खबर

सेल्फीडाँडा बिर्साउने मालबासेको बीस घुम्ती सडक

काठमाडौं

राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो। त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ। सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पुर्याएका थिए।

तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो। त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन। त्यसयता भोजपुरको सडक पूर्वाधार सञ्जाल गाउँगाउँमा विस्तार भइसकेको छ। हाल भोजपुर नगरपालिका–१२ टक्सार, मालबासेमा बनेको सडक देशकै सबैभन्दा बढी घुम्ती भएको सडकमा परेको छ।

सडक विभागका महानिर्देशक अर्जुन थापाका अनुसार हालसम्म कुनै सडकको एकै स्थानमा रहेका धेरै घुम्तीमा बनेपा–सिन्धुली–बर्दिबासको सिन्धुलीभन्दा माथिको सेल्फीडाँडामा १३ घुम्ती रहेका थिए। अहिले भोजपुर बजारबाट पिखुवापारिका गाउँ जोड्ने सडकखण्डका घुम्तीले त्यसलाई जितेको छ। उक्त सडकमा एकै ठाउँ २० घुम्ती रहेका छन्। महानिर्देशक थापाका अनुसार त्रिभुवन राजपथको मकवानपुरको भैँसेदेखि माथि कालीटार क्षेत्रमा १२ घुम्ती छन्। त्यहाँ एउटा घुम्तीबाट अर्को घुम्ती छर्लङ्ग देखिन्छ। बीपी राजमार्गको सेल्फीडाँडा क्षेत्रमा लगातार १३ वटा घुम्ती छन्। उक्त स्थान यात्रुका लागि फोटो खिचाउन प्रख्यात छ।

बीस घुम्ती सडकले त्यत्रो चर्चा नपाए पनि स्थानीयको जनजीवन ज्यादै सहज बनाइदिएको छ। बिहान भाले बास्दै गर्दा टक्सारको टकटक आवाजसँगै पिखुवाखोलाबाट मालबासेको उकालो लाग्ने भोजपुरका दक्षिणी क्षेत्रका बासिन्दा अहिले गाडीमा हुइँकिन्छन्। जिल्लाका मानेभञ्ज्याङ, बैकुण्ठे तथा रामप्रसाद राई, हतुवागढी, आमचोक गाउँपालिकाका स्थानीय २०७० सालभन्दा अघिसम्म पिखुवाको उकालो पसिना काढ्दै हिँड्न बाध्य थिए।  आजको गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button