एजेन्सी
टर्की
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार गएका दुई शक्तिशाली भूकम्पमा कम्तीमा ५१ सयजनाको ज्यान गएको छ। टर्कीमा कम्तीमा ३५ सय र सिरियामा १६ सयजनाको मृत्यु भएको मंगलबार उद्धारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो संख्या आठ गुनाले बढ्न सक्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ।
टर्कीका राष्ट्रपति टेयिप एर्दाेगानले भूकम्प प्रभावित १० प्रान्तमा आपत्कालीन स्थितिको घोषणा गरेका छन्। अत्यधिक चिसो र हिउँ परेको भए पनि उद्धारकर्मीले भग्नावशेषमा पुरिएका मानिसको उद्धार गरिरहेका छन्। युनिसेफका एक अधिकारीले भूकम्पमा हजारौं बालबालिकाको मृत्यु भएको हुनसक्ने आशंका गरेका छन्। भूकम्पका कारण हजारौं भवन, अस्पताल तथा विद्यालय नष्ट भएका छन्।
विभिन्न देशले विशेषज्ञ, औषधि, तालिमप्राप्त कुकुर, उद्धार उपकरणसहितका सहयोग टोली टर्की र सिरिया पठाउने क्रम जारी छ। स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर १७ मिनेट जादा ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसको केही घण्टामा ७.५ रेक्टर स्केलको अर्काे भूकम्प गएको थियो।
भग्नावशेषमा पुरिएका कतिपयले उद्धारका लागि भ्वाइस मेसेजसमेत पठाएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
१२ वर्षसम्म गृहयुद्धको चपेटामा परेको सिरियामा भूकम्पका कारण गम्भीर मानवीय संकट सिर्जना भएको छ। विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा पनि हताहती भएको बताइएको छ। सिरियाको हमा सहरका मस्जिदहरूमा भूकम्प प्रभावितलाई राखिएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संकटको घडीमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्। उनले भूकम्पग्रस्त क्षेत्रमा राहत तथा उद्धार कार्य चुनौतीपूर्ण रहेका बताएका छन्।
टर्कीका अधिकारीले भूकम्पका कारण करिब डेढ करोड मानिस प्रभावित भएको बताएका छन्। इन्धन अभाव र प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको छ।नागरिक दैनिकबाट ।



