबै नेताले एकले अर्कोको सम्मान गर्न नजाने वा नचाहे जनताले पनि नेतालाई उपेक्षा गर्छन्। अवहेलना गर्छन्। नेताहरू जनतामा अलोकप्रिय भए भने त्यसको असर सरकार र त्योभन्दा पनि माथि व्यवस्थामा पर्छ। वर्तमान नेपाली नेतृत्व पुस्ताको १० कोणबाट विरोध गर्न सकिएला तर विरोध गर्न पाउने यस्तो नागरिक अधिकार त यही नेतृत्व पुस्ताले पञ्चायतबाट खोसेर नेपाली जनतालाई सुम्पिएको हो नि। यसका लागि वर्तमान नेताहरूले ठूलो यातना, प्रताडना र जीवनका सुन्दर दिन जेलमा बिताउनु परेको छ।

नेताहरूको कार्यशैलीको विरोध गर्दा उहाँहरूको योगदान बिर्सन हुँदैन तर यस्तो संस्कृतिको जग पहिला त नेताहरूबाटै बसाइनुपर्छ। आफ्नो मर्यादा आफँै राख्न सक्नुपर्छ। नेताहरूका कमीकमजोरी हुन्छन्, छन् तर त्यसैलाई आधार बनाएर उहाँहरूका सारा योगदानलाई निषेध गर्न सकिँदैन। गर्न हुँदैन पनि। जीवनभर दःुख दिने राजपरिवारलाई बीपीले अपमान गर्नुभएन। मेलमिलापको संस्कृतिका लागि बीपीले चियापानको आरम्म गर्नुभयो। हेर्दा सानो छ तर कूटनीतिक अभ्यासमा चियापानले धेरै महìव राख्दछ। गिरिजाप्रसाद कोइरालाले संसद्मा साना दल रहनुपर्छ भनेर साना दलको सम्मानमा सधैँ आवाज उठाइरहनुभयो। सहअस्तित्व स्वीकार गर्न सक्नुपर्छ राजनीतिक सम्मानका लागि तर आफूसँग असहमत नेतालाई चियापानमा समेत नबोलाइएका घटना पनि देखियो।

बीपीबाट राजनीतिमा सिक्नुपर्ने ठूलो पाठ धैर्यता र सम्मान हो। विचारको सम्मान। योगदानको सम्मान। विचारको सम्मानले बहुलवादको पक्षपोषण गर्छ। प्रजातन्त्र बहुलवादमा हुर्कन्छ। एकल विचार, एकल अस्तित्व प्रजातन्त्र होइन। आलोचना प्रजातन्त्रको अर्को सुन्दर पक्ष हो तर आलोचना स्वस्थ मात्र होइन, सैद्धान्तिक पनि हुनुपर्छ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालजस्तो वामपन्थमा प्रजातन्त्र मिसाउन सकिन्छ भन्ने नेतालाई कांग्रेस अर्थात् प्रजातन्त्रसँग नजिक भएकै कारणमा पार्टीको चौथो महाधिवेशनमा मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ किताबै लेखेर अपमान गर्नुभयो। पछि सिंहले आफूलाई केही सुधार गर्दै परिमार्जनसहित उक्त किताबको नाम ‘क्राान्तिमा भ्रान्ति’ बनाउनुभयो। जीवनका पछिल्ला दिन सिंहले पुष्पलाललाई त्यसरी लेख्नु गलत थियो भनेर सार्वजनिक रूपमै स्वीकार गर्नुभएको छ। यो स्वीकार पनि आफ्नो ठाउँमा पुष्पलालप्रति गरिएको ढिलो सम्मान हो। उहाँको योगदानको सम्मान हो।

नेपालको राजनीतिमा वामपन्थीको एउटा खेमा सधैँ दोहोरो चरित्रमा रह्यो। २०४६ मा नेपाली कांग्रेसले घोषणा गरेको जनआन्दोलनमा वाममोर्चाको पनि साथ रह्यो। यस सन्दर्भमा केही वामपन्थी विश्लेषक तथा नेता भन्ने गर्छन्, “कांग्रेसले मानेको भए वामपन्थी र कांग्रेस मिलेर पहिले नै पञ्चायतको अन्त्य हुने थियो।” २०४६ र २०६२÷६३ को आन्दोलनले यस्तो तर्कको पुष्टि गरेको पनि हो तर मिल्न नसक्नुको प्रमुख कारण वामपन्थी थिए। नेपाली कांग्रेस (पुँजीवादी पार्टी) भए पनि क्रान्तिका लागि आवश्यक हुन्छ, यसलाई मित्रशक्ति भन्नुपर्छ भन्ने पुष्पलाल, मनमोहन र पछि आएर केशरजङ्गहरूलाई गद्दार भन्दै पञ्चायतसँग लड्नुपर्ने बेलामा कांग्रेसलाई नै दुश्मन, त्यसमा पनि प्रमुख दुश्मन देख्ने वामपन्थी खेमा सशक्त भएपछि कहाँबाट बन्न सक्थ्यो पञ्चायतविरुद्ध कांग्रेस र वामपन्थीको साझा एजेन्डा अथवा कार्यक्रम ?

२०३६ को जनमत सङ्ग्रहलाई सघाउने र धोको हो भनेर परोक्ष रूपमा राजालाई सघाउने दुईथरी वामपन्थीसँग कसरी हुनसक्थ्यो कांग्रेसको साझा पहल र दोहोरो सम्मान ? बीपीलाई अराष्ट्रिय तìव भन्ने पञ्चायतसँग यो वा त्यो स्वरमा हो मा हो मिलाउने केही वामपन्थीसँग कसरी कांग्रेस अर्थात् प्रजातान्त्रिक आन्दोलन मिलेर अगाडि बढ्थ्यो ? होइन भने मनमोहन अधिकारीको पार्टीको कार्यक्रममा चौर भरिदिने त कांग्रेस कार्यकर्ता नै हुन्थ्ये। कांग्रेस त प्रजातान्त्रिक–वामपन्थसँग सधैँ नजिक रह्यो। रहने नै छ।

सिद्धान्ततः भाटाको राजनीति छाडेर वामपन्थीहरू जो भोटको राजनीतिमा आएका छन्, त्यो सपना पुष्पलालको थियो। यसका लागि कांग्रेसले वैचारिक पहल मात्र गरेन, गिरिजाबाबुले निर्णायक पहल नै गर्नुभयो। यस सन्दर्भमा ‘पुष्पविचार’को सम्मान गर्दै विगतमा उहाँप्रति गरिएका अपमानप्रति आत्मालोचना गरेर सम्मान गर्नुपर्ने साहस वर्तमान वामपन्थी नेतृत्वले गर्नुपर्छ। अन्थया गद्दार भनिएका पुष्पलाल र राजासँग आत्मसमर्पण गरे भनिएका ‘विसर्जनवादी’ मनमोहनको सालिक वा तस्बिरमा कसरी माल्यार्पण गर्र्नु ? पुष्पलाल सुरुदेखि नै प्रजातन्त्र र निर्वाचनजस्ता विशेषता नेपाली वामपन्थमा मिलाउन चाहनुहुन्थ्यो। नेपाली वामपन्थीहरू प्रजातान्त्रिक विशेषतामा आइदिएको भए २०४६ भन्दा पहिले नै प्रजातन्त्र आइसकेको हुन्थ्यो।

साउनको पहिलो हप्ता नेपाली राजनीतिका दुई स्वप्नद्रष्टा बीपी कोइराला र पीएल (पुष्पलाल) श्रेष्ठलाई सम्झनुपर्ने दिन पर्छन्। साउन ६ गते बीपी जयन्ती, साउन ७ गते पुष्पलाल जयन्ती। उहाँहरूलाई स्थुलतामा होइन, विचारमा सम्मान गर्न, सम्मानको राजनीति गर्न वर्तमान नेपाली नेतृत्व फराकिलो हुनुपर्छ। अहिलेको नेपाली राजनीति बीपी र पुष्पलाल (पीएल)को फ्युजन हो। कांग्रेस गणतन्त्रमा गएको हो। वामपन्थी प्रजातन्त्रमा आएका हुन्। गणतन्त्र र प्रजातन्त्रको कुरा मात्र होइन, बीपीले कल्पना गर्नुभएको प्रजातन्त्रमा सबै शक्ति खासगरी राष्ट्रवादी शक्ति पनि अटाउन सक्छ। त्यसैले राष्ट्रियताको सन्दर्भमा राजासँग मेरो घाँटी जोडिएको छ भन्ने उहाँको विचारलाई सम्मान गर्दै राजनीतिमा सबै शक्तिको सम्मान र अस्तित्व स्वीकर गरेर प्रजातन्त्रलाई फराकिलो बनाउनु राष्ट्रियताको सन्दर्भमा अझ आवश्यक छ।

 

50% LikesVS
50% Dislikes