
एजेन्सी – युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । युभेन्ट्सले घरेलु मैदानमा खेलमा टोरिनोसँग दुईपटक पछि परेको स्थिति उल्ट्याएर ४–२ को रोमाञ्चक पूनरागमन जित निकाल्न सफल भएको हो ।
युभेन्ट्सको पूनरागमन जितमा जुआन कोर्डाडो, डानिलो, ग्लेइसन ब्रेमेर र एड्रिएन राविओटले गोल गरे । टोरिनोका यान कारामोह र एन्टोनियो सानाव्रियाले गोल गरे ।
एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै यान कारामोहको गोलबाट युभेन्ट्स खेलमा पछि परेको थियो । १६औं मिनेटमा जुआन कोर्डाडोले बराबरी गोल फर्काए ।
४३औं मिनेटमा र एन्टोनियो सानाव्रियाले गोल गरेपछि युभेन्ट्स पुनः खेलमा २–१ ले पछि पर्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा डानिलोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफ भने युभेन्ट्सको पक्षमा रह्यो । ७१औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सलाई खेलमा पहिलोपटक ३–२ को अग्रता दिलाए । ८१औं मिनेटमा एड्रिएन राविओटले गोल गर्द युभेन्ट्सको जित पक्का गरे ।
यस जितसँगै युभेन्ट्स २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा यथावत रहेको छ । पराजित टोरिनो ३१ अंक जोडेर नवौं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।



