खबर

आमाको हत्या मुद्दामा अदालतको गोलचक्कर

मुद्दामा फेरि पेसी तोकिएपछि सप्तरी जिल्ला अदालतबाट फर्किंदै बेचन राय। मनोहर पोखरेल

मनोहर पोखरेल
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का बेचन रायले आमाको हत्यासम्बन्धी मुद्दाको फाइल बोकेको आठ वर्ष भयो। दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनी कहिले जिल्ला, कहिले उच्च त कहिले सर्वोच्च अदालतको गोलचक्कर लगाइरहेका छन्। तर, सप्तरी जिल्ला अदालतमा ६१ पटक पेसी चढे पनि उक्त मुद्दाको फैसला भएको छैन। उक्त मुद्दा जिल्लामै १८ न्यायाधीशले हेरिसकेका छन्।

बेचनकी आमा ६६ वर्षीया राजेश्वरीदेवी राय भनिने राज्यवती अमात्यनीको २०७१ चैत १९ गते हत्या भएको थियो। उक्त घटनासम्बन्धी मुद्दामा पेसी चढ्दै, रोकिँदै गएपछि यत्रो वर्षसम्म फैसला हुन नसकेको हो। मुद्दाको अंग पुगिसक्दा पनि फैसला नभएको गुनासो गर्छन् बेचन। अस्वाभाविक ढिलाइले मानसिक तनाव बढेको तथा समय र आर्थिक नोक्सान भएको उनको भनाइ छ।

‘सातै जना आरोपित स्वतन्त्र भएर घुमी हिँडेका छन्। आफू पो बन्दीजस्तो भइएको छ’, बेचन भन्छन्, ‘मुद्दा टुंगो नलागेकाले जिल्ला छाडेर अन्यत्र जान, रोजगार, व्यवसाय गर्न पनि पाइएको छैन।’

प्रतिवादी पक्षबाट २८ पटक पेसी स्थगित गरिएको अदालतको तथ्यांकले देखाउँछ। जिल्ला सरकारी वकिलको कार्यालयबाट १२ पटक स्थगित गरिएको छ। जिल्ला अदालतमा २०७२ वैशाख १४ गते अभियोगपत्र दायर भएको थियो। कुटपिटको मुद्दा लगाउ परेका कारण ६१औं पटक पेसी रोकिएको हो।

सप्तरीको साविक वरही वीरपुर–४ का विद्यानन्द राय, कामानन्द राय, मञ्जुदेवी राय, शिवानन्द राय, बिन्दुदेवी राय, चन्दनकुमार राय र रेणुदेवी राय प्रतिवादी छन्। पीडित परिवारका अनुसार देवर विद्यानन्द, विद्यानन्दकी पत्नी बिन्दुदेवी, छोरा चन्दनकुमार, अर्का देवर शिवानन्द, उनकी पत्नी मन्जुदेवी, अर्का देवर कामानन्द र उनकी पत्नी रेणुदेवीले घरायसी विवादमा लाठी र फलामको रड प्रहार गरी राज्यवतीको हत्या गरेका हुन्। राज्यवतीलाई जोगाउन जाँदा उनकी बुहारी वीणादेवी, नाबालिका नातिनीहरू पुष्पा र सीमा घाइते भएका थिए। बेचनले घटनाकै दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

छिमेकीका अनुसार उनीहरूबीच पुरानो विवाद र जग्गासम्बन्धी मुद्दा चलिरहेको थियो। गाउँघरमा पटक–पटक ‘पञ्चायती’ छलफल हुँदै आएको थियो। पछिल्लो विवाद भने हावाहुरीले लडाएको सिसौको रूखका कारण भएको थियो। हावाले लडेका रूखका हाँगा बेचनले घर ल्याएपछि विवाद बढ्दै जाँदा हत्यासम्मको घटना भएको हो। छिमेकीले खबर गरेर पुगेका प्रहरीले आफ्नै गाडीबाट घाइतेलाई अस्पताल पुर्‍याएका थिए।अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button