
एजेन्सी – फरवार्ड मोहम्मद सलाह र डिफेन्डर भर्जिल भान डाइकको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ ।
घरेलु मैदानमा लिभरपुलले वल्भ्समाथि २–० को सहज जित हात पारेको हो । दुवै गोल दोस्रो हाफमा ५ मिनेटको अन्तरमा भएको थियो ।
एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोल लिभरपुलले पाहुना टोलीमाथि बल पोसेसन राख्दै पकड बनाएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ६६औ मिनेटमा डार्विन नुनेजले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।
७३औं मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए । सन् २०१५ यता साउथह्याम्टबाट लिभरपुल आएका डिफेन्डर भान डाइकले प्रिमियर लिगमा आफ्नो गोल संख्या २० पु¥याएको छ ।
त्यसको पाँच मिनेटपछि मोहम्मद सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे । उनले कोन्सटानटिनोसको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै लिभरपुल २४ खेलबाट ३९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि एक खेल कम खेलेको फुलहम गोल अन्तरमा पछि छ । पराजित वल्भ्स २४ अंक जोडेर १५औं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।



