स्वास्थ्य

मुटु रोगको जोखिम बढ्दै

काठमाडौं
जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए ।

मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताए।

उनले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु रोगबाट बच्न सकिने बताए । डा. रेग्मीले धूमपान, मदिरा सेवन, जङ्क फुडलगायतबाट टाढै रहन आग्रह गरे ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । सङ्गठनका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या रहेको छ ।

यस्तै ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने, ५० प्रतिशत सहरियाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ।

बर्सेनि करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटु रोगी बढ्दै जानुको प्रमुख कारण अस्वस्थकर जीवनशैली रहेको बताए । नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button