
मेचीनगर । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष तथा मेचीनगरपालिकाका संस्थापक उपमेयर चन्द्र भण्डारीले सामाजिक संजालमार्फत आफ्नो अभिव्यक्तिलाई राजनीतिक भाषामा सार्वजनिक गरेकाछन् । उनले सामाजिक सञ्जालमार्फत झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्माका विषयमा लेख्दै शर्माका बारेमा अराजनीतिक आरोप नलगाउन एमाले—राप्रपा(तालमेल)तर्फका उम्मेद्वार अग्नि खरेललाई सुझाएका पनि छन् । भण्डारीले स्पष्ट भाषामा आफ्नो जन्म र कर्म क्षेत्रमा एक दिन मात्रै भोट माग्दै हिड्नु पर्ने अवस्था आए त्यो महङ्गो हुन सक्ने संकेत घुमाउरो भाषामा एमालेका उम्मेद्वारतर्फ सोझ्याएकाछन् ।

भण्डारीले लेखेकाछन्—बिश्वप्रकाश शर्मा र मेरो बैचारिक आस्था र बिश्वास नितान्त फरक छ । उ मेरो छोरो मात्र होइन यो राष्ट्रको उज्यालो भविष्य हो । अहिले देश निर्वाचनमा छ । निर्वाचनको मौका पारेर उन माथि नाना थरिका अनर्गल प्रचारबाजी भएका प्रति हाम्रो ध्यानाकर्षण भएको छ । बिचार मिले गधालाई पनि गाई देख्ने र नमिले जे पनि बर्बराउनु आचार संहिता भित्र पर्छ कि पर्दैन ?
प्रचारबाजी गर्दैजाँदा अब त पादरी हो सम्म भनेर खुइल्याउन खोजिएको छ ।उनको शालिनता र भद्रतालाई कमजोरी नठानौं। विश्व प्रकाशको शैलीबाट सिक्ने बुझ्ने कि उनमाथी तथानाम गर्ने ? प्रश्न अहम छ । अग्नि जीलाई आग्रह छ,यस्तो हर्कतले निर्वाचन स्वस्थ हुदैन । भेद खोतल्दै जाँदा आन्द्रा भुँडी देखिन्छ भन्ने कुरा सम्बन्धित सबैमा हेक्का रहोस ।
झापामा त्यसमाथी हालको क्षेत्र न १ मा बाल्यकाल देखि नै कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलन उठाउन के के गरियो बुझ्न चाहनुहुन्छ भनेअग्नि जीलाई हार्दिक आमन्त्रण छ ।कसैको पनि निष्ठा आदर्श त्याग र बलिदानलाई होच्याउने दुस्प्रयास कसैले कसैलाई नगरौं ।सबैलाई शुभकामना । हेक्का रहोस चन्द्र भण्डारी नेपाली कँग्रेस होइन,हुनसक्तैन तर राजनीतिमा संस्कार र संस्कृतिको खडेरी पर्न थाल्दा असल मान्छे जुनसुकै दलमा आबद्ध छनभने तिनलाई जोगाउनु,उत्साहित तुल्याउनु हामी कर्तब्य ठान्दछौं ।बिश्वप्रकाश समयले जन्माएको असल मध्ये पनि असल ब्यक्तित्व भएका कारण आफ्नो बिचार प्रकट गरेका हौं । स्वस्थ प्रतिस्पर्धाबाट बिजयी उपबिजयीलाई स्वीकारगर्ने हामीसँग ठूलो छाती छ ।अस्वस्थ खेल खेल्ने तर्फ ध्यान गएको हो भने याद रहोस । एकदिन मात्र पनि मेरो जन्म र कर्म क्षेत्रमा मैले भोट माग्दै हिंड्नुपर्ने अवस्था आइ परे त्यो दिन निकै महङ्गोपर्ने सूचित गर्न चाहन्छु ।



