
बबि बस्नेत
नेपाल एक कृषि भुमि हो।नेपाली अर्थतन्त्रको मेरुदन्डको रुपमा रहेको कृषि क्षेत्रले आ.व. २०७७/७८ को तथ्याङ्ग अनुसार कुल ग्राहस्थ उत्पादनको २५.८३% हिस्सा ओगटेको छ।वि.स. २०६८ सालको जनगणना अनुसार करिव ६५.६% नेपालीको मुख्य पेशाको रुपमा कृषि क्षेत्र रहेको छ।नेपालमा कुल भु-भागको २१% खेति गरीएको, ७% खेती नगरीएको खेतीयोग्ग जमिन छ।नेपाल कृषि प्रधान मुलुक भनि सुन्दै र पढ्दै आएता पनि आजको २१औ शताब्दीमा पनि नेपालमा अधिकांश कृषकले परम्परागत शैलीमा नै कृषि गर्ने गरेको पाईन्छ।कृषि पेशा भन्दा नाक खुम्च्याउने, पढेलेखेकाले खेतबारीमा काम गर्ननहुने सोचहरुले कृषि क्षेत्रलाई झन् खुमच्याउदै लगेको छ।बढ्दो जनसंख्या र माग अनुरुप कृषि उत्पादन बढ्न नसक्दा बजार भाउ आकाशिनुले बेलाबेला भोकमरीको समस्या पनि देखापर्ने गर्छ।त्यसकारण कृषिलाई पेशाकै रुपमा अँगाल्दा यसको व्यवसायिकरण तर्फ ध्यान दिनु र आधुनिक उपकरण, प्रविधिको प्रयोग गर्नु अत्यन्तै आवश्यक देखिन्छ ।
कृषिमा हालै गरिएको एक सर्वेक्षणले नेपालमा १ जना प्राविधिक बराबर २५०० कृषक रहेको देखाउँछ।हाम्रो देशमा ६५.६% जनता कृषिमा आवद्ध हुँदा पनि खाद्यान्न आयात गर्नुपरिरहेको छ।नेपालको कुल जनसख्याको १८ प्रतिशत जनता गरिबको रेखामुनि छ।६०% भन्दा माथि मरभुमी भएको इजरायलमा भने ४% जनता कृषिमा आवद्घ हुँदा पनि ९०% खाद्यन्न निर्यात गर्छ।आजको दिनमा मरुभुमि भएका जमिन हराभरा हुँदै गर्दा हाम्रो खेतीयोग्य जमिन भने विखण्डीकरण र मरुभुमिकरण हुँदै गइरहेको छ।कृषि क्षेत्रबिना मानव जीवन त परिकल्पना समेत गर्न सकिदैन।त्यसैले होला विकसित राष्ट्रहरुमा अनेक रोचक र चाख लाग्दा अनुसन्धान भैरहन्छन् र नयाँ-नयाँ प्रविधिले जन्म लिरहन्छन्।कृषि क्षेत्रमा विश्वमा के-कस्ता नविनतम प्रविधिको प्रयोग भईरहेको छ चर्चा गरौँ।

भर्टिकल्चर फार्मिङ
भर्टिकल्चर फार्मिङ विशेष गरी थोरै जग्गा उपलब्ध भएको ठाउँमा आधुनिक प्रविधिको प्रयोग गरी ठाडो रुपमा तला-तला बनाएर उब्जाउ गरीने प्रकृया हो।यो खेति प्रणालिमा कृत्रिम वातावरण प्रदान गरीनुका साथै तापत्रम, हावापानी समेत नियन्त्रण गरिन्छ र जस्तोसुकै विरुवाहरु उत्पादन गर्न सकिन्छ।पृथ्वीमा बढ्दो जलवायु परीवर्तनले कृषिमा पारेको प्रभाब र असरले गर्दा कृषि उत्पादन वृद्धि गर्न यसको उपयोगीता बढ्दो छ। भर्टिकल्चर फार्मिङ माटो, हाइड्रोपोनिक्स वा एरोपोनिक्समा सहज तरीकाले प्रयोग गर्न सकिन्छ। ग्रीनहाउसहरूमा जस्तै यस प्रविधिमा पनि बन्द संरचनाहरू प्रयोग गर्ने गरिन्छ जसमा हावा र तापक्रमको उचित तरीकाले व्यवस्थापन गरिएको हुन्छ।
हाइड्रोपोनिक्स / एरोपोनिक्स
हामिले कृषि भन्ने वित्तीकै माटो सम्झन्छौँ।माटो भनेको एक माध्यम मात्र हो जसबाट विरुवाले आफुलाई आवश्यक पर्ने खनिज तत्व र जल प्राप्त गर्छ।हाइड्रोपोनिक्स पानीलाई माध्यम बनाएर र एरोपोनिक्स हावालाई माध्यम बनाएर बाली उब्जाउने प्रकृया हो।यसमा विरुवालाई आवश्यक पर्ने तत्वहरु पानीमा घोल बनाएर वा वाफको रुपमा छर्केर उब्जाउ गरीन्छ।हाइड्रोपोनिक्स र एरोपोनिक्स तरिका बाट बाली उत्पादन गर्दा माटोको आवश्यक पर्दैन।यस तरिकाबाट विरुवामा हुने सङ्क्रमण निकै कम हुन्छ र माटोको गुणस्तर कम भएको ठाउँमा पनि बिरुवा उब्जाउन सकिन्छ।हाइड्रोपोनिक्स प्रविधिमा विरुवाका जराहरू पानीमा डुबाउनु आवश्यक छ तर यसोगर्दा विरुवालाई उचित हावा आवतजावत गर्न असक्षम बनाउँछ। यसको ठीक विपरीत एरोपोनिक्स प्रविधिमा जरा हावामा रहँदा बोटले सजिलै ठूलो मात्रामा अक्सिजन लिन सजिलो हुन्छ।परम्परागत खेति सँग तुलना गर्दा हाइड्रोपोनिक्स र एरोपोनिक्स दुई उत्कृष्ट नविनतम प्रविधि हुन् जसले मल वा कीटनाशक उत्पादनहरूको प्रयोगलाई निरुत्साहित गर्दछन्।यसरी लगाईएका बिरुवाको उत्पादन क्षमता पनि तुलनात्मक रुपमा बढी हुन्छ ।
शहरी कृषि
नेपालमा मात्र नभएर अन्य मुलुकहरुमा पनि शहरीकरण तीब्ररुपमा बढिरहेकोले शहरी खेतिको आवश्यकता पनि सोहिअनुसार बढिरहेको छ।शहरमा प्रशस्त खेतियोग्य जमिनको अभाव हुनाले व्यावसायीक खेती गाह्रो पर्छ तर प्रत्येक परीवारले घरको कौसी वा बरन्डामा माटो जम्मा गरी बाली वा तरकारी लगाउदा घरको आवश्यकता केहि हद सम्म पुर्ति गर्न सकिन्छ। आफ्नो घरको कौसी, बरण्डा, छत आदी स्थानमा आफूलाई आवश्यक पर्ने अथवा दैनिक उपभोग गर्ने वालीहरु जस्तैः तरकारी, फलफुल, मसलावाली आदिको खेति गर्ने प्रविधिलाई कौसी खेती भनिन्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गरिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ। पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा, गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ। कौसिखेतिको मद्दतले फोहोरमैलाको व्यवस्थापनमा सजिलो गरेको पाईन्छ। मानिसलाई दैनिक आहारमा चाहिने प्रोटिन, पानी तथा रेशाहरुको खाँचो कौसी खेतिद्वारा पूर्ति हुन सक्दछ। बढ्दो शहरीकरणकका कारण अधिकांश खेतीयोग्य जमिन कंक्रिट जंगलको रुपमा परिणत भैसकेको हुँदा जैविक फोहोरको व्यवस्थापन अर्थात मल बनाउने र प्रयोग गर्ने स्थान अभाव भएको छ। त्यसको बिकल्पमा कौसी खेती गर्दा जैविक फोहोरबाट मल बनाउन सकिने , बिषादीरहित तरकारी तथा बालीहरुको सेवन गर्न पाउने , हरियाली बृद्दि हुने कुरा नै कौसी खेतीको सकारात्मक पक्ष हो। धेरै परीवारले कौसी खेती अबलम्बन गरेमा बजारमा मागको कमि आई महँगी नियन्त्रण गर्न पनि सकिन्छ साथै परीवारको खर्च पनि कटौति गर्न सकिन्छ।
आधुनिक कृषि औजार तथा उपकरणको प्रयोग
आधुनिक कृषि औजार र उपकरणको प्रयोगरक्कले मात्रै कृषि क्षेत्रले गुणात्मक रुपमा प्रतिफल हातपार्न सक्छ र कामदारको संख्या कटौति गरी लगानी कम गर्न सकिन्छ।कृषि औजार भन्नाले कम्बाईन हार्भेष्टर, सिडर, रिपर, स्पेयर, पावर टिलर, थ्रेसर, सिड ड्रिल, कल्टिभेटर, एम. बि. प्लाव आदिलाई बुझिन्छ।एक सर्वेक्षण अनुसार १ प्रतिशत नेपालीहरु सँग मात्र ट्रयाक्टर ,थ्रेसर र पावर ट्रिलर र करिब ७ प्रतिशत कृषकसँग मात्र पम्पसेट रहेको छ। सरकारी तथ्याङ्क अनुसार हाल ८० देखि ९० प्रतिशत कृषि औजार तथा उपकरण विदेशबाट आयात हुन्छन्। नेपालमा बर्सेनि करिब २० अर्ब रुपियाँको कृषि औजार तथा विभिन्न उपकरण आयात हुने गरेको छ।
वैदेशिक रोजगारको अवसरका कारण कृषि क्षेत्रमा भैरहेको श्रम शक्तिको अभाव लगायतका समस्या हटाउन र महिलाको अत्याधिक कष्टकर श्रम रहेको यस क्षेत्रमा महिलाको श्रमभार घटाई अन्य उत्पादनशील कार्यमा लगाउन कृषि यन्त्रहरुको प्रयोगलाई प्रोत्साहन गर्नु अत्यावश्यक छ।निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रूपान्तरण गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न र खाद्य सुरक्षा सुनिश्चित गर्न समेत कृषि क्षेत्रमा यान्त्रिकरणको आवश्यकता पर्दछ।स्वदेशमा उत्पादन नहुने भएकाले कृषियन्त्र तथा उपकरण नेपाली बजारमा महँगो पर्ने र मूल्य धेरै भएकाले सबै किसानले खरिद गर्न नसक्ने र प्रयोग गर्दा पनि उत्पादन लागत बढी हुने गरेको छ।
जलवायुमैत्री कृषि प्रणाली
जलवायुमैत्री कृषि प्रणाली भनेको जलवायु परिवर्तनका प्रभावहरुसँग अनुकुलन भई हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने कृषि उत्पादनमा वृद्धि गरी कृषक तथा समाजको खाद्य सुरक्षामा सुनिश्चितता गर्ने प्रणाली हो। जलवायुमैत्री कृषिका तीन उद्धेश्यहरु रहेका छन्: कृषिमा उत्पादन तथा आम्दानी बढाउने, खाद्य सुरक्षित समाज र राष्ट्रको निर्माण गर्ने, हरितगृह ग्यासको उत्सर्जनमा कमि ल्याउने र जलवायु परिवर्तनका अनुकुलन योजना निर्माण गर्ने।जलवायुमैत्री कृषिलाई पाँच प्रकारमा वर्गीकरण गर्न सकिन्छ: जलमैत्री, मौसम/ज्ञान मैत्री, कार्वन/खाद्यतत्व मैत्री, जात/बिउ मैत्री र बजार मैत्री।
थोपा सिँचाई, आकाशे पानी संकलन, सघन धानखेती प्रणाली एस.आर.आई., हाइव्रिड/उन्नत जातको बिउ प्रयोग र हाईटेक टनेलमा खेति प्रविधि जलवायुमैत्री कृषि प्रणाली भित्रका नविनतम प्रविधिहरु हुन्।थोपा सिंचाई प्रविधिबाट कम पानीबाट धेरै विरुवालाई सिंचाई गरि बढी उत्पादन लिन सकिन्छ। थोपा सिंचाइ प्रविधि प्रयोग ताजा तरकारीहरु जस्तै गोलभेडा, काउली, बन्दा, खुर्सानी, काक्रो, फलफुल साथै अन्न, दाल, कपास जस्ता कम दुरीमा रोपीने बिरुवामा पनि गर्न सकिन्छ । थोपा सिंचाइले माटोमा हावा र पानीको अनुपात मिलाउछ, जराले वृद्धिको लागि राम्रो वातावरण पाउछ पानी बाश्पिकरण कम हुन्छ , रोग किरा तथा झारको प्रकोप कम हुन्छ र बिरुवा राम्रो संग बढ्छ।
हाइव्रिड/उन्नत जातको विउको उमार शक्ति बढि हुन्छ।रोगले सजिलै आक्रमण गर्न सक्दैन अनि प्रतिकुल मौसममा पनि सजिलै फल्न सक्छन्।पिपुल्स डेली अनलाईन २०२१ मा प्रकाशित समाचार अनुसार चिनियाँ वैज्ञानिकहरूले धानको नयाँ जात विकास गरेका छन् जुन दोस्रो पटक नरोपि धेरै पटक सम्म कटानी गर्न सकिन्छ।दक्षिणपश्चिम चीनको युन्नान प्रान्तका वैज्ञानिकहरूले विकास गरेको धानको जात प्रति म्यु (६७६ वर्ग मीटर) जमिनबाट ६१५.६ केजी धान उत्पादन गर्न सकिन्छ, जुन स्थानिय क्षेत्रमा उब्जाइएको अन्य जातका धानको औसत उत्पादन भन्दा ७.७७ प्रतिशत बढी हो।
कृषि सुचना तथा सन्चार प्रविधि
कृषि क्षेत्रमा के भैईरहेको छ र के कस्ता प्रविधिहरु भित्रिए भनेर जान्न मन लागे रेडियो कि त टेलिभिजनकै साहार लिनु पर्ने अवस्था छ। तर समयको माग अनुरुप कृषि सँग सम्बन्धित कुनै कुरा जान्न र बुझ्न खोजे रेडियो र टेलिभिजनमै परनिर्भर हुने बाध्यात्मक अवस्था भने सुचना तथा सन्चार प्रविधिको विकास सँगैं केही हद सम्म भने टरेको छ।सूचना प्रविधिको विकाससंगै मानिसहरुमा स्मार्ट फोन, ट्याबलेट वा कुनै अन्य मोबाइल उपकरणको प्रयोग बढ्दो पाइन्छ| स्मार्टफोनको वजारले मानिसहरुलाई कुनै पनि जानकारी प्राप्त गर्न र माग वमोजिम कार्य गर्न सहज बनाएको छ | तसर्थ, स्मार्टफोन र ट्याब्लेटको बिक्री मात्र बढेको छैन, मोबाइल एप्सको विकास र प्रयोग पनि बढ्दो रहेको छ।मोबाइल एप आजको संसारमा धेरै महत्त्वपूर्ण छन् किनभने मोबाइल फोनहरू र अन्य ह्यान्डहेल्ड उपकरणमा आवश्यक सबै जानकारी एप मार्फत समावेश गर्न सकिन्छ। मानिसहरुमा सुचनाको सहज पहुँचको लागी सूचना प्रबिधि बिभागले आर्थिक वर्ष २०७२/७३ बाट मोबाइल एपको विकास गरिरहेको छ जुन Google Play Store र Apple Store बाट सजिलै डाउनलोड गर्न सकिन्छ।यस्ता एपहरु बाट किसानहरुले बाली कुन समयमा कुन तरीकाले लगाउने देखी लिएर कुन समयमा बाली भित्र्याउने जानकारी घरमै बसेर लिन सक्छन्।त्यस्तै मौसमको पुर्व जानकारी लिन रोग कीराको नियन्त्रणको उपाय सिक्न र बजार मुल्य बारे जानकारी लिन एप सजिलो प्रविधि हो। विकसित राष्ट्र अमेरिका, क्यानडा, चिन, नर्बे लगायत बिकास उन्मुख राष्ट्र भारत, पाकिस्तान, नेपालमा र अन्य देशमा पनि सूचना प्रविधिको प्रयोगद्वारा दैनिक वजारभाउ किसान समक्ष अपडेट गराउने गरिन्छ अनि वजारको समस्या नहोस भनि निश्चित ठाउँमा कृषि वजार पनि खोल्न सकिन्छ।
भौगोलिक सूचना प्रणाली
यो एक सूचना प्रणाली हो जुन डाटाको ठूलो मात्रा समावेश गर्दछ र जुन सफ्टवेयरको रूपमा चिनिने कम्प्युटर उपकरणहरू मार्फत कार्य गर्दछ।अध्ययन गरिएको विशिष्ट वस्तु भनेको भौतिक ठाउँ हो र यस कारणले यसलाई भौगोलिक सूचना प्रणाली भनिन्छ।यो एक विशिष्ट सफ्टवेयर हो जसले प्रयोगकर्ताहरूलाई अन्तर्क्रियात्मक रूपमा परामर्श गर्न अनुमति दिन्छ।सन् १९६० दशकको शुरुमा पहिलो भौगोलिक सूचना प्रणाली क्यानाडालीहरूले भू-स्थल डेटा भण्डारण गर्न र क्यानाडाली ल्यान्ड इन्भेन्टरीको लागि नक्शा उत्पादन गर्न विकसित गरेको थियो।यो सुचना प्रणाली बाली लगाएको जमिनको अनुमान गर्न, बाली विकासको अनुगमन गर्न, माटो स्थिति अनुगमन गर्न, फसलको तथ्याङ्ग पत्ता लगाउन, बालीहरूको संरक्षण गर्न, बालीनाली समस्याहरूको समाधान गर्न र किसानहरूलाई मौसम अनुकुल बालीका बारे जानकारी दिन प्रयोग गरिन्छ। यो प्रणालीले मौसमि अवस्था, वर्षाको तीव्रता, मौसम परिवर्तन सजिलै अनुमान गर्न मद्दत गर्दछ। कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने भौगोलिक सूचना प्रणालीको अहम भुमिका छ।
ड्रोनको प्रयोग
ड्रोन एक आधुनिक युगको चालक रहित विमान हो।यसलाई रिमोट अथवा कम्प्यूटर मार्फत चलाउन सकिन्छ।एक सामान्य ड्रोनमा चारवाट पंखाहरु हुन्छन्।यसकारण यसलाई क्वाड कप्टर पनि भन्ने गरिन्छ।ड्रोनमा लागेका विभिन्न प्रकारका सेन्सरले बालीमा लाग्ने रोग र कीराहरु सजिलो रुपमा पत्ता लगाउन सकिन्छ।ड्रोनका सहायताले जमिनको क्षेत्रफल सजिलै विश्लेषण गर्न सकिन्छ।ड्रोनको साहेताले विरुवामा विषादी पनि छर्न सकिन्छ जो धेरै प्रभावकारि र छिटो छ।ब्रिटेनका किसानले पशुपंक्षि हेर्नको लागि ड्रोनको प्रयोग गर्ने गर्छन्।त्यस्तै प्रदुषण कम गर्न र कृषि उत्पादन वृद्धि गर्न ड्रोन एउटा विकल्प पनि हो।
कृषि ज्ञान केन्द्र सोलुखुम्बु



