
मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालय भित्रको खानेपानीको धारा काटिएको एक साता धेरै भएपनि अझै जोडिएको छैन । गएको बिहिवार काँकरभिट्टा खानेपानी कार्यालयले मेचीनगर नगरपालिका कार्यालय भित्रका दुई ओटा धारा काटिदिएको थियो । मेचीनगर नगरपालिकाले पानीको बक्यौता रकम लामो समयदेखि नबुझाएको भन्दै खानेपानीले नगरकार्यपालिका परिसरका धारा काटेको थियो । सातलाख भन्दा धेरै पानीको बक्यौता रकम भुक्तानीका लागि पटकपटक माग गर्दा समेत बेवास्ता गरेकाले बाध्य भएर धारा काट्नु पर्ने अवस्था आएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीले बताए । उपाध्यक्ष गिरीका अनुसार गएको बिहिवारदेखि काटिएका दुई ओटा धारा शनिबार सम्म पनि नजोडिएको बताए ।स्थानीय सरकारको रुपमा रहेको नगरकार्यपालिकाको कार्यालयकै धारा काटिनु आफैमा अनौठो बनेको छ । पानीको बक्यौता रकम नबुझाएर नगरपालिकाका कार्यालयकै धारा काटिनुले यहाँका नागरिकलाई अनौठो लाग्नु अन्यथा मान्न सकिदैन तर दैनिक जसो आउने सेवाग्राही र नगरकार्यलयकै कर्मचारीले प्रयोग गर्ने पानीका धारा काटिनुले सेवाग्राही र कर्मचारी र जनप्रतिनिधिलाई पनि असहज भएको हुनु पर्छ ।तर, एक साता लामो यो समस्या अझै सुल्झन नसक्नु अर्को अनौठो भएको छ । पानीसँग हाम्रो दैनिकी शुरु हुन्छ ।तर, एक साता सम्म नगर सरकारकै कार्यालयमा पानीको धारा नहुनु र धारा काटिएको हप्ता बित्दा पनि जोड्ने पहल नदेखिनुलाई के भन्ने ?



