मूल खबरहेड लाइन

सुस्तामा प्रहरीलाई नै सास्ती

नेपाल–भारत सीमास्थित नवलपरासीको सुस्ता बस्ती । इन्सेटमा सशस्त्र प्रहरी बलको बिओपी ।

बोमलाल गिरी

नवलपुर, जेठ ८ गते । बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ । गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियती भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ ।

सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) ले आफ्नै उद्धारका लागि डुङ्गालाई तयारी अवस्थामा राखेको छ । नालाको अभावमा पानीको निकास नभएको र त्यसमाथि नारायणी नदी बस्तीमा छिर्दा यहाँ डुबानको जोखिम अत्यधिक हुने गरेको छ । सशस्त्र प्रहरी बलको एउटा भवनबाट अर्कोमा जान पनि डुङ्गाकै सहारा लिनुपर्ने अवस्था रहेको कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक वसन्त पण्डितले बताउनुभयो । “ब्यारेक र खाना खाने कोठा अलग अलग भवनमा छन्, त्यसैले हामी खाना खान जानका लागि पनि डुङ्गाको सहारा लिनु पर्छ,” पण्डितले भन्नुभयो, “चार पाँच फिटसम्मको डुबान हुने भएकाले डुङ्गाबिना खाना खान जान पनि सम्भव हुन्न ।”

आठ फिट अग्ला पिल्लर राखेर भवन निर्माण गरिएको छ । तिनै भवनमुनि डुङ्गा राखिएको छ । डुबान हुँदा यही डुङ्गा आवतजावतको माध्यम बन्ने गरेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो । प्रहरीलाई आफ्नै उद्धारमा सहज होस् भनेर गाउँपालिकाले गत वर्ष एउटा डुङ्गा बनाइदिएको हो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सकेसम्म नेपालले सुस्तामा राखेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल हटाउन चाहेको सशस्त्र प्रहरी निरीक्षक पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, “सुस्तामा बिहाबारी हुँदा पनि यहाँबाट कुनै सामान ल्याउन नदिने र भारतबाटै ल्याउनसमेत दबाब दिने गर्छन् ।” तर पनि नेपाल र भारतका सुरक्षाकर्मीबिच हप्तामा एक दिन संयुक्त बैठक तथा तीन दिन सीमामा एकल गस्ती र तीन दिन संयुक्त गस्ती हुने गरेको उहाँले बताउनुभयो । उहाँले हाल यहाँ २१ जना मात्र जनशक्ति रहेको र त्यो निकै थोरै भएकाले दरबन्दी बढाउन पनि सरकारसँग आग्रह गर्नुभएको छ ।

राजस्व गुम्दै

सुस्तामा झन्डै ३५० घरधुरीमा तीन हजार दुई सयभन्दा बढी नेपाली बसोबास गर्छन् । हरेक घरमा सवारीसाधन (अधिकांशमा मोटरसाइकल र केहीमा गाडी) नभएको घर छैन । तर ती सवारीसाधनले तिर्ने राजस्व नेपालमा जम्मा हुँदैन किनकि यी सवारीसाधन भारतीय नम्बर प्लेटका हुन् ।

यहाँका स्थानीय बासिन्दाको कारोबार भारतको बिहार र उत्तरप्रदेशसँग हुन्छ । बिहाबारी नेपालभन्दा भारतमै बढी हुन्छ । विहार र उत्तरप्रदेशमा नेपाली सवारीसाधन प्रतिबन्ध जस्तै छन् । उत्तरप्रदेशबाट बिआर लेखिएका मोटरसाइकलमा सामान लिएर आउँदै गर्दा सुस्ता पुलमा भेटिनु भएका रामरिजन अहिरले भन्नुभयो, “भारतले नेपाली मोटरसाइकल आफ्नो देशमा छिर्नै दिँदैन, नेपालमा भन्दा भारतमा पेट्रोल सस्तो छ तर हाल्न दिँदैन,” अहिरले भन्नुभयो, “कारोबार धेरैजसो भारतसँगै हुन्छ, त्यसैले भारतीय मोटरसाइकल प्रयोग गर्नुको विकल्प नै छैन ।”

विहारमा सामान महँगो भएकाले त्यहाँका नागरिक पनि सुस्ता हुँदै उत्तरप्रदेशबाट सामान लिएर जाँदा पनि नेपालले भन्सार कर असुल्न नसकेको सुस्ता चौकीका इन्चार्ज रहनुभएका प्रहरी हबलदार धनबहादुर चौधरी बताउनुहुन्छ । “न सवारीसाधन कर उठाउन सकिएको छ, न त भन्सार कर नै, हामीसँग जनशक्ति पनि छैन, यो त सरकारको नीतिमा भर पर्ने कुरा हो,” उहाँले भन्नुभयो ।

उत्तरप्रदेश र विहारसँग सीमा जोडिएको सुस्ताका नेपालीले प्रयोग गर्ने नेपाली नम्बर प्लेटका गाडीलाई हेर्ने भारतको दृष्टिकोण नै फरक छ । नेपाली नम्बर प्लेटका गाडीमा भारतबाट सामान ओसारपसार गर्नसमेत नदिने गरेको सशस्त्र प्रहरी निरीक्षक पण्डितले बताउनुभयो।

त्यसैले यहाँका अधिकांशले भारतीय नम्बरप्लेटकै गाडी प्रयोग गर्ने गरेको उहाँको भनाइ छ । यो आफूहरूको कार्यक्षेत्रभन्दा बाहिरको विषय भएकाले ट्राफिक प्रहरीले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

भारतीय नम्बरप्लेट भएकाले दुर्घटना हुँदा पनि समस्या समाधान गर्न गाह्रो हुने गरेको हबलदार चौधरीको भनाइ छ । “सानातिना घटना दुई पक्षलाई राखेर मिलाउने र ठुला घटना भएमा बलिनगर पठाउने गरेका छौँ,” उहाँले भन्नुभयो, “तर यहाँ ट्राफिक प्रहरी नभएकाले चिट काट्ने, राजस्व सङ्कलन गर्ने काम हुन्न ।”गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button