
काठमाडौं । विश्व हिन्दू परिषद् नेपालले धर्मनिरपेक्षता खारेज गर्दै नेपाललाई पुनः वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्रका रूपमा पुनःस्थापना गर्न सरकारसमक्ष औपचारिक सुझाव पेश गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित ‘संविधान संशोधन सुझाव संकलन कार्यदल–२०८२’ ले विभिन्न संघसंस्थासँग संविधान संशोधन सम्बन्धी धारणा माग गरेपछि परिषद्ले आफ्नो संस्थागत सुझाव लिखित रूपमा बुझाएको हो।
परिषद्का राष्ट्रिय अध्यक्ष पुरुषोत्तम भण्डारीद्वारा हस्ताक्षरित पत्रमा नेपालको मौलिक पहिचान, राष्ट्रिय एकता, सनातन संस्कृति तथा सामाजिक सद्भाव जोगाउन संविधानमा आवश्यक संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ।
परिषद्ले संविधानको धारा ४ मा रहेको ‘धर्मनिरपेक्ष’ शब्द हटाएर नेपाललाई “सनातन (हिन्दू, बौद्ध, किरात) धर्म सापेक्ष हिन्दूराष्ट्र” का रूपमा परिभाषित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। परिषद्का अनुसार यसले नेपालको ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत पहिचानलाई संस्थागत गर्ने विश्वास गरिएको छ।
त्यस्तै, धारा ४ अन्तर्गत रहेको धर्मनिरपेक्षताको स्पष्टीकरण हटाउनुपर्ने माग पनि परिषद्ले गरेको छ। हिन्दूराष्ट्र घोषणा भइसकेपछि धर्मनिरपेक्षताको थप व्याख्या आवश्यक नहुने तर्क परिषद्को छ।
संविधानको धारा २६ सम्बन्धी सुझावमा धर्म परिवर्तन नियन्त्रणलाई विशेष प्राथमिकता दिइएको छ। परिषद्ले लोभ, दबाब, प्रभाव वा संगठित गतिविधिमार्फत गरिने धर्म परिवर्तनलाई दण्डनीय बनाउनुपर्ने प्रस्ताव गरेको छ। साथै सार्वजनिक स्वास्थ्य, नैतिकता तथा सामाजिक सद्भावमा असर पुर्याउने गतिविधि नियन्त्रण गर्नुपर्ने धारणा पनि राखिएको छ।
यसैबीच सरकारी कामकाज, सार्वजनिक सूचना तथा आधिकारिक प्रकाशनमा देवनागरी लिपिको नेपाली भाषा र विक्रम संवत् अनिवार्य प्रयोग गर्नुपर्ने सुझाव पनि परिषद्ले दिएको छ। यसबाट राष्ट्रिय एकता र मौलिक पहिचान थप सुदृढ हुने परिषद्को विश्वास छ।
परिषद्ले आफ्नो सुझाव विस्तृत अध्ययन, छलफल तथा विभिन्न सरोकारवालाको भावना समेटेर तयार गरिएको जनाएको छ। साथै राष्ट्र र राष्ट्रियताको हितमा प्रस्तुत गरिएका सुझावहरू संविधान संशोधन प्रक्रियामा सकारात्मक रूपमा समावेश गरिने अपेक्षा समेत व्यक्त गरेको छ।



