कृषि र किसानमूल खबर

मुर्राबाट पशु वैज्ञानिक उत्साहित

केशब राज पौडेल
काठमाडौँ । भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् ।

मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नेपालमा हाल रहेका मुर्रा जातका राँगाको शुद्धताको मापन हुन सकेको छैन। भारतबाट शुद्धताको मापन भएर आउने राँगामार्फत नेपालले पर्याप्त आर्थिक मुनाफा लिन सक्ने अवस्था रहन्छ।”

पशु चिकित्सक डा. मणिप्रसाद सापकोटाले कालो सुनका रूपमा परिभाषित भएकाले मुर्रा जातको राँगा ल्याएपछि हुने फाइदाको बयान गर्न नसकिने बताउनुभयो।

नेपालका भैँसीले सरदर पाँच लिटर दुध दिने गरेका छन्। मुर्रा जातको भैँसीबाट अधिकतम ३८ लिटर र न्यूनतम २५ लिटर दुध उत्पादन हुन सक्छ। उहाँले भैँसीको उत्पादन क्षमता सुधारका लागि नश्ल सुधारबाहेक अरू विकल्प नरहेको बताउनुभयो। भारत सरकारको शुद्ध स्रोतलाई आयात नगर्ने नीतिका कारणले नेपालमा शुद्ध मुर्रा जातको राँगा भित्र्याउन सकिएको थिएन।

पशुसेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले पशुको शुद्ध नश्लले पछिल्लो पुस्तामा उत्पादन बढाउने क्षमता राख्ने भएकाले संरक्षण र प्रवर्धन गरी पशुजन्य वस्तुमा राज्यलाई आत्मनिर्भर बनाउने सरकारी

लक्ष्यलाई मुर्रा जातको राँगा ल्याएपछि थप सहयोग पुग्ने बताउनुभयो।

राष्ट्रिय भैँसी अध्ययन केन्द्र तरहराका पशु वैज्ञानिक डा. पङ्कज झाले राँगा ल्याउने सहमति हुनुले भैँसी पालनका क्षेत्रमा नयाँ ऊर्जा थपेको बताउनुभयो। सो केन्द्रले कृषकको मागका आधारमा उच्च नश्लका राँगा उपलब्ध गराउँदै आएको छ। सो केन्द्रमा हाल एक सय वटा ठूलासाना भैँसी पालिएका छन्। “नेपाली कृषकले धेरै मुनाफा लिन सक्ने क्षेत्र नै भैँसीपालन भएकाले मुर्रा जातको राँगा ल्याएर अरू जातका भैँसीमा कृत्रिम गर्भधारण गराएपछि जन्मने भैँसीबाट उत्पादन निश्चित बढ्छ,” उहाँले भन्नुभयो।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दुध उत्पादन वृद्धिमा नश्ल सुधारको विशिष्ट महत्व हुने बताउनुभयो। उहाँले उही लागत मूल्यमा नश्ल सुधारपछि उत्पादनमा तीन गुणाले वृद्धि हुने भएकाले मुर्रा राँगा आएपछि नेपाल दुधमा आत्मनिर्भर हुने आधार तयार हुने जानकारी दिनुभयो।

पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले नश्ल सुधारपछि उत्पादन हुने भैँसीले एक बेतमा बढीमा आठ सय लिटर दुध दिने गरेकोमा कृत्रिम गर्भाधारणबाट जन्मिएको भैँसीले दुई हजार आठ सय लिटरसम्म दुध दिने बताउनुभयो।

विसं. २०३० मा सुनसरीको तरहरामा तत्कालीन राजपरिवारले स्थापना गरेको बिराट फार्ममा मुर्रा जातका भैँसी ल्याएर पालिएको थियो। २०६९ सालबाट पशुको कृत्रिम गर्भाधानसम्बन्धी राष्ट्रिय अभियान थालिएको थियो। नेपाल सरकारले पोखरा, लहान र नेपालगन्जमा पशु प्रजनन कार्यालयमार्फत पशुको नश्ल सुधारका लागि वीर्य सङ्कलन गरी नेपालभर वीर्य वितरण गरिँदै आएको छ। पोखरामा रहेको कार्यालयमा हाल १२ वटा राँगाबाट वीर्य सङ्कलन गर्ने गरिएको छ। सो कार्यालयले गत वर्ष एक लाख ४२ हजार २४० डोज वीर्य सङ्कलन गरेर वितरण गरेको थियो। यो आर्थिक वर्षको वैशाख मसान्तसम्ममा एक लाख ३७ हजार ३९० डोज वीर्य सङ्कलन गरेर वितरण गरिसकिएको छ। पोखराको तुलनामा लहान र नेपालगन्जमा वीर्य सङ्कलन निकै कम हुने गरेको छ। हाल नेपालमा भैँसीको सङ्ख्या ५२ लाख रहेको विभागको तथ्याङ्क छ।गोरखापत्र दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button