स्वास्थ्य

रुघाखोकीसँगै ज्वरो आएको छ? कोभिडको नयाँ भेरियन्ट पनि हुनसक्छ!

डा अनुप सुवेदी
कोभिडका केस निकै बढ्दैछन्। सरकारी तथ्याङ्कमा ३-४ दिनको मिसाएर गोलमटोल बनाएर दिन्छन्, तर अस्पतालमा रुघाखोकी लिएर आउने बिरामीलाई जाँच्दा कोभिड देखिन थालेको केही दिन भैसक्यो। केही (सायद समग्रतामा हेर्दा पहिलेका भन्दा निकै थोरै प्रतिशत्) सिकिस्त बिरामी पनि देखिँदैछन्।

त्यसैले, रुघाखोकी, ज्वरो छ भने पहिले त आफूले मास्क लगाऔं, आईसोलेसनमा बसौं, अरूलाई बचाउन खोजौं। लक्षण सुरु भएको ४८ घन्टा जतिपछि एन्टिजेन जाँच गराऔं। (महामारी नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण शुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै जाँदैछ।)

साथै लक्षण बिनाका संक्रमितको हिस्सा पनि बढ्दै जान्छ। अहिले पनि फ्लु लगायत अरु भाइरस अलिअलि त होलान्, तर हरेक नयाँ फैलने कोरोना भाइरसको भेरियन्ट झन् बढी संक्रमणशील हुन्छ, त्यसैले त्यो फैलेको बेला चाँडै त्यसले प्राय: अरु सबै श्वासप्रश्वासबाट फैलने विषाणुलाई विस्थापित गर्दै जान्छ।

त्यसैले अब चाँडै नै सबै रुघाखोकी हुनेहरू कोभिड-संक्रमित नै होलान् भन्ने अनुमान गर्न मिल्नेछ। अहिले नेपालमा फैलेको भेरियन्ट भारतमा फैलँदै गरेको एक्सबीबी.१.१६ (XBB.1.16) नै होला, जसको बारेमा धेरै कुरा, मुख्य गरी कति धेरैलाई सिकिस्त बनाउला भन्ने स्पष्ट भइसकेको छैन। तर पनि धेरैजसोको लागि पहिलेका भेरियन्ट झैं कडा नहोला कि भन्ने आशा गर्ने ठाउँ छन्।

तैपनि कोभिड देखिएमा लक्षण सुरु भएको ८-१० दिनसम्म पल्स अक्सिमिटरले आफ्नो रगतको अक्सिजनको मात्राको निगरानी गर्दै गर्नुहोला।

उमेर, कुनै रोग वा उपचारका कारणले रोग-प्रतिरोधी क्षमता कमजोर हुनेले १ पटक विषयविज्ञसँग राय लिनुहोला।

एन्टिजेन नेगेटिभ नहोउञ्जेल आइसोलेशनबाट ननिस्कनूहोला। ‘५ दिन’ को भ्रममा नपरौं। पछिल्ला भेरियन्ट झन् बढी संक्रमणशील हुँदै जाने भएकोले तिनको उभार पनि झन् चाँडो छोटो हुँदै जाने देखिन्छ, त्यसैले केही हप्तामा यो उभार पनि सेलाउला। सायद भिड बढी हुने शहरबजारमा चाँडो फैलेर गाउँघरतिर पुग्न, फैलन अलि बढी समय लाग्ला।

उभार कम नहोऊञ्जेले बाँकीले चाहिँ पाएसम्म एन-९५ वा सो सरहको मास्क लगाऔं; आफू, आफ्ना र अरूलाई सुरक्षित राख्ने कोसिस गरौं। विशेषगरी भिडभाडमा, अरूसँग निकट दूरीमा बस्नुपर्ने ठाउँमा वा बन्द स्पेसमा बस्दा मास्क नछोडौं। स्यानिटाइजर आदि त छँदैछन्।

अनि खोप लगाऔं। सरकारले सायद काठमाडौं र केही ठूला सहरमा मात्र खुसुखुसु खोप दिँदैछ। समताको प्रश्नको उनीहरूसँग कहिल्यै जवाफ हुन्न नै। केटाकेटी र ठिटाठिटीले बाहेक यसअघि खोप लगाएको वा संक्रमण भएको ५-६ महिना भइसकेका सबैले नयाँ ‘बाइभ्यालेन्ट’ खोप लगाउनु बेस। ‘उच्च जोखिम’का कोही नछुटून्।

‘लङ कोभिड’माथि दक्षिण एसियालीहरुमा खासै अध्ययन भएको छैन। तर यो भाइरसले विभिन्न अङ्ग र रोगप्रतिरोधी प्रणालीमा जटिल दूरगामी असर पार्ने रहेछ भन्ने धेरै प्रमाण देखिँदैछन्। यो संक्रमण कुनै पनि उमेरको कसैलाई पनि हुनु राम्रो हैन, बारबार हुनु झन नराम्रो हो। सबैले जोगिने कोसिस गरौँ है।स्वास्थ्य खबरपत्रिकाबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button