खबर

जनप्रतिनिधिले खाए ४२ लाखको भात

जाजरकोट। छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ। छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी दिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार न्यौपाने होटलको २५ लाख ६० हजार रुपियाँ भुक्तानी भइसकेको छ।

बाँकी १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको बताइन्छ। दीपा होटलको १६ लाख ८५ हजार ५०२ रुपियाँसमेत भुक्तानी भइसकेको जनाइएको छ। २०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी सम्हाली सकेपछि दुई वटा नगर सभा भएका छन्। कार्यपालिकाका बैठक १६ वटा भएका छन्। जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले जानकारी दिनुभयो। छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले खानाको बिल धेरै आएको र अहिले छानबिन जारी रहेको बताउनुभयो। बिलको अवस्था हेर्दा ठुलै घोटाला भएको अनुमान लगाउन सकिने ठाउँ रहेको उहाँले बताउनुभयो।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button